समाज विकासमा महिला सहभागिता अपरिहार्य



समाज गतिशील र परिवर्तनशील छ। परिवर्तनशील समाजलाई मुलुक र समाजको समग्र विकाससँग जोड्नका लागि राज्यले लिने प्रभावकारी नीति, कार्यक्रम र योजनाले धेरै हदसम्म काम गर्दछ। समाजलाई विकासको र आर्थिक समृद्धिको गति दिनका लागि र मुलुकको समग्र विकासका लागि सबैको सहभागिता हुन जरुरी छ। महिला र पुरुषको उच्च सहभगिताले नै समाजको विकास हुन्छ।

यस्तै सामाजिक कार्यमा महिला–पुरुषको संलग्नताले मुलुकको विकासमा कस्तो टेवा पुग्छ भन्ने कुरा हामीले भोग्दै र जान्दै आएका छौँ। नेपालको सन्दर्भमा भन्नुपर्दा राज्यको मूलधारमा अहिले पनि पुरुषहरूको वर्चश्व छ। जसले गर्दा सबै क्षेत्रको विकासमा एकरूपता आउन सकेको छैन। विभेदयुक्त समाजमा महिलावर्ग थिचिएका छन्, हिंसामा परेका छन्। जसका कारण समाज विकासक्रममा महिलाहरूको सहभागिता हुन पाएको छैन।

जताततैबाट प्राप्त बलात्कार र आत्महत्याका घटनाले महिलाहरूमा विकासका कामहरूमा निरुत्साहित बनाएको छ। मुलुक दिन–प्रतिदिन विपन्नताको खाडलमा रुमलिएको छ। यी र यावत् कुराहरूलाई विश्लेषण गरी समाजमा रहेको लैंगिक हिंसाकै कारण समाजको विकासक्रम मन्द भएको ठहर गर्दै राज्यले सिंगो मुलुकलाई हिंसामुक्त बनाउन विभिन्न कार्यक्रमहरू गरिरहेको छ। यससम्बन्धी काम गर्ने अधिकारकर्मीहरूले समेत आ–आफ्नो तवरबाट हिंसामुक्त समाज निर्माणका लागि भूमिका खेलिरहेका छन्।

समाजलाई हिंसामुक्त बनाउनका लागि पछिल्ला दिनहरूमा अभियानकै रूपमा विभिन्न कार्यक्रमहरू हुने गरेका छन्। जति औपचारिक कार्यक्रम भए पनि व्यावहारिकरूपमा सुधार भएको पाइएको छैन। समाजलाई हिंसामुक्त बनाउनका लागि जसले जस्तो भूमिका निर्वाह गरे पनि यस्तो अभियान आफूबाट, आफ्नो घरबाट शुरू गर्न सके मात्र समाज हिंसामुक्त बन्न सक्छ।

समाजमा पछिल्ला दिनहरूमा हिंसाका रूपहरू फेरिएका छन्। केही वर्षअगाडि जस्तो महिलामाथि चरम हिंसा भएको हाल खासै सुनिदैन। अहिले मानसिक हिंसाहरूका कुरा बढी बाहिर आएका छन्। हिंसाका कुराहरू गरिरहँदा स–साना हिंसाका रूपहरूलाई पनि निराकरण गर्नका लागि सबैले आफैंबाट शुरू गर्नुपर्छ। हिंसामुक्त समाज निर्माणका लागि आफूलाई बदल्न जरुरी छ। हिंसाले सधैँभरि विध्वंशलाई नै टेवा पु¥याउने गर्दछ।

यस अर्थ श्रीमान्ले श्रीमतीलाई, परिवारले छोरीलाई, सासूले बुहारी वा बुहारीले सासूलाई विभेद गर्दा त्यहाँ भएको हिंसाले सो परिवारलाई कमजोर बनाउँछ। परिवार कमजोर हुँदा समाज हुँदै देश मन्दविषको सिकार हुन पुग्छ। यही कुरा कुनै परिवारमा पुरुषमाथि पनि महिलाहरूले गरिरहेका हुन्छन्।

क्षणिक आनन्द वा आवेगलाई शान्त बनाउन हिंसा गर्दा सबैलाई घाटा पुगिरहेको हुन्छ। यही कुरा अहिले नेपालमा जन्मने सबै नेपालीले बुझ्नुपर्छ, हृदयबाट नै हिंसामुक्त व्यक्ति बन्न सक्ने जागरण चलाउनुपर्छ अनि मात्र समतामूलक समाज निर्माण हुन सक्छ।

यस्तो समाज निर्माण भएमा देशले उल्लेख्य प्रगति गर्न सक्छ। जनता हर्ष, उमंग, सुखसयलका साथ जीवनयापन गर्न सक्छन्। मुलुकको समृद्धिका लागि हिंसामुक्त समाज अपरिहार्य छ। हिंसा हुन नदिनका लागि सबैले आफूबाटै शुरूवात गर्नुपर्छ।

– भावना केसी, तान्सेन, पाल्पा।

प्रतिक्रिया दिनुहोस्