बाँदर आतंकले किसान हैरान



यतिबेला बाँदरको आतंकले डडेलधुराका किसान हैरान भएका छन्। खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका छन्। बाँदर आतंक कुनै एउटा वा दुईवटा स्थानीय तहमा मात्रै छैन। जिल्लाका सातवटै स्थानीय तहमा बाँदरले दुःख दिएको पटक–पटक विभिन्न समाचारमा सुन्न र पढ्न पाइन्छ।

खेतमा लगाएको मकै, दाल तथा बारीको तरकारी बाँदरले नष्ट गरेपछि कतिपय स्थानीय तहका किसानले अन्नबाली नै लगाउन छाडेका छन्। जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतंकले मुख्य खाद्यबाली जोगाउनै मुस्किल परेको छ।

नेपाल कृषिप्रधान देश हो। अहिलेको सरकारले कृषितर्फ नै जोड दिएको छ। सरकारको नारा आर्थिक समृद्धि बनेको छ। तर, यसरी वन्यजन्तुले खेतीबाली नष्ट गरेपछि कसरी सकिन्छ। किसानले दुःख गरेर खेतीपाती लगाउँछन् तर उनीहरूलाई लगाएको खेतीबाली जोगाउनै हम्मेहम्मे पर्छ।

संसद्मा विभिन्न नेताहरूले यसको विषयमा कुरा उठाएको पनि सुनिन्छ। तर पनि सरकारले यसको लागि कुनै पहल गरेको छैन। अझै कुनै गाउँपालिकाले त बाँदर नियन्त्रणकै लागि ३० लाख बराबरको रकम पनि छुट्याएका भनेर पनि सुनिन्छ। तर पनि केही पार लाग्न सकेको देखिँदैन। बाँदरले खेती लापत्ता पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको छ।

विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको पनि गाउँलेले भोग्ने गरेका छन्। पहिले–पहिले त धपाएपछि बाँदर भाग्थे, तर अहिले त उल्टै झम्टन आउँछन्।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ। त्यसैले हामी कृषकलाई राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। यस विषयमा सरकार गम्भीर भएर लाग्न जरुरी छ।

– सरस्वती देवी ओड, डडेल्धुरा।

प्रतिक्रिया दिनुहोस्