आँफै अदालत आइपुगे कर्णालीका ठेकेदार एवंम पूर्वमन्त्री खत्री, बयान जारी



न्युज अफ नेपाल, काठमाडौं ।

किर्ते बैंक ग्यारेन्टीमा जमानी बसेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री उच्च अदालत पाटनमा उपस्थित भएका छन्। उनलाई पाटन अदालतले २० दिनअघि तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको थियो।

बुधबार दिउँसो अदालत आएका खत्रीको मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासमा बयान भैरहेको बताइएको छ । कृषि विकास बैंक रत्नपार्कको जाहेरीमा नेपाल सरकारले नै उनविरूद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाएको थियो ।

खत्री सुर्खेतमा रहेको केएसके नामक कन्स्ट्रक्सन कम्पनीका ठेकेदार हुन् । ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।

बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो। सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो।

प्रहरीले प्रतिवादी कायम गरी पठाइएका खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नभएपछि अदालतले पक्राउ गरी ३ दिनभित्र भनेको थियो। अदालतले पक्राउ आदेश जारी गरेपछि कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई पदबाट बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्