सिन्धु–सभ्यताका शिव



आज हरितालिका तीज। हिन्दु धर्ममा आस्था राख्ने मातृजाति शिव वा रुद्रको भक्तिमा समर्पित हुने दिन। आखिर किन गर्ने त रुद्र वा शिवको आराधना ? यसको जबाफका लागि मुहानतिरै फर्केर अध्ययन गरौं। ऋग्वेदमा शिवको आराधना कसरी गरिएको छ त ?

ऋग्वेद संहितामा रुद्रसम्बन्धी बशिष्ट सूक्तमा धनुर्धरी अजेय, तीक्ष्ण आयुध धारण गर्ने रुद्रले हाम्रो प्रार्थना सुनून्, पृथ्वी र अन्तरिक्षमा घुम्ने तेजोमय विद्युतीय शक्तिले हामीलाई नष्ट नगरोस् भनिएको छ।

हामीलाई रोग–व्याधीले ग्रस्त नपारोस्, हजारौं औषधीका ज्ञाता हे रुद्र हाम्रा पुत्र–पौत्रादिलाई नष्ट नगर, हाम्रो हिंसा नगर, तिम्रो क्रोधका भागी हामी नबनौं, हाम्रो रक्षा गर, इत्यादि भनिएको छ।

यस्तै ऋक् सूक्तमा कुत्सआङिरस ऋषि रुद्रको स्तुति गर्दै भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौं। यस गाउँका सबै प्राणीहरू निरोगिताका साथ पुष्ट रहून्, दोपाया चौपाया सुखी रहुन्। हे रुद्र, दया गर, सुखी बनाऊ।

हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ। महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर वर्णन गरिएको छ। महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए।

पौराणिक कथानुसार महाभारतको युद्वपछि पाण्डवहरूले भगवान कृष्ण र भीष्मसँग युद्वमा आफन्तहरू मृत्यु गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछि गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाए र पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए।

पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लिएर भैंसीको बथानमा लुकेर बसे। पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिनभित्र धासिए। यसरी शिवजी जमिनमा धासिएपछि भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा आजको भारतमा पर्ने केदारनाथमा शिव भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भए।

यसरी पाण्डवहरूले पशुरुपी शिवको पुछर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए। यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो।एक अर्को कथा अनुसार भगवान शिवले मृगको रुप लिएर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए। यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो।

लिङ्ग पूजा किन ?

आर्य सभ्यताले प्रजनन शक्तिलाई उच्च सम्मान दिएको छ। लिङ्ग पूजाले प्रजनन शक्तिको उपासना गरेको हो। सिन्धु सभ्यता तथा वेविलोन सभ्यतालाई समेत पछ्याउँदै लिङपूजा गर्ने गरिएको बताइन्छ।

पशुपतिको नित्य पूजा

पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मातहतमा रहेको छ। पशुपतिक्षेत्रका मन्दिर, मूर्ति तथा अभिलेखहरू राख्ने, पशुपतिक्षेत्रको संरक्षण, संवद्र्धनका प्रयास गर्ने,

पशुपतिनाथ मन्दिरको पूजा–आजा आदि सामान्य दैनिकी कार्य गर्ने जिम्मेवारी पशुपति विकास कोषको हो।
हरेक बिहान ४ बजे भट्टद्वारा पशुपतिनाथको जागा गरिन्छ। भट्टले पशुपतिनाथको स्नान गराउनुका साथै सरसफाइ गरेर सफा लुगा फेराउने काम हुन्छ। त्यसपछि बालभोग (हलुवा) को भोग दिइन्छ।

सधैं, १ बजेदेखि २ बजेसम्म विषेश पूजा हुन्छ। त्यस्तै सांँझ ५ः३० बजे बेलुकाको आरती हुन्छ। विषेश दिनबाहेक सामान्यतया ६ बजे साँझ मन्दिर बन्द हुन्छ।

भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा

पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा जुलाई २०१४ मा पशुपतिनाथको दर्शन गर्नुभयो। भारतका प्रख्यात अभिनेता, गायक, अभिनेत्री र थुप्रै व्यक्तित्वहरूको भ्रमणले पशुपतिनाथको चर्चा बढाउने गरेको छ।

