‘भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा सुकुम्बासीलाई नै दिनुपर्ने’ –मन्त्री यादव



सुभेन्द्र दास, लहान।प्रदेश २ का अर्थ मामिला तथा योजना मन्त्री विजय यादवले सुकुम्वासीको नाममा आजसम्म हुकुम्वासीलाई प्रोत्साहन दिइएको बताउँदै सुकुम्वासीले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा सुकुम्वासीलाई नै दिनुपर्ने बताउनुभएको छ।

सिराहाको भगवानपुरमा नेपाल बसोबास बस्ती संरक्षण समाजको वार्षिकोत्सवमा मन्त्री यादवले अधिकार पाउनको लागि संघर्ष कसैले गरिदिँदैन, आफै अगाडि बढ्नुपर्छ भन्नुहुँदै यसको लागि सुकुम्वासीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–२ सरकारले सामूहिक खेतीका लागि बजेट विनियोजन गरेको छ। २० विघा भन्दाबढी खेतीको शुरुआत गरियो भने डिप बोरिङ, कृषि उपकरणको व्यवस्था गरिएको मन्त्री यादवले बताउनुभयो।

मन्त्री यादवले कृषि उत्पादनको लागि १० विघाको एक समूह बनाएर सामूहिक खेती गरियो भने मलको लागि प्रदेश–२ सरकारले १ लाख रुपियाँ उपलब्ध गराउने प्रावधान ल्याएको बताउनुभयो।

मन्त्री यादवले भन्नुभयो–‘आज पनि ९९ प्रतिशत मुसहरको लालपूर्जा छैन्। उनीहरू जमिनदारको जग्गामा बस्दै आएका छन्। त्यो जग्गा मुसहरहरूले संरक्षण गर्दै आएका छन्। त्यसैले बस्दै आएको जग्गाको लालपूर्जा उनीहरूलाई दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री राजलाल यादव, नेपाल बसोवास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्की, प्रदेश–२ अध्यक्ष सुभेन्द्र दास, सिराहा जिल्ला अध्यक्ष मुकेश्वरलाल कर्ण, नेपाल पत्रकार महासंघ सिराहाका सभापति दिनेश्वर गुप्तालगायतले सुकुम्वासी १० वर्षिदेखि बस्दै आएको जमिनको लालपूर्जा सुकुम्वासीलाई दिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्