नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमा योजना



नेपाल समाचारपत्र, काठमाडौं।नबिल बैंकले ग्राहकलाई व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई १० लाख रुपियाँको सामूहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ। यो योजना भदौ १५ गतेदेखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एनएलजी बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ।

यस योजनाअन्तर्गत दैनिक मौज्दात ५ हजार वा सोभन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली व्यक्तिगत बचत खातावालालाई १० लाख रुपियाँको सामूहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको हो। यस योजनाअन्तर्गत बचतकर्ताको दुर्घटनमा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुष्ठ १० लाख बीमा रकम प्रदान गरिने बैंकले जनाएको छ।

यस योजना अन्तर्गत आफ्नो खातामा न्यूनतम् ५ हजार मौज्दात राख्ने सम्पूर्ण बचत खाता वालाको बीमा स्वत रुपमा भदौ १५ मा भैसकेको छ। साथै यो योजनामा सामिल भइरहन बचतकर्ताले सधंै ५ हजार वा बढी मौज्दात कायम राख्नुपर्नेछ। त्यसैगरी ५ हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौज्दात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन्।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ। यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नाबालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन्।

बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ।

प्रतिक्रिया दिनुहोस्