गर्भपतन गराउनेमा अविवाहित किशोरीको संख्या बढ्दै



विमल विष्ट,डोटी। डोटीमा वर्षेनी गर्भपतन गराउने महिलाको संख्या बढिरहेको छ। सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तथ्यांकमा उल्लेख गरिएको छ।जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीन्टेन्डेन्ट डा. भुषण मिश्रले दिनुभएको जानकारीअनुसार आर्थिक वर्ष ०७५–०७६ मा डोटीमा १ हजार ८९ जना महिलाले गर्भपतन गराएका छन्।

उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य सँस्थामा महिलाले उक्त सेवा लिएका हुन्। जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३ सय ८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाको संख्या ह्वातै बढेको डा. मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सरकारले अनिश्चित गर्भपतन गराउन पाउने व्यवस्था गरेकाले गर्भपतन गर्नेको संख्या बढेको हो।’नौ हप्तासम्मको गर्भपतन तालिम प्राप्त स्वास्थ्यकमीद्वारा प्रदान गरिने औषधी सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकोमा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको संख्या अत्याधिक रहेको जनाइएको छ।

उहाँले भन्नुभयो,‘स्कुल पढ्ने उमेरका कलिला नानीहरू गर्भपतनको औषधी किन्न आउँछन्,
औषधी खाएर गर्भपतन गराउँछन्, जस्ले गर्दा पछि उनीहरूलाई समस्या हुन सक्छ।’

गाउँ–गाउँमा सरकारी स्वास्थ्य संस्था र सूचीकृत सरकारी मान्यता प्राप्त स्वास्थ्यकर्मी रहेका कारण नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको संख्या बढी देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ। एकवर्षको अवधिमा ८ सय ७१ जनाले औषधी सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ।

त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या १ सय ६६ रहेको छ भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किशोरीको संख्या ५२ देखिएको छ। १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पताललाई मात्रै छ।

त्यस्तै जिल्ला अस्पतालमा १२ देखि १८ हप्ता सम्मको गर्भपतन गराउने व्यवस्था तथा उपकरण भएका कारण एउटै महिलाले वर्षको तीनपटक सम्म गर्भपतन गराउन आउने गरेको जिल्ला अस्पतालमा गर्भपतन गराउने अधिकार पाएका चिकित्सक डा. गिरीश अवस्थीले बताउनुभयो।

‘महिला पुरुषले परिवार नियोजनका साधनहरूको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो’ डाक्टर अवस्थीले भन्नुभयो– ‘पटक पटक गर्भपतन गराए ज्यान नै जोखिममा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउछन्, सम्झाउँदा पनि भनेकै मान्दैनन्।’

सरकारले सुरक्षित गर्भपतन गराउने मान्यता दिएपनि जिल्लामा पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रुपमा प्रयोग हुँदै आएको चिकित्सक बताउँछन्। जिल्ला अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाबाहेक डोटीमा रहेका कैयौ निजी क्लिनिक तथा औषधी पसलहरूमा समेत गर्भपतन हुने गरेको स्थानीयहरू बताउँछन्।

अवैधरूपमा गर्भ रहेको खण्डमा कतिपयले निजी औषधी पसलबाट औषधी किनेर सेवन गर्ने गरेको दिपायल पिपल्लाका स्थानीय राम विकले बताउनुभयो। उहाँले भन्नुभयो– ‘स्कुल पढ्ने उमेरका कलिला नानी गर्भपतनको औषधी किन्न आउँछन्, औषधी खाएर गर्भपतन गराउँछन्, जसले गर्दा पछि उनीहरूलाई समस्या हुनसक्छ।’

प्रायः कामको खोजीमा भारत गएका यहाँका स्थानीय पुरुषले घरमा आउँदा अस्थायी साधन प्रयोग नगर्ने र पछि गर्भ रहेपछि गर्भपतन गर्न अस्पताल आउने गरेको स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था सामुदायिक विकास मञ्च (सीडीएफ) का कर्मचारी दीपा सिंहले बताउनुभयो। उहाँले भन्नुभयो, ‘श्रीमानको लापर्बाहीले श्रीमतीले दुःख भोग्नु परेको छ, जसले महिलालाई बढी समस्या भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्