समाजमा असुरक्षा बढेको अनुभूति



हिजोआज नेपाली समाज असुरक्षित बन्दै गएको अनुभूति गरिएको छ। हरेक दिनजसो बालिका बलात्कारजस्तो निकृष्ट अपराध बढिरहँदा सभ्य समाजको परिकल्पना गर्नु पटाक्षेप बन्न पुगेको छ। बलात्कारका घटना वृद्धि हुनुमा अशिक्षा र चेतनाको अभावलाई दोष दिँदै आए पनि शिक्षित र सभ्य मानिसहरूबाट पनि हत्या–हिंसाको बाटो पहिल्याउन थालेको देखिन्छ।

गाउँमा घाँस काट्न जाँदा होस् या स्कुलबाट घर फर्किंदा, बालिबालिका कहीँ पनि सुरक्षित छैनन्। त्यति मात्रै कहाँ हो र ? उनीहरू आफ्नै घरभित्रै सुरक्षित नभएको अनुभूति गर्न थालिएको छ। बालिकाहरू आफ्नै बाबुसँग पनि सुरक्षित नभएका घटनाहरू पनि थुप्रै सुन्नमा आउँछन्। नेपाली समाजमा सामूहिक बलात्कारजस्तो निकृष्ट घटनाको शृङ्खला चलिरहेको छ।

बोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवीय सिकार बन्नुपरेका बालिकाको विदारक घटना असुरक्षित समाजका परिणति हुन्। डर र त्रासका कारण बलात्कारमा परेकी युवतीले आफू बलात्कृत भएको घटनासमेत परिवार र प्रहरीसमक्ष बताउन नसक्ने अवस्थाले असुरक्षित समाजलाई नै प्रतिविम्बित गर्छ।

पीडितमाथि कतिसम्म अन्याय हुन्छ भन्ने कुरा बलात्कारका घटनामा कतिपय अवस्थामा प्रहरीले उजुरीसमेत लिन नमानेको प्रसंगले पुष्टि गर्छ। हरेक दिनजसो बलात्कारका घटना राष्ट्रिय मूलधारका अखबारहरूमा प्रकाशित भइरहेका हुन्छन्। यस्तो आपराधिक घटना बढ्दै गएपछि सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको छ। यस्तो निकृष्ट अपराधलाई निरुत्साहित गर्न सरोकारवाला निकायले संवेदनशीलता नदेखाउनु विडम्बनाको कुरा हो।

दिनहुँ यस्ता आपराधिक घटनामा बढोत्तरी हुँदा राज्यले न्यूनीकरण गर्ने सम्बन्धमा ठोस नीति अख्तियार गर्न ढिलाइ गर्नुहुँदैन पछिल्लो समय अपराधका स्वरूपहरू भयावह बन्दै आइरहेका छन्। बलात्कारको घटना बालहिंसाको निकृष्ट नमुना बनिरहँदा यो गम्भीर सामाजिक मुद्दाका रूपमा उठ्नुपर्छ। बोली नै नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन्। पशुलाई ज्ञान नभएकै कारण अज्ञानी भनिएको हो।

सबै पशुहरू अज्ञानी छैनन्, पशुले पनि संवेदना गुमाउँदैनन्। तर मानिसमा मानवीयता हराएपछि आपराधिक कार्य हुने गर्दछन्। बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई दण्ड दिन कानुनमै परिमार्जन गरिनुपर्ने आवाज त्यसै उठेका होइनन्।

बालबालिका र महिलालाई सम्मानजनक दृष्टिकोणले नहेरेसम्म आपराधिक घटना न्यूनीकरण हुन गाह्रो छ। यस्ता हिंसाविरुद्ध निरन्तररूपमा समाजमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।

– सुष्मिता, भट्टराई, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्