पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट



काठमाडौं, (नेस)। प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ। लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ। उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ।

फ्रान्सका लागि पूर्वराजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टि भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए। हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटक–पटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले उक्त घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र एक/दुई दिनभित्र सबै रहस्य सार्वजनिक हुने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। गत वर्षको भदौ ४ गते झाको बबरमहलस्थित आफ्नै निवासमा घाँटी रेटेर हत्या भएको थियो।

प्रहरीले घटनास्थलबाट झाको घरको किचेनमा प्रयोग भएको चक्कु र पन्जासमेत बरामद गरेको थियो। पहिलोपटक पक्राउ परेर छुटेका उनलाई किटानी जाहेरीपछि महाशाखाले पक्राउ गरी अनुसन्धान गर्दा हत्या सानुकान्छाले नै गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्