सबैको टाउको दुखाइ सामाजिक सञ्जाल



युवायुवतीको बुझाइमा सामाजिक सञ्जाल भनेको ‘स्वतन्त्रता अभिव्यक्ति’को एउटा गतिलो प्लेटफर्म हो। एउटाले भन्ने र धेरैले प्रतिक्रिया दिने सामाजिक सञ्जालको प्रयोग र सुविधा अतुलनीय छ। सामाजिक सञ्जाल एकसाथ फाइदा र बेफाइदाको खेल खेल्न सक्छ। साथी–भाइहरूबीच पुनर्मिलन गराउन सक्छ।

श्रीमान्–श्रीमतीबीच छोडपत्र दिलाउन पनि सक्छ। संवाद गराउँदै झगडा निम्त्याउन पनि सक्छ। विनाशुल्क सन्देश, फोटो संग्रह, गेम, निमन्त्रणा दिन सक्छ भने तपाईंको बहुमूल्य समय त्यसै खाइदिन पनि सक्छ। दुनियाँसँग जोड्ने नाममा घरभित्रै तपाईंलाई पराई बनाइदिन पनि सक्छ।

किशोरकिशोरीहरू यौनिक अथवा आर्थिक प्रलोभनमा पर्न सक्छन्। लज्जास्पद फोटो वा प्रतिक्रियाको कारण जीवन नै गुमाउन पनि सक्छन्। मुलुकलाई प्रयोगशाला बनाउनेहरूले मुलुकभित्र स्थापित मूल्य, मान्यता, धर्म, परम्परा, संस्थालाई ध्वस्त पारेसँगै आममानिसको पहुँचमा पुर्याइएको सामाजिक सञ्जालको प्रयोग अल्पविकसित मुलुकमा अनिष्ट बन्न सक्ने खतरा सदैव रहन्छ।

राजनीतिकजीवीहरूले विगतमा बाँडेका तमाम सपना ‘कोमा’मा पुगेको समयमा निराश र रुष्ट जनताको हात लागेको सामाजिक सञ्जाल ठूलो भड्कावमा पर्ने खतरा देखिन्छ। सकारात्मक र रचनात्मक तरिका मुलुकबाट लोप भएको समयमा युवायुवतीको ‘अम्मल’ बनेर निस्किएको सामाजिक सञ्जाल आफ्नो कर्तव्यबाट कोसौँ टाढा भाग्दै छ।

वैश्य युगमा उच्च वर्गले मिडिया हाउस चलाउन, किन्न मात्र होइन शासन सत्ताको प्रयोग, दुरूपयोग, धम्कीपूर्ण भाषाको तागतले आफ्ना काम फत्ते गर्न सक्छ। प्रशासन, अदालत र स्वार्थ समूहलाई आफ्नो पक्षमा पार्न सक्छन्। सामाजिक सञ्जालमार्फत सर्वसाधारण मानिसले प्राप्त गरेको सस्तो र असरदार सञ्जाललाई जञ्जाल बन्नबाट रोक्नु उनीहरूकै हितमा छ।

मानवजीवनको अभिन्न अंग बनिसकेको सामाजिक सञ्जाल अल्पविकसित मुलुकमा वरदानभन्दा अभिशाप बन्न हतारिएको छ। यसलाई रोक्न निमुखा सञ्जालकर्ता चनाखो हुनुपर्नेछ।अशिष्ट, अभद्र, भावनात्मक, उत्तेजनात्मक, निम्नस्तरको भाषाको प्रयोग हुनुले सामाजिक सञ्जाल असामाजिक ‘जञ्जाल’तर्फ उन्मुख भएको चिन्ता सुनिदै छ।

पछिल्लो समय सामाजिक सञ्जालको लोकप्रियता र बढ्दो तागत राज्यको टाउको दुखाइ बन्दै गएको छ। जसको कारण सत्ता र स्वार्थ समूहले सामाजिक सञ्जालको तागत घटाउन अनेक घुसपैठ गराउँदै यसको आत्मामाथि प्रहार गर्दै छ।

सभ्य भाषा र शैलीमा कमेन्ट, रिकमेन्ट, नयाँ पोस्ट गर्दै राज्यको विरुद्ध खबरदारी गर्न सञ्जालकर्ताहरू सतर्क र संयमित हुनुपर्नेछ। अन्यथा अराजकता र असभ्य शब्दको बाढीमा सामाजिक सञ्जाल ‘सामाजिक जञ्जाल’मा रूपान्तरित हुनेछ। तत्पश्चात् ‘सामाजिक जञ्जाल’ आफ्नै कारणले रोगी र अर्थहीन बन्दै अकालमा मर्नुपर्नेछ। यसको नियन्त्रणमा हामी सबै लाग्नै पर्छ।

– अञ्जन देवकोटा, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्