राष्ट्र बैंक पछाडि हट्दा शेयर बजारमा उत्साह



नेपाल समाचारपत्र, काठमाडौं। लगातारको गिरावटका कारण निराश भएका शेयर बजारका लागनीकर्तालाई मंगलबार राहत दिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साढे २० अंकले बढेसँगै लगानीकर्तालाई राहत भएको हो।

नेपाल राष्ट्र बैंकले स्पेड दर गणना विधिमा गरेको संशोधनबाट पछाडि हटेको सन्देश बाहिरिएसँगै लगानीकर्ता उत्साहित भएका हुन्। राष्ट्र बैंकले स्प्रेड दर गणना विधि संशोधन गर्दा २५ प्रतिशतसम्म नाफा घट्ने भन्दै बैंकरहरूले विरोध गर्दै आएका थिए। बैंकरहरूको दबाबपछि केन्द्रीय बैंक पछाडि हटेको बताएको छ।

जसका कारण लगानीकर्ता उत्साहित भएका हुन्। यस दिन बैंकिङ करिब १९ अंकले बढेको छ। पुँजी बजारमा धेरै हिस्सा रहेको बैंकिङ समूह सुधारिएसँगै समग्र पुँजी बजार उर्लिएको हो। मंगलबार नेप्से २० दशमलव ५७ अंकले बढेर ११९० दशमलव ९० बिन्दूमा पुगेको छ।

कुल १७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार रकम पनि अन्य दिनभन्दा धेरै हो। यस दिन कारोबारमा आएका अन्य र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह बढेका छन्। अन्य समूह ०.०५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ। यस्तै बैंकिङ १८.९८, होटल २३.६१, विकास बैंक २१.५९, जलविद्युत् २१.९३, वित्त ६.५७, निर्जीवन बीमा १२३.५३, उत्पादन ४७.९९, लघुवित्त ३३.४३ र जीवन बीमा १४५.५ विन्दुले बढेको छ।

लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबार सुधार देखिँदा लगानीकर्ताले राहतको सास फेरेका छन्।मंगलबार सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको संस्थापक शेयर किनबेच भएको छ। यस बैंकको ५ करोड ७२ लाख रुपियाँको शेयर किनबेच भएको हो। यस्तै नेपाल बैंकको तीन करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्कोस दुई करोड २१ लाख, एनआईसी एसिया बैंकको दुई करोड १९ लाख, सानिमा बैंकको एक करोड ७० लाख र कृषि विकास बैंकको एक करोड ५३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४६ प्रतिशतले कमाए। यस्तै सूर्य लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ८.३९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था का लगानीकर्ताले ८.०४, एसियन लाइफ इन्स्योरेन्स का लगानीकर्ताले ७.७७, आँधीखोला लघुवित्त वित्तीय संस्था का लगानीकर्ताले ७.६० र लुम्बिनी जनरल इन्स्योरेन्स का लगानीकर्ताले ६.७६ प्रतिशतले कमाएका छन्।

समग्र परिसूचकमा वृद्धि हुँदा पनि सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ।सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.८५, रिडी हाइड्रोपावर ३.५७, घलेम्दी हाइड्रो २.७३, ग्रिन डेभलपमेन्ट बैंक २.७२ र ग्लोबल आइएमई समुन्नत स्किम एकका लगानीकर्ताले २.०१ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्