पंकजको फोटो उत्कृष्ट



काठमाडौं, (नेस) ।फोटोपत्रकार क्लबले आयोजना गरेको बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगन्जका पंकज श्रेष्ठले खिचेको फोटोले प्रथम स्थान हासिल गरेको छ।युनेस्को नेपाल र शिक्षा, मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले कार्यक्रम आयोजना गरेको हो।

पंकजको अटिजमका विद्यार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको हो। यसै गरी सुनिता डंगोलले खिचेका फोटोले ललितपुरको जीवित देवीका रूपमा पुजिने कुमारीलाई पढाउँदै गरेको फोटोले दोस्रो स्थान हासिल गर्दा अनिश रेग्मीको संकेतिक भाषा प्रयोग गरेको फोटाले तेस्रो स्थान प्राप्त गरेको छ।

सुजन श्रेष्ठ र प्रतीक गुरुङको फोटाहरूले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन्। देशभरबाट प्राप्त फोटोहरूको निर्णायक चरणमा वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वकोे निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटोहरू छानेको हो।

काठमाडौंमा सम्पन्न निर्णायक चरणका निर्णायक मण्डलमा पत्रकार उज्जवल आचार्य, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित हुनुहुन्थ्यो। प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए।

फोटोहरूले देशको वर्तमान शिक्षाको स्थिति, विद्यार्थी, स्कुल र शिक्षकबीचको सम्बन्ध झल्काउने तस्वीरहरू रहेको निर्णायक मण्डलका प्रमुख निर्णायक नरेन्द्र श्रेष्ठले बताउनुभयो। उहाँले फरक क्षमता भएकाहरूको शिक्षामा शिक्षक र विद्यार्थीबीचको आत्मीयता, सम्बन्ध र लगनशीलता महत्वपूर्ण रहेको र विजेता तस्वीरले प्रस्ट देखाएको बताउनुभयो।

प्रतियोगितामा आएका फोटोहरू नेपालको बहुभाषीय र अन्तरसंस्कृति झल्काउने रहेको अर्का निर्णायक नितु पण्डितले बताउनुभयो।विजेताले ७० हजार रुपियाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपियाँ पाउनेछन्। यसै गरी अन्य दुई सान्त्वना विजेताहरूले २५ हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्