कान्ति लोकपथमा ३५ करोडको क्षति



सुरेश तामाङ, काठमाडौं।काठमाडौंसँग तराई जोड्ने छोटो र वैकल्पिक मार्गका रूपमा लिएको कान्ति लोकपथमा पहिरोका कारण ३५ करोड बराबरको क्षति भएको जनाएको छ। कान्ति लोकपथ सडक योजना र सडक विभागको प्राविधिक टोलीले गरेको अध्ययनले कान्ति लोकपथ सडकमा उक्त रकम बराबरको क्षति भएको देखाएको हो।

सडक योजनाका इन्जिनियर अमिन्द्र खड्काले असार अन्त्यमा अविरल परेको पानीका कारण कान्ति लोकपथ सडकको विभिन्न खण्डमा क्षति पुगेको बताउनुभयो। के–कति क्षति भयो भन्ने विषयमा अध्ययन गर्न योजना र विभागको प्राविधिक टोली गठन भई अध्ययन गरेको थियो। टोलीले सडक विस्तारको ठेक्का पाएका ठेकेदारको दायित्वभित्र ५ करोड क्षति भएको र योजनाको दायित्वभित्र पर्ने भागमा ३० करोड रुपियाँ बराबरको क्षति पुगेको इन्जिनियर खड्काले बताउनुभयो।

ठेकेदारको दायित्वभित्र पर्ने रकम ठेकेदारले व्यहोर्ने र त्यसबाहेकको योजनाले नै व्यहोर्ने उहाँको भनाइ छ। ‘ठेकेदारले निर्माण सम्पन्न गरिसकेको पर्खाल, सडक पहिरोका कारण भत्केको, पहिरो गएको खण्डमा त्यो क्षतिको दायित्व ठेकेदार आफैंमा रहनुपर्छ’, उहाँले भन्नुभयो– ‘त्यसबाहेकको क्षति भएको संरचना योजनाअन्तर्गत पर्दछ। त्यो आ–आफैंले निर्वाह गर्ने हो।’

ठेकेदारको दायित्वभित्र पर्ने रकम योजनाले नव्यहोर्ने योजनाले जनाएको छ। सडक विस्तारको अन्तिम चरणमा रहेको यस सडक असार अन्तिममा परेको पानीले गर्दा क्षति गरेको छ। ललितपुरको टीकाभैरवदेखि मकवानपुरको ठिंगनलगायतका भागमा पहिरोले क्षति गर्नुका साथै सडकको संरचनासमेत बगाएको थियो।

यस सडक अहिले एक लेन मात्रै सञ्चालनमा रहेको योजनाले जनाएको छ। यस सडक खण्ड एक लेन सञ्चालनका लागि एक महिनाभन्दा बढी समय लागेको थियो। ललितपुरको भालुखोला खण्ड र मकवानपुरको ठिंगनमा सडक नै पहिरोले लगेको छ। सुख्खा समय सुख्खा पहिरोको जोखिम रहेको यस सडक खण्डमा विस्तारको काम थालेपछि ठूल्ठूला पहिरोका जोखिम बढिरहेको छ।

सरकारले यस सडकमा पहिरो रोकथामभन्दा पनि सडक चौडा गरी सञ्चालनका लागि जिम्मा दिएकाले पहिरोलाई बेवास्ता गर्दा यस्तो दुर्गति व्यहोर्नुपरेको योजनाका एक उच्च अधिकारीले बताउनुभयो।

‘सडक पहिरोको उच्च जोखिम रहेको थाहा पाए पनि पहिरो रोकथामको योजना र सडक विस्तार एकैपटक लैजानुपर्नेमा त्यस्तो भएन। यो सरकारको योजनामा ठूलो भुल हो।’ –उहाँले भन्नुभयो। पहिरो लगातार आइरहने भएर त्यसको रोकथामका लागि अध्ययन गरी सरकारसँग १ अर्ब बढी रुपियाँ बजेट माग गरेको उहाँले सुनाउनुभयो।

७९ किलोमिटर सडक खण्डमध्ये ४५ किमि खण्ड कालोपत्रे, २९ किमिमा ग्राभेल गर्ने काम सम्पन्न गरिसकेको छ। ५ किमि खण्ड भने कच्ची र एक लेनको मात्रै रहेको छ। यो कडा चट्टानको भाग भएकाले प्रगति हुन नसकेको योजनाको दाबी छ।

३ अर्ब ३५ करोड रुपियाँ अनुमान गरेकोमा अहिलेसम्म २ अर्ब ५१ करोड रुपियाँ खर्च गरिसकेको छ। विभागका प्रवक्ता शिवहरि सापकोटाले कान्ति लोकपथ अत्यावश्यक ठान्दै काम गरिरहेको बताउनुभयो। वर्षात्का कारण पहिरोले ठूलो क्षति पुर्याएकाले चाँडै रोकथामका साथै सडक योजना सम्पन्न गरेर सञ्चालन गर्न विभाग आतुर रहेको उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्