बाँच्ने आशामा ‘एआरटी’ खाँदै एचआईभी संक्रमित



नेपाल समाचारपत्र, डोटी। डोटीमा ७ सय १५ जना एचआईभी संक्रमितले बाँच्नका लागि शरीरको रोग प्रतिरोध क्षमता बढाउने ‘एआरटी’ नामक औषधी नियमितरूपमा सेवन गर्न थालेका छन्। नियमित औषधी सेवन गर्नेहरू फूर्तिलो भई सहज जीवनयापन गर्दै आएका छन्।

औषधी सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरू लगाताररूपमा एआरटी नामक औषधी खान थालेको संक्रमित दीपक क्षेत्री (नाम परिवर्तन)ले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जान अन्जानले गल्ती भयो, केही समय अझै बाचौं भनेर औषधी खान थालेको छु।’

आर्थिक वर्ष २०७४–७५ सम्ममा एचआईभी÷एड्सका कारण डोटीमा १ सय ८१ जनाको ज्यान गइसकेको जिल्ला अस्पताल डोटीले जनाएको छ। आर्थिक वर्ष २०७३–०७४ मा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक वर्ष २०७४–०७५ मा त्यो संख्या बढेर ९४ जना पुगेको थियो।

जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यसमध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेका जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७३–०७४ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७४–०७५ मा आएर ५ सय १२ जना पुगेको थियो।

अहिले पनि जिल्लामा एचआइभी संक्रमितको संख्या बढिरहेको पाइएको छ। डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कले गर्दा उनीहरूबाटै एचआईभीको संक्रमण बढ्ने गरेको एचआईभी/एड्सको क्षेत्रमा काम गर्ने संस्थाको तथ्यांकमा उल्लेख छ।

संक्रमितको श्रीमतीसमेत संक्रमित हुने गरेको र संक्रमित आमाबाट जन्मेका सन्तानमा पनि नयाँ संक्रमण हुनेको संख्या बढिरहेको पाइएको स्वास्थ्यकर्मी बताउँछन्। सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआईभी संक्रमितको संख्या अरू जिल्ला भन्दाबढी भएको तथ्यांक संकलकले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्