भौगोलिक विकटताले राज्यको उपस्थिति कमजोर



ललितकुमार बस्नेत
प्रमुख जिल्ला अधिकारी, जाजरकोट

सुर्खेतको दुर्गम गाउँ सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जन्मिएर सरकारी सेवामा प्रवेश गर्नुभएका ललितकुमार बस्नेत हाल जाजरकोटमा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बिहीबार गृह मन्त्रालयले गरेको सरुवामा परेर पर्सा जाँदै हुनुहुन्छ। प्रमुख जिल्ला अधिकारीको रूपमा उहाँले १५ महिना जाजरकोटमा बिताउनुभएको छ। जाजरकोटको पछिल्लो अवस्थाका बारेमा उहाँसँग नेपाल समाचारपत्रका लागि वासुदेव शर्माले गर्नुभएको कुराकानीको सारसंक्षेप ः

तपाईं सरकारी सेवामा प्रवेश गरेको कतिवर्ष भयो ?

म २०६१ साल माघ १८ गते नेपाल प्रशासन सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेको हुँ। यस हिसाबले म सरकारी सेवामा प्रवेश गरेको झन्डै १५ वर्ष पुग्नथाल्यो ।

कति वर्षको उमेरमा सरकारी कार्यालयको प्रमुखको जिम्मेवारी पाउनुभएको हो ?

म केन्द्रीय क्याम्पस कीर्तिपुरमा गणित विषयमा मास्टर्स डिग्री अध्ययन गरिरहेको अवस्थामा लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको देखेपछि विनाकुनै पूर्व योजना शाखा अधिकृतको परीक्षामा सहभागी भएँ त्यही वर्ष शाखा अधिकृतमा नाम निस्कियो।

त्यसपछि स्टाफ कलेजमा ३ महिनाको आधारभूत प्रशासनिक तालिम (ब्याट) सकिने वित्तिकै सूर्खेत जिल्लाको निर्वाचन कार्यालयको प्रमुखको जिम्मेवारी पाएको थिएँ। २७ वर्षको उमेरमा प्रमुखको जिम्मेवारी पाएको हुँ।

 

म २०७५ साल जेठ १४ गतेदेखि जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छु। यस हिसाबले मैले जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेको करिब १५ महिना भयो।

 

जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कहिले आउनुभयो ?

म २०७५ साल जेठ १४ गतेदेखि जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छु। यस हिसाबले मैले जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेको करिब १५ महिना भयो।

 

जाजरकोटका सबै गाउँपालिका र नगरपालिका पुग्नुभयो। सुधारका प्रयास के के गर्नुभयो त ?

हो म जाजरकोटका सबै गाउँपालिका र नगरपालिकामा पुगेको छु। जाजरकोटमा बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका सदरमुकामबाट निकै टाढा र विकट गाउँपालिकाको रूपमा रहेका छन्। म एकिकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ, शान्ति, सुरक्षाको अवस्थाको स्थलगत अध्ययन, विकास निर्माण गतिविधिको अनुगमन, निरीक्षणको क्रममा सबै पालिकामा गएँ यी तीन गाउँपालिकामा पुग्दा भने स्थानीय जनताबाट छुट्टै स्नेह र न्यानो माया पाएको अनुभूति गरें।

विकट ठाउँमा प्रमुख जिल्ला अधिकारीको रूपमा पुग्ने म नै पहिलो व्यक्ति भएकोले पनि हुनसक्छ। जनताको अपार स्नेह पाउने मौका मिल्यो। यसरी दुरदराजका जनताको घर आगनसम्म पुगेर विभिन्न सेवा प्रवाह गर्नु र आम जनतामा राज्यको दह्रो उपस्थितिको अनुभूति गराउनसक्नु नै मेरो पहिलो उल्लेख गर्न लायकको काम हो कि जस्तो मलाई लाग्छ। यसैगरी मैले यो जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर आएदेखि दर्जनौं उल्लेखनीय काम गरेको छु भन्ने लागेको छ ।

२०७६ साउन १३ गते वार्षीक प्रगति विवरण सार्वजनिक एवं समीक्षा कार्यक्रममा पनि मैले गत वर्षको १२ महिनामा गरेका १२ उल्लेखनीय काम सार्वजनिक गरेको यहाँलाई स्मरण गराउन चाहन्छु। गत वर्ष मैले गरेको पहिलो महत्वपूर्ण कामको रूप विपद् व्यवथापनलाई मानेको छु, किनकी गत वर्ष जाजरकोट बाढी पहिरोले अति नै प्रभावित भएको जिल्ला हो।

बाढीपहिरोका कारण एक महिनाको अवधिमा १४ जनाको ज्यान नै गएको थियो भने करोडौंको निजी तथा सार्वजनिक सम्पतिको क्षती भएको थियो। विपतको क्षतीको हिसाबले जाजरकोट गत वर्ष नेपालमै दोस्रो स्थानमा रहेको थियो। तर सुरक्षा निकायलगायत सम्बद्ध सरकारी कार्यालय, स्थानीय सरकार, स्थानीय संघ संस्था र नागरिक समाजको समन्वय, सहयोग र सहकार्यमा कुशलतापूर्वक खोज, उद्धार, राहत, पुनस्र्थापना कार्यक्रम सम्पन्न गरेका थियौं।

