छाया अर्थतन्त्रका चुनौती



दीपक शर्मा

छाया अर्थतन्त्रलाई भूमिगत अर्थतन्त्र, अनौपचारिक अर्थतन्त्र वा समानान्तर अर्थतन्त्र पनि भनिन्छ। यसमा अवैध प्रकारबाट भएको आर्थिक क्रियाकलापका साथै वैध तरिकाबाट उत्पादित वस्तु तथा सेवाहरूको अभिलेख नराखी गरिने क्रियाकलापसमेत पर्दछन्। छाया अर्थतन्त्रमा करको दायरामा पर्ने तर कर छलेर कारोबार गरिएका आर्थिक क्रियाकलाप समाविष्ट हुन्छन्।

कुनै पनि राष्ट्रका लागि छाया अर्थतन्त्र बहुआयामिक र बहुमुखी चुनौती हो। छाया अर्थतन्त्रबारे विश्व्यापी एकै परिभाषा कतै पनि पाउन सकिँदैन। यो विषय प्रत्येक राष्ट्रपिच्छे फरक हुनाले यसको परिभाषामा पनि भिन्नता पाइन्छ, तर छाया अर्थतन्त्रलाई सबै राष्ट्रले गम्भीरताका साथ लिने गर्दछन् र यसको नियन्त्रणका लागि राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउन लागिपर्दछन्।

खासगरी तस्करी, भ्रष्टाचार, कालोबजारी, लागूपदार्थको कारोबार तथा वैधानिक तर अनौपचारिक किसिमका कार्यहरूले छाया अर्थतन्त्रको निर्माण भएको हुन्छ। छाया अर्थतन्त्रको निर्माणमा आर्थिक अपराधको सबैभन्दा बढी पकड रहेको हुन्छ। विश्वव्यापीकरणको बढ्दो प्रभावले आर्थिक अपराध विश्वका सबै ठाउँमा घटित रहन्छ तर विकसित देशले यस्ता अपराधलाई नियन्त्रण गर्न सक्ने क्षमता राखे पनि कमजोर राष्ट्र बढी क्षतिग्रस्त हुने गर्दछन्।

हिजोआज अपराधीले छाया अर्थतन्त्रलाई बढावा दिन प्रविधिको पनि सहयोग लिइरहेका छन्। यस्ता अपराधअन्तर्गत कम्प्युटरको डाटा सूचना, क्रेडिट कार्ड नम्बर, पासवर्ड आदि नाश गर्ने, भाइरसको प्रयोग गरी सूचना प्रणाली नाश गर्ने, इन्टरनेटको माध्यमबाट एउटा बैंकको रकम अन्य मुलुक वा बैंकमा सार्ने आदि पर्दछन्। गत शनिबार यस्तै अपराधमा चिनियाँ ह्याकर पक्राउ परेका छन्।

आर्थिक अपराध एक जटिल अपराध हो। किनकि यसमा अपराधीले वैध आर्जन वा व्यवसायलाई गलत कमाइसँग मिसाएर कारोबार गरिरहेको हुन सक्छ। आर्थिक अपाराधमार्फत अपराधीहरूले औपचारिक अर्थतन्त्र नै ध्वस्त बनाइदिन र राष्ट्रलाई पूरै अपराधीकरण गर्न सक्छन्। यस्तो अपराध आर्थिक आर्जनका लागि तथा पैसा र वित्तीय कारोबारसँग सम्बन्धित अपराध हुने हुँदा सामान्यतया अहिंसात्मक प्रकृितको हुने गर्दछ। साथै यी अपराधमा संलग्न गिरोहहरू हाइटेक खाले हुने गर्दछन्।

छाया अर्थतन्त्र निर्माणमा मद्दत पुर्याउने अर्को प्रक्रिया मुद्रा निर्मूलीकरण विधि हो। मुद्रा निर्मूलीकरण भन्नाले अपराधबाट धन आर्जन गर्न सकिन्छ भन्ने विश्वासका साथ अपराधमा संलग्न हुने र आपराधिक आर्जनलाई विभिन्न बहाना वा स्वरूपमा कानुनको आर्जनको रूपमा प्रयोग गर्नका लागि त्यस्ता अपराधीले पुनः गर्ने अवैध अपराध नै सम्पत्ति, शुद्धीकरण वा मुद्रा निर्मूलीकरण हो। यस खालको अपराधले आर्थिक स्थायित्व सखाप पार्ने, विदेशी तथा स्वदेशी लगानीलाई हतोत्साहित गर्ने, पारदर्शिता घटाउने, बजारमा चरम अस्थिरता ल्याउने, पँुजी पलायन गराउने, व्यापार घाटा बढाउने र समग्रमा आर्थिक क्रियाकलापलाई कमजोर पारी अपराधीलाई शक्तिशाली बनाउने गर्दछ।

