सिर्जनशील महिला समाज र मिथिला कलाकर्मीलाई संगति पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं। दक्षिण एसियाली मुलुकमा लोकप्रिय नारीवादी सञ्जाल संगतले राजधानीमा सक्रिय सिर्जनशील महिला समाज र मिथिला कलाका माध्यमले जनचेतना विस्तार गर्दै आएकी महोत्तरी निवासी सुनयना ठाकुरलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।

निर्णायक समितिका संयोजक तथा मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मीना शर्माले पुरस्कार आगामी शनिबार एक बृहद् कार्यक्रमका बीच प्रदान गरिने जानकारी दिनुभयो। काठमाडौंको तारकेश्वर गाउँपालिकामा रहेको सिर्जनशील महिला समाजले महिला उत्थानका लागि विगत एक दशकदेखि पुर्याउँदै आएको सेवाको सम्मान गर्दै १ लाख रुपियाँको पुरस्कार दिने निर्णय गरिएको शर्माले बताउनुभयो।

आगामी माघ महिनामा हुने उर्लंदो सय करोड कार्यक्रमका लागि घोषणा गर्न शनिबार आयोजना गरिने कार्यक्रमको जानकारीका लागि भएको पत्रकार सम्मेलनमा शर्माले सो जानकारी गराउनुभएको हो। सोही समारोहमा दक्षिण एसियाली नारीवादी अभियन्तालाई मीतो मेमोरियल पुरस्कार पनि प्रदान गरिनेछ। कलाकार ठाकुरलाई भने ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

‘वन बिलियन राइजिङ क्याम्पेन’ पनि भनिने उर्लंदो सय करोड कार्यक्रम प्रणय दिवस, १४ फेब्रुबरीमा विश्वमै नाचगानसहित मनाइन्छ। नेपालमा टेवा नामक संस्थाले संगति र उर्लदो सय करोड कार्यक्रमको सचिवालयका रूपमा काम गर्दै आएको छ।

संगत फेलोसिप र मीतो मेमोरियल अवार्डका संस्थापक तथा दक्षिण एसियाकी सुप्रसिद्ध नारीवादी अभियन्ता कमला भसिनले पछिल्ला वर्षहरूमा नेपालले लैङ्गिक समानताका क्षेत्रमा हासिल गरेको परिवर्तनका लागि सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभयो।

‘दक्षिण एसियामा नै नीतिगत रूपमा धेरै ठूला परिवर्तन ल्याएर नेपालले उदाहरणीय कार्य गरेको छ’, भसिनले भन्नुभयो– ‘नेपालमा वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र ढलेको छ, धर्म निरपेक्षता कायम गरिएको छ र संसद्मा कम्तीमा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था ठूलो उपलव्धि हो।’ विगत ४३ वर्षदेखि संगति कार्यक्रमका लागि नेपालमा निरन्तर आउँदै गरेकी भसिनले भन्नुभयो– ‘पहिला देखेको नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता पाएकी छु।’

‘पुरुष महान् हुन् र महिला तुच्छ हुन् भन्ने धारणा नयाँ पुस्तालाई बाबु,आमा, घरपरिवार हुँदै समाजले सिकाएको हो, पुरुषप्रधान समाजले देशमा जरा गाडेको छ’, भसिनले पत्रकारहरूको जिज्ञासा सम्बोधन गर्दै भन्नुभयो– ‘कानुनमा लेखेर मात्र महिला–पुरुष समान हुन सक्दैनन्, भित्र आत्मामा नै लेखिनुपर्छ। कानुन बन्नु राम्रो कुरा हो, यसलाई व्यवहारमा उतार्नु अर्को चुनौती हो।’

‘यसलाई चिर्नका लागि सांस्कृतिक, आर्थिक क्रान्तिले मात्र सम्भव छ। जबसम्म धर्म, संस्कृतिका नाममा, जातजाति, लैंगिक हिंसाको अन्त्य हुन्न तबसम्म कानुनलाई व्यावहारिक रूपमा उतार्न सकिन्न। यसका लागि मिडियालाई साथी बनाएर अघि नबढेसम्म परिवर्तन सम्भव छैन’ –भसिनले भन्नुभयो।

पत्रकार सम्मेलनका आयोजक टेवाका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले विश्वमा साढे तीन सय करोडभन्दा बढी महिला रहेको र हरेक तीन महिलामा एक जना कुनै न कुनै प्रकारको लैङ्गिक हिंसाबाट पीडित हुने गरेको यथार्थलाई लक्षित गर्दै उर्लंदो सय करोड कार्यक्रम आयोजना गर्ने गरिएको जानकारी श्रेष्ठले दिनुभयो।

‘वास्तवमा उर्लंदो सय करोड अभियान फेबु्रअरी १४ मा आयोजना गरिन्छ, शनिबारको कार्यक्रम त्यसको घोषणाका लागि हो’ –उहाँले घोषणा कार्यक्रममा ३५ भन्दा बढी संघसंस्थाको सहकार्य रहने जानकारी गराउनुभयो। कार्यक्रमको सहजीकरण गर्दै सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले पनि महिला हिंसा र समानताका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको औंल्याउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्