जिप दुर्घटनामा चालकसहित चार घाइते



म्याग्दी, (नेस)। म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। रघुगंगा हाईड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मौवाफाँटदेखि पिप्लेतर्फ जाँदै गरेको ग३च २२७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा परेर जिपका चालक मंगला गाउँपालिका–५, अर्मन म्याग्दीका २४ वर्षीय ओमबहादुर पुन, आयोजनाका इन्जिनियर काठमाडौं महानगरपालिका–२४ का ३० वर्षीय शैलेस शाक्य, रामेछाप सुनपाती–४ बेथानेका २४ वर्षीय डिसम घिसिङ र रुपन्देही बुटवलका ४७ वर्षीय बुद्धिसागर न्यौपाने घाइते भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो।

घाइतेहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात् चालक पुन, इन्जिनियर शाक्य र न्यौपानेलाई एयर डाइनेस्टिको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल पुर्याइएको छ। यसैगरी घाइते सिभिल इन्जिनियर डिसम घिसिङ भने बेनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो।

जिप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परेपछि घाइतेको स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरेका थिए। दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्