क्यलिफोर्नियाको डुंगा आगलागीमा २५ को मृत्यु



वासिङ्टन, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियाको समुद्री तटमा एउटा डुंगा जलेर ध्वस्त हुँदा २५ जनाको शव भटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी तट रक्षकहरूको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले यस दुर्घटनामा अझै नौ जना हराइरहेको तथा चालक दलका पाँच जना सदस्य जीवितै रहेको पनि जनाएको छ।

लस एन्जेल्सदेखि करिब १ सय ४६ किमि पश्चिममा पर्ने सान्ता क्रुज टापुबाट केही मिटर पर बन्दरगहमा राखिएको सो डुंगामा सोमबार बिहान सबेरै आगो लागेको थियो। डाइभिङका लागि व्यावसायिकरूपमा प्रयोग हुँदै आएको सो डुंगा पछि पानीमा डुबेको थियो।

आगलागीको कारण भने पत्ता लागेको छैन। प्रहरी अधिकारी बिल ब्राउनले आगो लागेको बखत डुंगामा कुल ३९ जना रहेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। डुंगामा आगोलागेको खबर स्थानीय समयअनुसार बिहान साढे ३ बजे तट रक्षा सेवालाई प्राप्त भएको थियो।

केही यात्रु डेकमुनि फसेको हुनुपर्ने बताइएको छ। मुख्य क्याबिनमा सुतिरहेका व्यक्तिहरू भने भाग्न सफल भएका प्रारम्भिक अनुमानबाट थाहा भएको छ। अचानक ब्युँझिएका तिनीहरू डुंगाबाट पानीमा हामफालेको र त्यसपछि गुड सुमारिटन जहाजले तिनीहरूको उद्धारका लागि दि ग्रेप इस्केप जहाजलाई बोलाएको थियो।

दि ग्रेप इस्केपका मालिक बोब हयान्सेनले डुंगा तलदेखि माथिसम्मै जलेको न्युयोर्क टाइम्सलाई जानकारी दिएका छन्। आगलागीको समय डुंगामा रहेका अक्सिजन र प्रोपेन ग्यासका ट्यांकहरू पनि विस्फोट भएको हुनुपर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्