दीर्घ रोग



जललाई बुझाउने अर्को शब्द हो पानी। ‘पानि’ ह्रस्व लेखियो भने बेठीक, दीर्घ लेखियो भने ठीक। ‘पानीको नी सधैं दीर्घ हुन्छ’ भाषाविद्हरूले यस्तै सिकाए। भाषाका विद्वान्ले सिकाएको कुरो ‘हैन’ भनेर अटेर गर्ने कुरो पनि भएन, मान्नै पर्यो स्विकार्नै पर्यो।

पानीको दीर्घले काठमाडौंलाई भने दीर्घ रोग लगाएको छ। मध्य झरीमा पनि पानी नभएको कुरा सुन्दा नौलो लाग्दैन। धारामा पानी नआएको महिनौं त के वर्षौं भयो भनेर कहीं कतै सुनियो भने ‘फलानालाई छारे रोग, क्षय रोग, दमको समस्या छ’ भनेजस्तो मात्रै हुन्छ भन्या।

यस्ता रोग रोग नै हुन्। तर सुन्नेले वा रोगीका आफन्तले गम्भीररूपमा नलिएजस्तै पानीलाई काठमाडौंबासीले समस्याका रूपमा लिँदै लिँदैनन् भन्या।मेलम्ची दीर्घ रोग बनिसक्यो। सुन्दा सुन्दा वाक्क लागिसक्यो। कहिले काठमाडौं आउने हो अत्तोपत्तो छैन ।

त्यै पनि फल्ना मितिमा मेलम्ची काठमाडौं आउँछ भन्दै दाबी गर्ने मन्त्री/नेताको खाँचो छैन। यस्तै दाबीको खहरे चलिराख्या बेला काठमाडौंका घरबेटी डेरावालले बुझाएको दानभेटीबाट मात्रै चित्त बुझाउँन छोड्या वर्षौं भयो।

काठमाडौंमा पानीकै विषयमा घरबेटी र डेरावालाबीचमा ठाकठुक नपर्या घर बिरलै होला। घरबेटी बरु छोरी दिन तयार हुन्छन् पानीचाहिँ बाकसमै थुनेर राखौंलाझैं गर्छन् बा !

दीर्घ रोगले यस्तो सञ्जाल फैलाएसि धरहरालाई लाग्छ पानीलाई दीर्घ लेख्न सिकाउने गुरुचाहिँ को हो?

प्रतिक्रिया दिनुहोस्