गेष्ट हाउसका कर्मचारीलाई दोस्रो तल्लामाथिबाट खसाल्ने तीन जना प्रहरी नियन्त्रणमा



काठमाडौं । सोमबार मध्यरातमा गेष्ट हाउसको कर्मचारीलाई पाहुना बन्न आएका युवाहरुले दोस्रो तल्लामाथिबाट फालेर घाइते बनाएका छन् । यसरी फालिने कर्मचारी पाल्पा घर भएका विवेक सुनार हुन् ।

कलंकीस्थित नारायणी गेष्ट हाउसमा तीनजना युवाहरु बास बस्न आएका थिए ।एउटा कोठा लिएर बसेका उनीहरुको गेष्ट हाउस कर्मचारीसँग खानाको विषयमा विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा ती पाहुना युवाहरुले मिलेर विवेकलाई झ्यालबाट बाहिर फालेका थिए ।

विवेकको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुग्दा विवेक घाँटीमा तार बेरिएको अवस्थामा सडकमा पछारिएका थिए । विवेकको अहिलेसम्म होस खुलेको छैन ।

विवेक डेढ बर्ष अघिदेखी सो गेष्ट हाउसमा काम गर्दै आएका थिए ।घटनामा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा विजय, निशान र अर्का एकजना रहेका छन् । तीनै जनाको थर भने खुल्न सकेको छैन ।

कलंकी आसपासमा डेरा गरेर बस्ने उनिहरु लागुऔषध सेवनकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्