मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द हुने



न्युज अफ नेपाल, पर्वत । म्याग्दी र मुस्ताङ्गलाई राष्ट्रिय राजमार्ग संग जोडने पर्वतको मालढुंगा –बेनी सडक बन्द हुने समय बिहीबार देखि परिर्वतन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्बपक्षिय बैठकले सडक बन्द हुने समय तालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो ।

भदाै १९ गते बिहीबारदेखि २६ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि दिउँसो १ बजे सम्म सडक बन्द गरिने छ । दिउँसो २ बजे देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि भदौ ५ देखि बिहान १० देखि दिउँसो ४ बजे सम्म सडक बन्द गरिदै आएकोमा दिउँसो १ देखि २ बजे सम्म एक घण्टा सडक सुचारु गर्ने निर्णय भएको हो ।

पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा सडक बन्द गरिदै आइएको छ । कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग(एङ्गकर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुंगा – बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीका नरहरी खड्काले जानकारी दिनुभयो ।

दैनिक साढे ७ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना र हल्का सवारी साधनहरु पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको बैकल्पिक सडक समेत प्रयोग गर्न सकिने छ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठुला सवारी साधनहरु चल्न सक्दैनन ।

थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्