विद्युत प्राधिकरणलाई टुक्र्याउन प्रस्ताव



काठमाडौं । विगतमा प्राधिकरण धरासायी भएर देश ऊर्जा संकटमा फसेको थियो ।सो समयमा प्राधिकरण टुक्रयाउने बहस पनि भएको थियो । त्यसैअनुसार सरकारले २ वटा कम्पनी स्थापना पनि गरेको थियो । तर, पछिल्लो सयममा प्राधिकरणले ऊर्जा संकटको व्यवस्थापन गरेर आफूले निर्माण गर्ने सबै आयोजना पनि कम्पनी मोडलमा लैजाने निर्णय गरिसकेको छ ।

नयाँ आउन लागेको विद्युत ऐनमा विगतको बहसअनुसार नै प्राधिकरणलाई टुक्र्याउन प्रस्ताव गरिएको छ । प्रस्तावित विधयेकमा विद्युतको उत्पादन, प्रसारण, वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेका संगठित संस्थाले ऐन प्रारम्भ भएको मितिले ३ वर्षभित्र विद्युतको उत्पादन, प्रसारण, वितरणका लागि अलग-अलग संगठित संस्था स्थापना गर्नुपर्ने उल्लेख छ ।

हाल रहेको संगठित संस्था प्राधिकरण ले अगल-अलग संस्था स्थापना भएको मितिले २ वर्षभित्र आफ्नो सम्पत्ति र दायित्वको मूल्यांकन गरी सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुपर्ने छ । त्यसपछि बाँकी रहने प्राधिकरणले पनि उत्पादन, प्रसारण, वितरण र ब्यापारमध्ये कुन काम गर्ने हो, त्यसका लागि सरकारसँग छुट्टै अनुमति प्राप्त गर्नुपर्नेछ ।

प्रस्तावित ऐनको दफा १० मा विद्युत उत्पादन, प्रसारण, वितरण वा ब्यापारका लागि एउटै निकाय वा संस्थालाई एकभन्दा बढी प्रयोजनमा अनुमति नदिइने उल्लेख छ । ऐनमा हाल प्रचलनमा रहेको विद्युत प्राधिरकरण ऐनबारे भने केही बोलिएको छैन । ऐनअनुसार प्राधिकरणले सबै काम आफैंले गर्न पाउने छैन ।

सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै सबै कामको जिल्मा लिँदा कार्यसम्पादन कमजोर भएको निश्कर्ष निकालेर यसअघि नै तीन फरक-फरक कम्पनी स्थापना गरिसकेको छ । तर, विद्युत प्राधिकरणका कर्मचारीहरुले चर्को विरोध गरेपछि ती कम्पनीले सक्रिय रुपमा काम गर्न सकेका छैनन् ।

सरकारले प्रसारणलाइन सम्बन्धी काम गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना गरिसेकको छ । यस्तै जलविद्युत उत्पादनको काम हेर्ने गरी विद्युत उत्पादन कम्पनी पनि स्थापना भएको छ । यसमा प्राधिकरणको १० प्रतिशत सेयर लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्