तास खेले र खेलेको हेरेमा कर लाग्ने



न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा जुवातास तथा घरेलु मदिरा बिक्रीबितरण निरुत्साहित गर्ने सहमति भएको छ । स्थानीय डाँडाखर्क टोल विकास संस्था, प्रहरी चौकी, जागरण आमा समूह र वडा कार्यालयले निर्णय कार्यान्वयनमा तदारुकता देखाएका हुन् ।

जाँडरक्सी खाएर सरकारी र गैरसरकारी कार्यालयमा जथाभावी बोल्ने, जहाँ पायो त्यहीं जुवाकै रुपमा तास खेल्नेजस्ता गतिविधि बढेपछि यस्तो निर्णय गरिएको हो । केही दिनअघि आमा समूहले स्थानीयको घरमा तास खेलिरहेका केही युवाहरुलाई तास खेलिरहेकै स्थानमा ताला लगाएर थुनेको थियो ।

जुवातास, जाँडरक्सी र कुरीतिविरुद्ध टोल विकास संस्था र आमा समूहलाई सक्रिय पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।
स्थानीय जागरण आमा समूहले तास खेल्ने, तास खेलेको हेर्ने र घरेलुमदिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्ने गरी प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र टोल विकास संस्थाका पदाधिकारीले प्रतिवद्धता जनाएको वडा अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबारको सर्वपक्षीय बैठकमा निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्