शौचालयको हज र बोरिङनजिकै पानी उद्योग तत्कालका लागि उत्पादन बन्द गर्न रोक



नेपाल समाचारपत्र, विराटनगर। ट्वाइलेटको हज र बोरिङनजिकै भएका कारण विराटनगरस्थित एक पानी उद्योगलाई तत्काका लागि उत्पादन नगर्न भन्दै रोक लगाइएको छ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले विराटनगर–७ मा रहेको ऊँ जेके. पानी उद्योगलाई तत्कालका लागि पानी उत्पादन नगर्न भन्दै रोक लगाएको हो।

उपभोक्ताको गुनासो आएपछि खाद्य निरीक्षक शङ्कर न्यौपानेको नेतृत्वमा पुगेको अनुगमन टोलीले ट्वाइलेटको हज र पानी उत्पादनका लागि गरिएको बोरिङ धेरै नजिक रहेको फेला पारेपछि सो उद्योगले उत्पादन गरेको पानीको नमुना संकलन गरेको छ।

ट्वाइलेटको हज र बोरिङनजिक रहेका कारण उत्पादित पानीमा कोलिफर्म हुनसक्ने आशंकामा नमुना संकलन गरिएको र तत्कालका लागि उत्पादन नगर्न निर्देशन दिइएको खाद्य निरीक्षक न्यौपानेले बताउनुभयो।

संकलित नमुनाको परीक्षणपछि आउने रिपोर्टको आधारमा निर्णय लिइने न्यौपानेले जानकारी दिनुभयो। उहाँले उद्योगलाई थप केही सुधारात्मक निर्देशनहरू दिइएको समेत बताउनुभयो। टोलीले सो उद्योगले उत्पादन गरेको २ जार पानी नमुनाका लागि संकलन गरेको छ।

उता उद्योग सञ्चालक ओमप्रकाश राउतले भने आफूहरूले उत्पादन गर्दै आएको पानीको समयसमयमा ल्याब परीक्षण गराउँदै आए पनि कोलिफर्म नभेटिएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्