प्रहरीको हतियार लुटिएकै ठाउँमा प्रहरीमाथि आक्रमण, भगाइयो ‘मोटरसाइकल चोर’



जनकपुरधाम । मंगलबार साँझ धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा चोर समात्न गएको प्रहरीको टोली र स्थानीयबीच झडप भएको छ । झडपको क्रममा प्रहरीद्धारा हवाई फायरसमेत गरिएको छ ।

मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा नम्बर ५ मा चोरीको मोटरसाइकल खरीद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिप्रका जनकपुरधामबाट सादा पोशाकमा खटिएका प्रहरीले ‘मोटरसाइकल चोर’ भनिएका एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ब्यक्तिलाई छुटाउन स्थानीयले प्रहरी माथि नै आक्रमण गरेका छन् । चोरीमा संलग्न ब्यक्ति भने भाग्न सफल भएका छन् ।

प्रहरीमाथि स्थानीयबासीले आक्रमण गनरेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ ।

मुखियापट्टी मुसहर्नियाँ भारतसँग सीमा जोडिएको ठाउँ हो । त्यहाँ केही महिनाअघि प्रहरीको हतियारसमेत लुटिएको थियो ।

१८ वैशाखमा भारततर्फ मदिरा तस्कर गर्नेहरुको एक समूहले सोही ठाउँमा असई प्रमोद कुमार साहको पेस्तोल लुटेका थिए । लुटिएको पेस्तोल सोही दिन साँझ सिमावर्ती क्षेत्रको एक झाडीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्