छानबिन समितिको निष्कर्षः संघीय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी



न्युज अफ नेपाल, काठमाडौं ।

संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ।

संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको हो ।

सामान्य प्राविधिक त्रुटी भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको छानबिन समितिले जनाएको छ ।

छानबिन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ।

संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरूको प्रयोजनको लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानबिनका लागि सांसद बिडारी संयोजक तथा सांसदहरू तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेका छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्