मालपोतका सुब्बा १ लाख घूस रकमसहित पक्राउ



बारा, (नेस)। मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्रीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले पक्राउ गरेको छ। आयोगको हेटांैडास्थित क्षेत्रीय कार्यालयबाट खटिगएको टोलीले मालपोत कार्यालयको प्रशासन शाखावाट क्षेत्रीलाई १ लाख रुपियाँ नगद घूससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको एउटा जग्गाको कार्यालयबाट कागजात मिलाइदिने भन्दै क्षेत्रीले सेवाग्राहीसँग रकम लिएका थिए। सेवाग्राहीसँग पटक पटक घूस रकम माग गरिरहेको भन्ने सूचना र उजुरीको आधारमा उनीमाथि अख्तियारले निगरानी बढाएको थियो।

क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुर लगिएको छ। विसं २०७० सालमा साझा संस्थानबाट नायब सुब्बा पदबाट अवकाश प्राप्त गरी मालपोत कार्यालय बाराको प्रशासन शाखामा सहयोगीको रूपमा करारमा नियुक्त भएका क्षेत्री मालपोत कार्यालय बाराको प्रशासन शाखामा करिब ६ वर्षदेखि नायब सुब्बाको रूपमा कार्यरत थिए।

 

प्रतिक्रिया दिनुहोस्