अँध्यारो सडक



सडकलाई सुरक्षित बनाउन रातिको समयमा मुख्य सडकहरूमा सडक बत्ती अनिवार्य आवश्यकता हो। सडक आसपासमा बत्ती नहुँदा दुर्घटना हुने खतरा उत्तिकै हुन्छ। सडक निर्माण गर्ने क्रममा नै सडक बत्तीको परिकल्पना गरिएको हुन्छ। रातको समयमा सडक सुरक्षित होस् भन्ने उद्देश्यले यसको निर्माणकै बेला योजना बनाइएको हुन्छ।

सडक दुर्घटना न्यूनीकरण गर्ने, सडक पार गर्ने यात्रुलाई सहज बनाउने प्रयोजनका लागि मात्र होइन सौन्दर्य अभिवृद्धिका लागि पनि रातको समयमा सडक उज्यालो हुनुपर्छ, यसका लागि सडकबत्तीको व्यवस्थापन हुनैपर्छ। तर, हामीकहाँ राजधानीकै सडकका सयौं मोडहरू अँध्यारा छन्, बत्ती नै जडान भएका छैनन् वा भएका बत्तीको पनि मर्मत नहुँदा काम गर्दैनन्।

सामान्यतः सरकारले सडकको दायाँ–बायाँ सडक बत्ती पनि राख्ने काम गरेको छ। केही ठाउँमा सोलार बत्ती राखिएको छ भने कतिपय स्थानमा बिजुलीबाटै बल्ने सडक बत्ती राखिएको छ। सडकको दायाँ–बायाँ राखिएको सडकबत्ती वर्षौंदेखि बल्दैनन्। विशेष गरी स्थानीय सरकारले नै सडक बत्ती जडानको काम गर्दै आएका छन्।

सडक बत्ती जडान गर्न दातृ निकायले सहयोग पनि गर्दै आएका छन्। एकपटक जडान भएपछि त्यसको उचित मर्मत सम्भार हुन नसक्दा सरकारको करोडौंको लगानी बालुवामा पानी जस्तै भएको छ। काठमाडौं उपत्यका अधिकांश क्षेत्रमा अहिले सडक बत्ती बल्दैनन्। सडक बत्ती जडान गर्ने तर मर्मतमा ध्यान नदिने परम्परा नै बनिसकेको छ।

यतिसम्म कि उपत्यकाकै ठूलो सडक मानिएको कलंकी–कोटेश्वर सडक सञ्चालनमा आएको लामो समय बितिसक्दासमेत सडक बत्ती जडान हुन सकेको छैन। यसकै कारण उक्त सडकमा रातको समयमा तीव्र गतिमा सञ्चालन हुने सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्।

तीनकुने–सूर्यविनायक सडक खण्डको अवस्थामा उस्तै छ। सडकको दायाँ–बायाँ र बीच भागमा सडक बत्ती जडान गरिएको छ। तर, अधिकांश सडक बत्ती बल्दैनन्। दैनिक हजारौंको संख्यामा सवारीसाधन सञ्चालन हुने सडकको सुरक्षाका लागि राज्य गम्भीर नभएको प्रतीत हुन्छ। सडक किनारमा सवारीसाधनको ठक्करबाट ढलेका सडक बत्तीको पोलसमेत समयमा उठाइएको देखिन्न।

सडक बत्तीको प्रयोजनका लागि राखिएका सडक बत्तीका पोलहरू अहिले विभिन्न कम्पनीको विज्ञानपन गर्ने थलोका रूपमा प्रयोग हुन थालेका छन्। यस सम्बन्धमा स्थानीय सरकार वा राज्य पक्षलाई मात्र दोषी देख्न भने मिल्दैन।

सार्वजनिक सम्पत्तिप्रति आम नागरिकको अपनत्व र सम्मान भाव पनि उत्तिकै आवश्यक छ। हामीकहाँ आज पनि सार्वजनिक सम्पत्तिलाई सरकारी वस्तुका रूपमा लिने र मिले तोडफोड नै गर्ने नभए पनि संरक्षणका लागि प्रयास नगर्ने विडम्बनापूर्ण मनोविज्ञान कायम छ।

खास गरी केही राजनीतिक दल त आन्दोलन गर्नुपर्यो कि यस्ता सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने कार्यले बद्नाम पनि छन्। यसरी हेर्दा, सरकार र नागरिक दुवै मिलेर सडक बत्तीजस्ता सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु आवश्यक छ। देशभित्र लोडसेडिङ हटेको अवस्थामा, सोलारमा मात्र भर नपरेर, अब बिजुली बत्तीबाटै सडक बत्ती बाल्नतिर पनि ध्यान दिने हो कि ?

प्रतिक्रिया दिनुहोस्