पुँजीवादले निमोठेको पर्व तीज



प्राचीनकालदेखि मनाइँदै आएको हिन्दू पर्वहरूमध्ये तीज पनि एक हो। वास्तवमा महादेवलाई पति पाउनका निम्ति पार्वतीले खेपेका दर्जनौं हन्डर, गरेका स्तुति र प्रार्थना तथा निराहार उपवास बसेका वृत्तान्तको समष्टिरूप नै हो तीज। यो पर्व जति धेरै धार्मिक छ, त्योभन्दा बढी नारीहरूले पुरुषको दासत्व स्वीकारेको अवस्थाको द्योतक पनि हो। भनिन्छ, यो त्यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ। हुन त यथार्थको कसीमा यो गलत साबित भएको छ।

त्यसो त सनातन हिन्दू परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ। एकातिर अधिकांश पर्वमा नारी शक्तिलाई नै आदि शक्ति र मातृशक्ति भन्दै पूजा–अर्चना गर्ने प्रचलन छ। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’, अर्थात् जहाँ नारीको पूजा गरिन्छ त्यहाँ देवताहरू विचरण गर्छन्। अर्कोतिर तीजजस्तो पर्वमा आफ्नो पतिलाई भगवान् मानेर पुज्ने र उसैको चरण पखालेर जल अचाउने परम्परामा झन् बढोत्तरी हुँदै गएको देखिन्छ। यस्तो हुनुको मुख्य कारण पतिलाई देव मान्ने अर्थात् पति देव हो भन्ने बुझाइ नै हो।

संस्कृतिलाई मानवनिर्मित प्रकृति मान्ने हो भने परम्परागत पर्वबाट एकाएक विमुख हुन न ठूलो समूहले स्वीकार्छ, न आमजनताको नजरमा सान्दर्भिक देखिन्छ। तर हाम्रा पर्वहरूबारे अनेक धार्मिक कहानी र कहावत जोडेर यसको महत्व र आवश्यकता तथा यसबाट हुने फाइदाबारे कपोलकल्पित अन्धविश्वासी व्याख्या, विश्लेषण जति धेरै गरिएको छ, त्यस अनुपातमा यसमा गर्नुपर्ने परिमार्जनबारे यथोचित बहस गरिएको देखिन्न।

वास्तवमा परिवर्तित सन्दर्भ र समयसापेक्ष बहसको उठान भए मात्र यस्ता पर्व मनाउनुको उपयुक्तता, सहजता, उपादेयता र आवश्यकता वा औचित्य पुष्टि हुन सक्छ र समयानुकूल परिमार्जनबारे पनि जनमानसलाई एकमत गर्न सकिन्छ। औचित्यको बहस नहुनु भनेको वा बहसको निषेध गर्नु भनेको समयक्रममा पर्वलाई अलोकप्रिय बनाउनु हो। समयमै ध्यान पुगेन भने तीज पनि पहिले महिलाहरू मनाउँथे भन्ने कुरा मात्रै बाँकी रहनेछ।

समाज विकासको अनेक चरण पार गर्दै निर्माण भएको हुन्छ। संस्कृति जसलाई परित्याग गर्न जनमानस हतपत तयार हुँदैन। विकल्प भएमा सहजता हुन सक्छ भन्ने मत राख्नेहरूदेखि एउटा नभत्काई अर्को निर्माण हुनै सक्दैन भन्नेहरूबीच मतैक्य छैन। सर्वसाधारणले मानिरहेका पर्वहरू ‘युद्धको बेलामा बुद्धको पुराण’ प्रतीत भए पनि विकल्पसहित तयार हुन्छन् भन्ने धारणा पनि उत्तिकै बलशाली छ।

फेरि एउटा चरणमा पर्वहरूले निकै सकारात्मक योगदान गरेको र परोक्षरूपमा अहिले पनि तिनको औचित्य धेरै थोरै हामीले देखिरहेकै छौं। तीजकै दृष्टान्त दिने हो भने पनि समाज परिवर्तनमा तीजमा गाइएका गीतले उल्लेख्य जनजागरण ल्याएको र पुरातन समाज रूपान्तरणमा किञ्चित भए पनि भूमिका निर्वाह गरेको कुरा नकार्न सकिन्न। जहाँसम्म तीजको परम्पराको धार्मिक पाटो छ, यो भने महिलाहरूलाई चरणकै दास बनाउने खालको छ।

तीज अनगिन्ती बुहार्तन झेलेर पनि पतिको सुस्वास्थ्य, दीर्घायु तथा प्रगति, समृद्धिको कामना गर्ने चाड हो। यसको जरासम्म पुग्ने हो भने महिला दासी र पुरुष मालिक हो भन्ने पुरातन मान्यतालाई स्थापित गराइराख्नु र मलजलसमेत गर्नु भन्नुमै छ तीजको मूल मर्म। तीजमा गाइने अधिकांश गीतहरूले पनि सासू, नन्द, भाउजू आदिले दिएका शासना मात्र अभिव्यक्त गर्छन्, तर पुरुष उत्पीडनबारे मौन देखिन्छन्। यस्तो भान हुन्छ– नारीको शत्रु नारी नै हो। पुरुषचाहिँ पानीमाथिको ओभानो।

