विकास निर्माणमा भारतीय पक्षको अवरोध



मनोज भट्ट, महेन्द्रनगर।  कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ।
भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको हो।

उक्त नगरपालिकाको १० नं वडामा जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ (६ ए) को सडकमा ग्रावेल गर्दा भारतीय पक्षले रोकेकाले गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकका केही भागमा वर्षौं बित्दासम्म ग्रावेल तथा कालोपत्रे गर्न सकिएको छैन, जबकि भारतसँग सीमा नजोडिएको सोही सडकको बाँकी क्षेत्रमा कालोपत्रे भइसकेको छ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले ग्राभेल गर्न दिइए पनि कालोपत्रे गर्न नदिइएको बताउनुभयो। उक्त पक्षले महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका भारतसँग सीमा जोडिएका भू–भागका वडा कार्यालयले निर्माण गतिविधि बढाउँदा भारतीय पक्षले रोक्ने गरेको छ।

‘सीमा नजोडिएको चौकीको तल र माथि ग्रावेलको साटो कालोपत्रे नै भइसकेको छ। तर, यहाँको २ सय मिटरको सडकमा अहिलेसम्म ग्रावेलसमेत गर्न दिइएको छैन।’ –उक्त प्रहरी चौकीका प्रमुख जयराज जोशीले भन्नुभयो।

सीमाको जिरो प्वाइन्टमा काम गर्न नपाइने भन्दै नेपाली पक्षलाई कालोपत्रे गर्न अवरोध गरिएको थियो। साथै भारतीय पक्षले निर्माणाधीन हुलाकी सडक निर्माण भएको भूमि आफ्नो भएको दाबी गरेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडक खण्डमा कालोपत्रेको कार्य अघि बढ्न सकेको छैन।

भारती सीमा सुरक्षा बल (एसएसबी)ले बखेडा झिकेपछि उक्त सडक खण्डमा कालोपत्रे गर्ने काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिनुभयो। यसै गरी हुलाकी सडकको अन्तिम बिन्दु कञ्चनपुरकै दैजी बजार नजिकको बल्मी खोलामा सडक डिभिजन कार्यालयले पुल बनाउन पहिले नै पिलर खडा गरे पनि थप कार्य अघि बढ्न सकेको छैन।

पुलको थप कार्य अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पूरा गर्नमा समस्या हुने बताइएको छ। कञ्चनपुरको पूर्वी सीमा डोकेबजारदेखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजी बजारसम्म बनिरहेको उक्त सडक ६२ किलोमिटर लामो छ। तीन प्याकेजमा बाँडेर बनाइरहेको कञ्चनपुर हुलाकी सडकको निर्माण कार्य आगामी चैतमा सक्ने लक्ष्य लिइएको छ।

यस्तै पश्चिमी सीमानाका समाप्त हुँदा अर्थात् सीमास्तम्भ नम्बर ८०५/१ (७) सम्म नै सडक ग्रावेल मात्रै होइन, कालोपत्रे समेत गरिएको छ। तर, नेपाली जमिनमा सीमारेखा जिरो प्वाइन्टमा नै कालोपत्रे र ग्राभेल गर्न नपाउने भन्दै काम गर्न नै दिइएको छैन।जिमुवा, गड्डाचौकी तथा दक्षिणी र पूर्वी सीमारेखामा कालोपत्रे गर्न दिएको छैन।

वडा कार्यालयले सीमाको सडकमा कालोपत्रे गर्ने योजना बनाए पनि भारतीय पक्षले गर्न नदिने भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले बताउनुभयो।‘भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यलगायतको टोलीले उक्त सीमा क्षेत्रमा ग्राबेलका लागि पहल गर्न जाँदा एसएसबीको टोली गोली गठ्ठासहित ग्रावेलका लागि राखिएका उपकरणसमेत दादागिरी शैलीमा नियन्त्रणमा लिइयो।

गड्डाचौकी, ब्रह्मदेव र जिमुवा क्षेत्रमा सडक बनाउन भारत सरकारसँग नै पहल। उक्त सीमा विवाद नगरपालिका र सीडीयोका पहल बाहिरको रहेको उपमेयर सिंहले बताइन्। महाकाली सन्धीअनुसार नेपाल सरकारले भारत सरकारसंग पहल गरेमात्रै उक्त क्षेत्रमा भारतीयको दादागिरी रोकिने उनको कथन छ।

तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य भने भारतीय प्रशासन संगको मिटिङमा भारत पक्षले वातावरण सहज गर्छौं भनेर बताउने गरेको, जब ग्रावेल तथा सडक कालोपत्रे गर्नका लागि उपकरणसहितको टोली जादा भारतीय सीमा नापी पश्चातमात्रै सम्भव हुने भन्दै एसएसबीले फर्काउने तथा काम गर्न नदिने गरेको बताउछन्।

‘राष्ट्र स्तरको मुद्दा भएकाले सीमा क्षेत्रका बारेमा नेपाल र भारतका प्रधानमन्त्री बीच वार्ता हुनु आवश्यक छ।’ प्रमुख जिल्ला अधिकारी वैद्यले भने।भारतीयहरूले आफ्नो सवारी साधन राख्ने स्थानका रुपमा प्रयोग गरेका छन्। भारतीय पक्षले आफ्ना सवारी साधन रोक्न नेपाली भूमीका स्थापना गरेका छन्। तर नेपाली पक्षले भारतको पछिल्लो गतिविधिको कुनै प्रतिक्रिया देखाएको छैन।

‘नेपाली भूभागमा नै भारतीय गाडी पार्किङस्थल बनाएर त्यहाँ गाडीहरू राखिएको छ। तर नेपाली पक्षले यसबारे केही बोल्न सकेको छैन।’ स्थानीय गणेश नेपालीले भन्नुभयो–नेपाली भूमी समाप्त रेखा अर्थात सीमा स्तम्भ ८०५/१ (७) को नेपाली भूमीतर्फ भारतीय गाडी रोक्नका लागि प्रयोग भएको छ। त्यहाँ भारतीय नम्बरका गाडी पार्किङ गरेको देखिन्छ।

तर नेपाली पक्षले भारतीय पक्षबाट हुने ज्यादती रोक्न कुनै कदम चाल्न नसकेको स्थानीयबासीको गुनासो छ। भारतले जबरजस्ती नेपाली भू–भाग कब्जा गर्न पटक–पटक दुःख दिने गरेको बताउँदै स्थानीयबासीले भने– ‘कहिले सडक त कहिले घर बनाउँदा सधैँ दुःख दिने काम भइरहेको छ।’ जिमुवाकी स्थानीय निर्मला नेगीले भन्नुभयो, ‘नेपाली पक्षको कमजोरीका कारण सीमामा बस्ने हामी नागरिकले दुःख पाइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्