पछिल्लो महाभूकम्पमा पशुपति क्षेत्र पनि प्रभावित भयो। भूकम्पले आराध्य देवको वासस्थान कति क्षति भयो भनेर हेर्न आउने स्वदेशी तथा विदेशी भक्तहरू पनि थपिए। विक्रम संवत २०७२ वैशाख १२ गतेको महाभूकम्पमा पशुपतिनाथ मन्दिर क्षेत्रका देवलहरूमा क्षति पुगेको थियो।

विक्रम संवत २०७२ वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७ दशमलब ८ रेक्टर स्केलको महाभूकम्पमा पनि मूल मन्दिर भने सुरक्षित रह्यो।

नित्य आरती

पशुपति क्षेत्रमा साँझमा हुने आरती उत्सवमा स्वदेशी–विदेशी नागरिकको भीड बढ्नथालेको छ। मन्दिरभित्र गरिने आरती गैरहिन्दुका लागि पहुँचभन्दा बाहिर भएको अवस्थामा पशुपतिनाथ भन्दिरको पूर्वतिर वागमती नदी किनारमा हुने आरती कलात्मक छ। छिमेकी भारतको हरिद्वार, काँशी बनारसआदि क्षेत्रमा पनि यसरी नै आरती गरिन्छ। धार्मिक र सांस्कृतिक विश्वासलाई कलात्मक रुपमा प्रस्तुत गरिने आरतीले सबै खालका पर्यटक बढाउन सघाएको छ।

देशका ७७ वटै जिल्लामा विभिन्न देव–देवलमा हरितालिका तिजमा ब्रतालु महिलाहरू ठूलो संख्यामा उपस्थित भै पूजा–अर्चना गर्नुका साथै गीतका माध्यमबाट आफ्ना मनका भावना पोख्दै नाचगान गरेर हरितालिका तिज मनाइरहेका छन्। तर, नेपालका भक्तहरूका लागि आजको दिन पशुपतिनाथ क्षेत्र सर्वाधिक महत्वको गन्तव्यका रुप मा रहेको छ।
काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपतिनाथको मन्दिर उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो।

यो मन्दिर बागमती नदीको किनारमा २ सय ४० हेक्टर जमिनमा फैलिएको छ। सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ।

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेकै कारण हिन्दु महिलाहरूको महान चाड हरितालिका तिजका दिन पानीसम्म नखाई निलाहार ब्रत बसेर लाखौं महिला पशुपति नाथको दर्शन गर्न राति १ बजे देखि नै लामबद्ध हुनेगर्दछन्।

पशुपति नाथको दर्शन गर्दा शिव भगवानले सोचेको कुरा पूरा गरिदिने विश्वास रहेको छ। तीजको ब्रत महिलाहरूले आफ्नो अधिकार र स्वतन्त्रताका रुपमा पनि लिने गरेको पाइन्छ। परापूर्वकालमा पार्वतीले महादेव वर पाऊँ भनी बाबा–आमासँग बिद्रोह गरेर जंगलमा गई तपस्या गरी महादेव प्राप्त गरेको बताइन्छ।

पशुपति विकास कोषले हरितालिका तिज र शिवरात्रीमा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति, बच्चाका आमाहरूका लगि विशेष व्यवस्था गर्दै आएको पाइन्छ। कहिले टिकट सिष्टम त कहिले स्वयमसेवकहरूद्वारा निगरानी राख्ने सम्मका व्यवस्था हुँदै आएको पाइन्छ।

साथै राज्यले यी दिनहरूलाई विशेष प्राथमिकतामा राखी विशेष सुरक्षा व्यवस्था, स्वास्थ्य सेवा लगायतको व्यवस्था गरेको हुन्छ। हरेक दिन विशेष मानिने पशुपति नाथमा यीबाहेक कात्तिक पूर्णिमाका दिन मृतक आफन्तका नाममा रातभरि बत्ती बालेर सद्वीज छर्ने, बिहान सबेरै नृत्य कर्म गरेर पितृका नाममा चतुर्मास श्राद्ध गर्ने गरिन्छ। यी विशेष पर्व तथा मेलाहरूमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको हुन्छ।

अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थितिले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालयजस्तै देखिन्छ। यहाँ पूजापाठका साथै अवलोकन गर्न आउँने पर्यटकहरूको पनि उत्तिकै घुइँचो लाग्ने गर्दछ।

तीजका दिन पशुपतिनाथको दर्शन गर्न पाउनुलाई महिलाहरू भाग्यमानी भएको महसुस गर्दछन्। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिखआदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ।

पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल अखडा पनि रहेका छन्। जन्मदेखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ।

प्रतिक्रिया दिनुहोस्