तीज



टीका खनाल

तीजै आयो भन्छन् न खुसी न हर्ष
सधंै आउँछ यो फेरि आयो यस वर्ष
नयाँ के छ नौलो पुरानै छ जे छ
मनाउनै पर्ने अनिवार्य के छ ?

महिनौं अघिदेखि ढाचा गरेर
सबारी चलेको नखरा गरेर
लुगा र गहना नयाँ चाहिएको
कमाइ कति हो चोखो–बिटुलो

ऊभन्दा ऊ राम्री हुनुपर्छ भन्ने
कुनैभन्दा कोही कमी छैन गन्ने
धनीका घरैमा सबैको नशा भो
गरिबहरूमा सधैं यो दशा भो

ती व्यञ्जन अनेकौं पकाएर खाना
सबै ठाउँ चल्छन् नि गाना–बजाना
नरुचे पनि त्यो सबै खानुपर्ने
भ्याए–नभ्याए पनि जानुपर्ने

 

चलन यो कसोरी फरक भो अहिले
सबैमा ठिकै थ्यो पहिले पहिले
कुरीति नभई यो रीतिमै मनाऔं
खुसीसाथ संस्कार चलोस् ठाउँ ठाउँ

प्रतिक्रिया दिनुहोस्