विमानस्थल बनाउन रुख काट्न नदिने मन्त्रीको अभिव्यक्तिको विरोध



गोकुल घोरसाइने, बारा।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख काट्न नदिने अभिव्यक्ति दिने प्रदेश नम्बर २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको निजगढमा विरोध भएको छ।

निजगढ सरोकार समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा वक्ताहरूले मन्त्री रायको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै फिर्ता लिन माग गरेका छन्। सम्मेलनमा बोल्दै नेकपाका नेता पुरुषोत्तम पौडेलले वातावरणको नाममा अनावश्यक हल्ला चलाएर परियोजनालाई असफल पार्ने षड्यन्त्र भइरहेको भन्दै विमानस्थल निर्माणको लागि निजगढका जनताको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा फास्टट्याक एयरपोर्ट निर्माण मुल समितिका संयोजक रविराज दंगालले विमानस्थलन निर्माण हुन नदिन भएका चलखेल तोड्दै नेपालीको भाग्य र भविष्यसंँग जोडिएको आयोजना सफलताको लागि दबाब अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। त्यसैगरी कोल्हवी सरोकार समितिका संयोजक ढुण्डिराज उप्रेतीले परियोजना प्रदेश नम्बर दुईको निम्ति सुनको अण्डा पार्ने कुखु्राजस्तै भएको बताउनुभयो।

समितिका संयोजक एकबहादुर श्रेष्ठले फास्टट्याकको नाका भएको र वीरगन्ज तथा काठमाडौंसंँग समेत नजिक भएकाले निजगढमा नै विमानस्थल बन्नुपर्ने बताउनुभयो। कार्यक्रममा टांगियावस्ति सरोकार समितिका संयोजक रमेश सापकोटाले समेत बोल्नुभएको थियो।

यसैबीच पत्रकार सम्मेलनमा निजगढ सरोकार समितिले जारी गरेको विज्ञप्तिमा मन्त्री रायले अभिव्यक्ति फिर्ता लिनुपर्ने अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। मन्त्रीको अभिव्यक्तिपछि आक्रोसित निजगढका सर्वसाधारणले आइतबार साँझ पूर्व–पश्चिम राजमार्गको शहीद चोकमा रायको पुत्ला दहन गरेका थिए।

अहिलेको प्रस्तावित क्षेत्र टागियावस्तिमा विमानस्थल बनाउन आवश्यक पर्ने रुख काट्न नदिने र प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गरेर विमानस्थल बनाउनुपर्ने धारणा सार्वजनिक गरेपछि मन्त्री रायको विरोध शुरु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्