पूँजीवादले निमोठेको घाँटी, सामन्तवादको पतनसँगै त्यसले गर्ने गरेका कुकार्यको जिम्मा विकृत पूँजीवादले लिएको छ। हिजो दास बनाइएका चेलीहरू घरायसी चौघेराबाट बाहिर त आएका छन् तर उनीहरूलाई जीवन चलाउने माध्यम मात्रै बनाइएको छ। जुन कुरा ठूलो महिला जनमतले मनन गर्न सकेको छैन। द्रव्यभन्दा माथि दया छैन भन्ने मान्यता समाजमा प्रतिस्थापित गर्नु र हरेक वस्तुलाई सौदा वा द्रव्यमा परिणत गर्नु पूँजीवादको मूल ध्येय हो। भावना, माया, मानवता, सम्बन्ध, अफ्नो, बिरानो भन्ने कुरा पैसामा लगेर जोडिदिने काम गरेको छ।

यति बेला हाम्रो समाजमा छोराछोरी, पतिपत्नी, आमाबुबा, साथीभाइलगायत सबै नाता बलियो र प्रगाढ बन्ने वा कमजोर भई औपचारिकतामा सीमित रहने कुरा पनि पैसाले नै तय गर्न थालेको छ। पैसा दिनुस् सबै खुशी, नदिनुस् अनावश्यक मनमुटाव बढ्दै गएको देखिन्छ।

तीज पनि एउटा पूँजीवादको नग्न प्रदर्शनका रूपमा अघि आएको छ। एकातिर महिलाहरूले आफ्ना गहना–गुरिया प्रदर्शन गरेर गौरवशाली महसुस गर्ने र तिनका पति वा परिवारका सदस्यहरू त्यसैमा गर्व गर्ने परम्पराले मलजल प्राप्त गर्दै आएको छ भने सञ्चारमाध्यमहरू तिनैका तस्वीर तथा भिडियो कैद गर्न र प्रचार गर्न व्यस्त छन्। नागपञ्चमीदेखि नै पार्टी प्यालेस र रेस्टुराँमा मदिराका प्यालासँग झुम्ने महिलाहरूद्वारा अपहरित भइसकेको तीजले नारीको पीडा, वेदना, रोदनलाई गीतद्वारा अभिव्यक्त गर्ने प्रचलन क्रमशः लोप हुँदै गएको छ।

दशैं पन्ध्र दिन मनाइन्छ, तिहार पाँच दिन मनाइन्छ भने तीज कति दिन मनाइन्छ भन्ने सवालले सामाजिक सञ्जालका भित्ताहरू पोतिएका छन्। कसै–कसैको त पैसा उठाएर पार्टी आयोजना गर्ने धन्दा नै चलेको छ। भ्रष्टाचार, ठगीधन्दा गर्नका निम्ति यसले अभिप्रेरित गरेको छ भने तिनैको शानशौकत बढाउने र कालोधनलाई उकास्ने काम पनि भएको छ। तीजलाई बैसाखी बनाएर, पूँजीवादले आफ्नो बजार विस्तार गर्ने एउटा उत्तम अवसर बनाएको छ। शहरभरि दर्जनौं कार्यक्रम गरिन्छ तर ती सबैमा केही सम्भ्रान्त महिलाको अनुहार उपस्थित देखिन्छ।

शिव–पार्वतीको किंवदन्तिसँग जोडिएको यो अन्धविश्वासी परम्परा यतिकै समाजबाट बिदा हुनेवाला छैन। बरु हिजोआज केसम्म भन्न थालिएको छ भने, पुरुषहरूले पनि तीज मनाउँदा हुन्छ। तीजको पक्षमा तर्कभन्दा कुतर्क नै बढी दिएर भए पनि यसलाई मनाउन शायद छाडिन्न। तर जसले एक दशकभन्दा बढी सामाजिक विकृति र विसंतिविरुद्ध निर्मम संघर्ष गरे, माक्र्सवादका मोटा–मोटा ठेली पढे, तिनीहरूसमेत यही भुलभुलैयामा परिराखेका छन् र सामन्तवादले तयार गरेको दलदलमा फसिरहेका छन्।

जुन मूल्य, मान्यताविरुद्ध हजारौ उत्सर्ग भए, तिनै बलिदानपूर्ण इतिहासका निर्मातालाई तिनैका गुरुहरूले अपमान गरिरहेछन्। यो एउटा रूपान्तरणको अभियानविरुद्ध भद्दा मजाक हो। हामी बीच देखिएको विभेदको गुढ रहस्य पत्ता लागिसकेपछि त्यसको निराकरणका निम्ति पाइला चाल्न नसक्नु नै अहिलेको मूल समस्या हो। उदारवादी हुने नाउँमा भुइँको टिप्न खोज्दा पोल्टाको खसेको हेक्का नभएका मानिसहरूले अझै आफ्नो तेजोवध कति गर्ने हो ?

पैसा र पदको पछाडि भागेर, मन्त्रीलाई कालो झन्डा देखाउनेलाई थुनामा लग्नुभन्दा समाजवाद उन्मुख संस्कृति र पर्व निर्माणमा जुट्नुपर्छ दुई तिहाइको सरकार। होइन भने तीजजस्तै अन्य धार्मिक परम्परामा विकृति नफैलेला भन्न सकिन्न। भनिन्छ, हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात।

समाजवाद उन्मुख राज्यको क्रियाकलाप भाषणमा होइन, व्यवहारमा देखिनुपर्यो। अनि मात्र यत्रो ठूलो शक्तिले आर्जेको सरकारको औचित्य पुष्टि हुनेछ। केवल होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाइने उर्दी जारी गरेर कर्तव्य पूरा हुँदैन। यसको लागि अहिलेबाटै विचार गर्नु अत्यन्तै जरुरी छ।

– विश्वास अर्याल,
टोखा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्