इस्लिङ्टनमा आईबीए कोर्स



लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजका विद्यार्थीले नेपालमै पहिलोपटक सूचना र प्रविधि क्षेत्रमा विश्वविख्यात संस्था आईबीएमले निर्माण गरेको कोर्स अध्ययन गर्न पाउने भएका छन्।
आईबीएमले इस्लिङ्टनमा सूचना प्रविधिअन्तर्गत तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा आधारित कोर्स अध्ययन गराउन लागेको हो। सो कलेजमा अध्यनरत विद्यार्थीले, आईबीएमको साइबर सेक्युरिटी, डाटा साइन्स र आर्टिफिसियल इन्टलिजेन्ससम्बन्धी कोर्स अध्ययन गरी आईबीएम सर्टिफाइड हुने अवसर पाउनेछन्।

आईबीएमद्वारा सर्टिफाइड करिब २५ शिक्षकहरूले अध्ययापन गराउने सो कोर्स कलेजमा आईटीमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क उपलब्ध हुनेछ। तर प्रत्येक विद्यार्थीका लागि करिब ४० हजार रुपियाँ लाग्ने आईबीएमको कोर्सको सम्पूर्ण खर्च कलेजले नै बेहोर्ने छ।

‘सूचना प्रविधिको विषयमा थप अध्ययन गर्न र रोजगारीको सिलसिलामा स्वदेश र विदेशमा अवसर खोज्ने विद्यार्थीका लागि आईबीएमको अतिरिक्त कोर्सले थप मद्दत पुर्याउँछ।’ –इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढाथोकीले भन्नुभयो।

उहाँका अनुसार विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी अतिरिक्त कक्षाका रूपमा आईबीएमको कोर्स अध्यापन गर्न लागेको हो। विशेष गरी सूचना प्रविधि र सुरक्षासम्बन्धी विषय अध्ययन गर्ने विद्यार्थीले आईबीएमले कोर्सको थप कक्षा लिँदा विद्यार्थीको सूचना प्रविधि विषय अध्ययनमा थप मद्दत पुग्नेछ।

स्नातक गर्दा गर्दै पढाइ हुने आईबीएम कोर्स पूरा गरेपछि कुनै पनि कम्पनीमा काम गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ। यो कोर्स सूचना प्रविधि विषयमा अध्ययन गर्दै गरेका विद्यार्थीको अतिरिक्त तीन महिना खाली समयमा पढाइन्छ। यसअन्तर्गत आईबीएमको स्किल एकेडेमीले परीक्षा लिएर उत्तीर्ण विद्यार्थीलाई प्रमाणत्र दिनेछ।

आईबीएम सर्टिफाइड भएपछि नेपाललगायत विश्वका जुनसुकै देशमा सूचना प्रविधिको विषयमा रोजगार हुन खोज्ने विद्यार्थीका लागि महत्वपूर्ण हुने कलेजको भनाइ छ। अमेरिकामा मुख्यालय रहेको आईबीएम एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो। हाल यसको कारोबार १ सय ७० देशमा छ। यस कम्पनीको स्थापना सन् १९११ मा भएको थियो।

‘हामी विद्यार्थीको सीप विकासका लागि, आईबीएमजस्तै, अरू संस्थासँग सहकार्य गर्दै, नयाँ–नयाँ कोर्सहरू ल्याउँदै जानेछौं।’ –बुढाथोकीको भनाइ छ। २४ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङ्टन कलेजबाट स्थापनाकालदेखि हालसम्म करिब ४ हजार विद्यार्थीले नेपाललगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन्। सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङ्टन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ।

प्रतिक्रिया दिनुहोस्