यो अपराध कतिसम्म हानिकारक मानिन्छ भने, यसले कुनै पनि देशको राष्ट्रिय सुरक्षा, सामाजिक, आर्थिक, राजनीतिक सबै क्षेत्रमा अस्थिरता पुर्याई राष्ट्रको कानुनी, सुरक्षा प्रणाली र वित्तीय क्षेत्र नै तहसनहस पारिदिन सक्छ। मुद्रा निर्मूलीकरणको पछिल्लो विकासमा अब यो माध्यमबाट आतंकवादमा लगानीसम्म पुग्न थालेको छ, जुन समग्र विश्वका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको छ।

छाया अर्थतन्त्रको अर्को प्रारूप भनेको कर छली पनि हो। नेपालमा यो समस्या उच्च रहेको महसुस सर्वसाधारणले पनि गरेको पाइन्छ। विश्व भन्सार संगठनका अनुसार करछली भन्नाले व्यापारिक सामान आयात निर्यात गर्दा बुझाउनुपर्ने महसुल नबुझाउने, कुनै पनि व्यापारिक कार्यमा लागेको प्रतिबन्ध छलेर वा छल्ने उद्देश्यले गरिएको कार्य, आफूलाई फिर्ता नहुने महसुल फिर्ता पाउनु वा पाउन गरिने कार्य, वैध व्यापारलाई हानि–नोक्सानी पुर्याउने उद्देश्यले गलत फाइदा प्राप्त गर्ने वा प्रयत्न गर्ने कार्यलाई करछली भनिन्छ।

नेपालमा पनि करछली प्रकरणअन्तर्गत आयातीत मालवस्तुको कम मूल्यांकन गर्ने, बढी मूल्यांकन देखाई विदेशी मुद्राको अपचलन गर्ने, मालवस्तुको गुणस्तरमा हेराफेरी, सरकारबाट अनुदान वा सहुलियत प्राप्त सामान र पुरानो मालसामानको बढी मूल्यांकन गर्ने, तयारी सामानको तौलमा तल–माथि बनाउने, सामानको सही मूल्यांकन नगर्ने, उत्पादित प्रमाणपत्र नक्कली तयार गर्ने, बिमा, बिलजस्ता नक्कली कागजात बनाई भन्सार छल्ने र बजारको प्राकृतिक मान्यता भत्काउने जस्ता विषय कर छलीअन्तर्गत पर्दछन्।

नेपाल राजनीतिक अस्थिरता र संक्रमणकालीन परिबन्धले गर्दा दिन–प्रतिदिन रुग्ण बन्दै गइरहेको छ। यस्तो मौकाको फाइदा उठाउँदै केही समूह र व्यक्तिहरू छाया अर्थतन्त्रलाई बढावा दिन तल्लीन देखिन्छन्। छाया अर्थतन्त्रको अर्को रूप एकाधिकार पनि हो। प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ का अनुसार एकाधिकार भन्नाले कुनै वस्तु वा सेवाको उत्पादन, बिक्री वितरणमा अन्य कुनै व्यक्ति वा प्रतिष्ठानसँग मिली एकाधिकाररूपमा त्यस्ता वस्तु वा सेवाको प्रमुखता जमाउने र त्यस्तो कार्यबाट सर्वसाधारणलाई प्रत्यक्ष असर पुर्याउने कार्यलाई एकाधिकार भनिन्छ।

एकाधिकारमा वस्तु वा सेवाको उत्पादन एकै निकायबाट हुन्छ, मूल्य निर्धारण र वितरणसमेत सोही निकायले गर्दछ। यसमा प्रतिस्पर्धाको कुनै गुन्जायस रहँदैन। नेपालको अवस्था कति नाजुक छ भने, यहाँ केही थान व्यापारीले सरकार र राष्ट्र चलाइरहेका छन्, जसका कारण एकाधिकार बढिरहेको छ, उपभोक्ता अधिकार कुण्ठित बनाइएको छ। एकाधिकारको लागि त सरकार पनि माहिर नै देखिन्छ। यसको उदाहरण नेपाल आयल निगम र खानेपानीजस्ता संस्थान हुन्।

राजनीतिक कमजोरीको फाइदा व्यापारीहरूले प्रशस्त उठाइरहेका छन्, जसले गर्दा एकाधिकार संस्थागतरूपमा स्थापित भइसकेको छ। यसले खुला बजारको अवधारणालाई नामेट बनाइसकेको छ। नेपालका प्रायजसो व्यापारीवर्गमा आर्थिक संस्कार र नैतिकताको कमी निकै नै देखिन्छ। सोही कारण बजारलाई स्वतन्त्र छोडी प्रतिस्पर्धालाई अगाडि बढाउनुपर्नेमा एकाधिकारलाई अँगाल्दै आममानिसको खाद्य, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि खेलबाड गरिरहेका छन्।

