बारा–पर्सामा आवास निर्माण कार्य सम्पन्न, हावाहुरी पीडित हर्षित



कृष्णउदास खनाल, वीरगन्ज ।
हावाहुरीले घरवार बिहिन भएका बारा र पर्साका पीडितहरुले करिब पाँच महिनापछि बल्ल आवास पाउने भएका छन् । गत चैत्र १७ गते बारा पर्सामा आएको बिनासकारी हुरीबाट पूर्णरुपमा प्रभाबित भएका घरहरुको पूनर्निमाण सकिएको हो ।

हुरी प्रभाबितका लागी घर निर्माण गर्न बनाईएको जनता आवास कार्यदलको नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी बिनय बिक्रम राणाले सबै पिडितहरुको घर निर्माण करिब सम्पन्न भएको जानकारी दिनुभयो ।

९९ प्रतिशत घरको निर्माण कार्य सकिएकोमा र बुधबार भदौ १८ सम्ममा पीडितहरुलाई घर हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुबै जिल्लाका कुल आठ सय ६९ घरको निर्माण कार्य सकेर केही दिनमा हस्तान्तरण गर्ने तयारी कार्यदलले गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री तथा उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबाट पिडितहरुलाई घर हस्तान्तरण गरिने राणाले जानकारी दिनुभयो। घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २१ चैत २०७५ को बैठकले सेनालाई जिम्मेबारी दिएको थियो।

त्यसको एक महिना पछि गत वैशाख २१ गते उपप्रधानमन्त्री पोखरेल र उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री गरि १२ जनाले बारा र पर्साको १२ स्थानबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गरेलगत्तै सेनाले काम थालेको हो । सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो ।

सरकारले प्रती घर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ ।

कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घर ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले जानकारी दिए । उनका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्