डेंगुबारे महत्वपूर्ण जानकारी



डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो एक प्रकारको ज्वरो हो। डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी ४ प्रकारको हुन्छ। एडिस लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेता थोप्ला पनि देखिन्छ। यो रोग ग्रामीण भेगभन्दा शहरी क्षेत्रमा बढी फैलिएको पाइन्छ।

डेंगु सार्ने लामखुट्टेले पानी जमेको सानो स्थानमा फुल पार्छ। खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टीतेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकी आदिमा यसले फुल पार्छ। यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ।

लामखुट्टेजन्य अन्य रोगहरू सार्ने लामखुट्टे फोहोर पानी, हिलो, जमेको पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टे भने ४–५ दिनदेखि जमेको सफा पानीमा नै फुल पार्ने गर्छ। डेंगु रोग क्लासिक डेंगु, डेंगु हेमरेजिक साक सिन्ड्रोम हो। समयमै उपचार नपाए शरीरको विभिन्न अंगबाट रक्तश्राव भई मानिसको तत्काल मृत्यु हुने सम्भावना हुन्छ।

डेंगुको संक्रमण लामखुट्टेबाट नै हुने गरेको डाक्टरहरू बताउँछन्। एक्कासि ज्वरो आउनु र ज्वरो आएपछि ५–६ दिनसम्म निको नहुनु नै डेंगुको लक्षण मानिएको छ। बिस्तारै ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरूचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने, रगतमा दाग देखिने, डाबरहरू आउनेजस्ता लक्षणहरू देखा पर्छ।

यति मात्र नभई पेट, छाला, आन्द्रा आदिबाट असामान्य रक्तश्राव हुन सक्ने पनि डाक्टरहरू बताउँछन्। डेंगु लागिसकेको बिरामीलाई असाध्यै कमजोरी महसुस हुने, भोकसमेत कम लाग्नेजस्ता समस्या देखा पर्छन्। सेतो रगत (प्लेटिलेस) को मात्रा अत्यधिक कम हुन्छ। डेंगु भाइरस विश्वमै २ सय वर्षपहिले अफ्रिकामा भेटिएको विज्ञहरू बताउँछन्। उक्त भाइरस अफ्रिकामा पानीजहाजमा काम गर्ने कामदारमा देखा परेको थियो।

१९ औं शताब्दीमा भएको दोस्रो विश्वयुद्धपहिले अफ्रिकामा सीमित उक्त भाइरस दोस्रो विश्वयुद्धताका युद्धमा होमिएका सिपाही, सामान ओसारपसार गर्ने मानिसहरूबाट बिस्तारै अमेरिका, जापानजस्ता देशमा सर्न पुग्यो। पानीजहाज स्टेसनहरूमा व्यापक फैलिएको डेंगुले अन्य देशका धेरै मानिसलाई समेत संक्रमित गराएको इतिहास हामीले पढ्दै र सुन्दै आएका छौँ।

१९६८ मा भिएतनाममा प्रकोपकै रूपमा देखा परेको डेंगुले करिब ४ लाख मरेका थिए। त्यस्तै पेरुमा पनि १९४७ मा देखा परेको थियो। बिस्तारै भारतको सिमाना क्षेत्रहरूबाट अन्य छिमेकी देशहरूलाई खतरामा पारेको विज्ञहरू बताउँछन्। यसबाहेक चीन, क्याम्बोडिया, लाओस, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुरमा पनि डेंगुले महामारीको रूप लिइसकेको छ।

विश्व स्वास्थ्य सगंठनका अनुसार संसारभरमा साढे २ अर्ब मानिस डेंगुको जोखिम रहेको क्षेत्रमा बसोबास गर्छन्। त्यस्तै वार्षिक झन्डै २४ हजार मानिसको डेंगुको कारण मृत्यु हुने गरेको छ। नेपालमा भने पहिलोपटक सन् २००४ मा चितवनमा डेंगु देखा परेको थियो। अहिले डेंगु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शहरी क्षेत्रमा व्यापक फैलिएका समाचार आइरहेका छन्। केही दिनअघि मात्रै भक्तपुरका स्वास्थ्यकर्मीलगायत १२ जनालाई डेंगु लागेको खबरले आमनेपालीमा त्रास फैलिएको छ।

डेंगु ज्वरो भाइरसको कारण हुने र यसको खास उपचार नहुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। कसैलाई उच्च ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ पुगी परामर्श लिइहाल्नुपर्छ। बिरामी समयमै चिकित्सककहाँ पुगेको खण्डमा चिकित्सकको पूर्ण निगरानीमा रोगले निम्त्याउने जटिलतालाई कम गरी निको पार्न सकिन्छ।

यस्तै आफ्नो घरवरिपरि सफा राख्ने, पानी जम्ने खालका खाल्डाखुल्डी पुरिहाल्ने र पानी जम्ने भाँडा, गमला, फूलदानी, खालि बट्टा, मट्टीतेलका खालि ड्रम, गाडीका टायरहरूमा पानी जम्न नदिएमा डेंगुको संक्रमणबाट बच्न सकिन्छ।
– सरला क्षत्री,

नयाँ बानेश्वर, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्