मानवता हराएका प्रहरीः निर्घात रुपमा कुटिए कन्टेनर चालक (भिडियोसहित)

बोल्न बाध्य बन्यो रसुवा प्रहरी



काठमाडौं । रसुवामा एक कन्टेनरका चालक नेपाल प्रहरीबाट निर्घात कुटिएका छन् ।

नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारले निर्घात रुपमा कुटेको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुरुमा प्रहरीले हात हालेको देख्न सकिन्छ । प्रहरीले चालकलाई समात्दै लात्तै लात्ताले हिर्काएका छन् ।

सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि रसुवा प्रहरी घटनाबारे बोल्न बाध्य भएको छ । प्रहरीले नै चालकमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले गम्भीर ध्यानकर्षण भएको भन्दै एक विज्ञप्ति निकालेको छ ।

‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । घटनाबारे छानबिन गरि दोषी उपर कारबाही गरिनेछ ।’

चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि प्रहरीले नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीले चालक तामाङलाई पनि छानबिनको लागि नियन्त्रणमा लिएको छ ।

यता सवारी चालकमाथि प्रहरीले कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्