छाया अर्थतन्त्रलाई बढावा दिने ठगी पनि हो। यस अन्तर्गत बैंकिङ ठगी अग्रस्थानमा पर्दछ। बैंकिङ ठगीअन्तर्गत थोरै धितोमा अत्यधिक कर्जा लिने, न्यून जग्गाको अधिक मूल्यांकन गराउने, स्थलगत अवलोकनविनै कर्जा प्रवाह गर्ने, कृत्रिम परियोजनामा ऋण लगानी गर्ने, कुनै पनि क्षेत्रमा स्वीकृत सीमाभन्दा बढी लगानी, नक्कली लालपुर्जा, कृत्रिम हस्ताक्षर गरी अन्य व्यक्तिको रकम झिक्ने, शेयर खरिदमा अनियमितता गर्ने, एटीएम अपचलन, विद्युतीय साधनको दुरूपयोग गरी अनधिकृतरूपमा अर्काको रकम झिक्ने आदि काम पर्दछन्।

छाया अर्थतन्त्रको सबैभन्दा खराब पाटोको रूपमा भ्रष्टाचार पनि पर्ने गर्दछ। भ्रष्टाचार सदाचार विपरीतको कार्य हो। निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले जानी–जानी मनसायपूर्वक दृश्य वा अदृश्य स्वार्थपूर्तिका लागि आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरेर फाइदा लिनु भ्रष्टाचार हो।

राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले सन् २००३ मा भ्रष्टाचारबारे भनेका थिए, ‘यो एक भयंकर संक्रामक रोग हो, यसले लोकतन्त्र र विधिको शासनको अवमूल्यन गर्दछ, मानव अधिकारको हनन गर्दछ, बजारलाई गलत दिशामा उन्मुख बनाउँछ, जीवनस्तरलाई अस्तव्यस्त गराँउछ र संगठित अपराध एवं आंतकवादलाई बढाउने गर्दछ।’

भ्रष्टाचारले राजनीतिलाई बेकम्मा, समाजलाई विशृङ्खलित, संस्कृतिलाई विचलित र अर्थतन्त्रलाई धराशायी पार्दछ। नेपालमा भ्रष्टाचारको अवस्था कस्तो बढिरहेको छ भन्ने त भर्खरै मात्र ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टबाट उजागर गरिदिएको छ, जहाँ नेपाल दिनदिनै ओरालो लाग्दै छ।

नेपाल सूचना र प्रविधिको विकासमा खासै सम्पन्न मुलुक होइन तर नेपालको सन्दर्भमा हेर्दा सबैभन्दा छिटो विस्तार भएको क्षेत्र भने प्रविधि नै हो। हिजोआज अपराधीले छाया अर्थतन्त्रलाई बढावा दिन प्रविधिको पनि सहयोग लिइरहेका छन्। यस्ता अपराधअन्तर्गत कम्प्युटरको डाटा सूचना, क्रेडिट कार्ड नम्बर, पासवर्ड आदि नाश गर्ने, भाइरसको प्रयोग गरी सूचना प्रणाली नाश गर्ने, इन्टरनेटको माध्यमबाट एउटा बैंकको रकम अन्य मुलुक वा बैंकमा सार्ने आदि पर्दछन्।

गत शनिबार यस्तै अपराधमा चिनियाँ ह्याकर पक्राउ परेका छन्। नेपालमा केही समयअगाडि बुल्गेरियादेखि एटीएमबाट रकम चोरी गर्न नेपाल आएको गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

छाया अर्थतन्त्र निकै नै खराब र चुनौतीपूर्ण विषय हो। यसको बढोत्तरीले समाजमा अपराधीकरण बढाउन मद्दत पुग्छ। यदि छाया अर्थतन्त्र बढ्दै गयो भने यसले नियमित अर्थव्यवस्थालाई ध्वस्त मात्र पार्दैन, मानिसमा इमानदारिता र नैतिकतामा पनि ह्रास ल्याउँछ। नियम कानुन मान्ने परिपाटीको अन्त्य भई समाज अराजक बन्न सक्छ।

त्यसकारण यसतर्फ सचेत हुन जरुरी छ। छाया अर्थतन्त्रलाई बढावा दिने सबैजसो कार्यलाई नियन्त्रण गर्न नेपालमा कानुन नभएको अवस्था भने होइन, केही कानुनहरू छन् तर न्यून र कमजोर कार्यान्वयन वा मनपरि व्याख्याको मारले गर्दा ती निष्क्रिय प्रायः देखिएका छन्। हाम्रो जस्तो द्वन्द्वोत्तर अवस्थामा रहेको मुलुकले छाया अर्थतन्त्रबारे बढी सजगता अपनाउनुपर्ने थियो तर त्यसतर्फ चुकेकाले वर्तमान अवस्थामा नेपालका सबैजसो सूचकहरू आरोलो लाग्दै गइरहेका छन्। यसबारे सरोकारवालाहरू अझै पनि मुकदर्शक बनिरहे भने स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ। सबैले गम्भीर भएर सोचौं।

 

प्रतिक्रिया दिनुहोस्