बाँदर आतङ्ले खेतीयोग्य जमिन बाँझै



बैतडी, (नेस)।जिल्लाको सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतंक फैल्याएपछि यहाँका स्थानीय बासिन्दाले खेतीयोग्य जमिनसमेत बाँझै छोड्नेगरेका छन्।
यहाँका स्थानीयवासीले बाँदरले दुःख दिएकाकारण खेत बाँझै छोड्ने गरेको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिनुभयो।

गएको ५, ६ वर्षयता गाउँमा बाँदरको आतंक फैलिएपछि खेतमा बालीनाली लगाउन छोडिएको बताउँदै उहाँले भन्नुभयो–‘खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि स्थानीय बासिन्दाले खेत बाँझो छोडेका हुन्।’बाँदरको आतंककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन्।

खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गरेकाले नागरिक आतंकित भएका छन्। बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने दुःख दिनथालेपछि स्थानीय बासिन्दा बसाइँ सर्ने अवस्था समेत आएको पार्वती चन्दले बताउनुभयो।

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खानासमेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो। ‘वर्षौदेखि गाउँमा बाँदर आतंक छ’, उहाँले भन्नुभयो,‘ लगाएका अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छोडेका छौं।’

यस्तै अनुभव दशरथचन्द नगरपालिका–५ का स्थानीवासी डम्बर टमाटाले सुनाउनुभयो। उहाँले भन्नुभयो,‘घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ।’ दशरथचन्द नगरपालिकाको कुमालीमा सबैभन्दा बढी बाँदरले क्षतिपुर्याउने गरेको जनाइएको छ। बाँदरका कारण स्थानीयवासी निकै आतंकित र चिन्तित बनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्