अधिकांश घटनामा विपद् भएको २४ घण्टाभित्र राहत उपलब्ध गराएका थियौं र अधिकांश ठाउँमा अनेक प्रतिकूलताको बाबजूत पनि विपद्को घटना घट्ने वित्तिकै म आफै पुग्नेगरेको थिए। यसैगरी अर्को महत्वपूर्ण काम हामीले सदरमुकाम खलंगाको साथसाथै तल्लु, कालीमाटी, थलह, छेडाबजारलगायतका ठाउँमा व्यापक अनुगमन गरेका थियौं।

यसैगरी पर्यटन मन्त्रालय, भेरी नगरपालिकालगायतका निकायसँगको सहयोग र समन्वयमा ऐतिहासिक एवं पुरातात्विक महत्वको जाजरकोट दरबारको संरक्षण, मर्मतको काम गरेका छौं। यहाँले पनि देख्नुभएको होला १ वर्ष अघिको जाजरकोट दरबार र अहिलेको जाजरकोट दरबारमा धेरै सुधार भएको छ। यसैगरी अर्को महत्वपूर्ण काममा हामीले नागरिकमैत्री हुने किसिमले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिएका छौं।

कार्यालयका सबै कोठामा सीसीटिभी जडान गरेका छौं, सेवाग्राही प्रतिक्षा कक्षमा ४३ इन्चको स्मार्ट टिभी राखेका छौं। स्तनपान कक्षको स्थापना गरका छौं भने कार्यालय सुधार तर्फ कार्यालयको आफ्नै कार्य सञ्चालन निर्देशिका बनाउनेदेखि एकीकृत सुरक्षा रणनीतिक योजना, लागूपदार्थ नियन्त्रण कार्ययोजना मात्र बनाएका छैनौं।

कार्यालयका हरेक क्रियाकलाप योजबद्ध र सुव्यस्थित ढंगले सञ्चालन गर्न सकियोस् भनेर आर्थिक वर्षको शुरूमा नै कार्यालयको वार्षिक कार्ययोजना निर्माण गरेका छौं। यस्ता थुप्रै सुधारका काम गरेका छौं। सबैलाई यहाँ समावेश गर्न सम्भब नहोला।

 

कार्यालयका सबै कोठामा सीसीटिभी जडान गरेका छौं,
सेवाग्राही प्रतिक्षा कक्षमा ४३ इन्चको स्मार्ट टिभी राखेका छौं।

 

तपाईं आएपछि घुम्ती शिविर सञ्चालन भए । कति नागरिकले घरदैलोवबाट नागरिकता पाए ?

हो वास्तवमा जनतालाई गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति दिलाउन स्थानीय पालिकासँगको सहयोग र सहकार्यमा गत वर्ष हामीले घर आगनमा सेवा, सुशासनलाई टेवा अभियान सञ्चालन गरेका थियौं। घुम्ती शिविरबाट ३ हजार २ सय ४ जनाले घरदैलोबाट नै नागरिकता पाएका थिए।

शान्ति सुरक्षाका दृष्टिकोणले जाजरकोटलाई कसरी हेर्नुहुन्छ ?

सुरक्षाको दृष्टिले जाजरकोट अलि संवेदनशील देखिन्छ। यो एकातिर भौगालिकरूपमा जिल्ला निकै विकट छ। राज्यको पहुँच पुग्न नसक्ने त्यस्ता स्थानमा राज्य विरोधी व्यक्ति तथा समूहले विगतदेखि लुकीछिपी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको देखिन्छ। यस जिल्लाको धेरै ठाउँमा टेलिफोन, मोबाइलको नेटवर्क नै नभएकोले समयमा सञ्चार सम्पर्क हुननसक्दा सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपूर्ण देखिन्छ।

 

जाजरकोटमा कर्मचारी आउन नमान्नुको कारण के होला यहाँको बिचारमा ?

यस जिल्लाको कठिन भूगोल, काठमाडौंदेखि भौगोलिकरूपमा टाढा, बेला बेला देखिने महामारी तथा प्रकोपजन्य घटनाबाट हुन गएको धनजनको क्षतीको खबर काठमाडौंमा बसेर हेर्दा यो जिल्लामा कर्मचारी आउन नमानेका हुन सक्छन्। तर काठमाडौं बसेर सोचे जस्तो अब जाजरकोट जिल्ला दुर्गम तथा कठिन छैन।

सरोकारवाला निकाय, व्यक्ति तथा आम नागरिकको सकारात्मक सोच र सहयोगी भावनाले यहाँ कर्मचारी आइसकेपछि लामो समयसम्म रमाएर नै बस्दछन् भन्ने लाग्दछ।

 

तपाईंले आफूलाई एक कुशल साहित्यकारको रूपमा स्थापित गर्नु भएको छ होइन त ?

मलाई के लाग्छ भने साहित्य भनेको मानिसले भोगेका, अनुभूति गरेका कुरा अभिव्यक्त गर्ने एउटा माध्यम हो। सृष्टिको सर्वश्रेष्ठ प्राणीको रूपमा रहेका मानिस आफैमा साहित्यकार हुन्। कतिले त्यो व्यक्त गर्दछन,कतिले व्यक्त गर्दैनन्।

कतिले व्यक्त गर्ने अवसर पाउँछन् कतिले त्यस्तो अवसर नै पाउँदैनन्। म पनि कहिले काहीँ ज्वारभाटा झै उठेका भाव र तरंगलाई शान्त गर्न केही लेख्छु बस त्यति मात्र हो। म सधैं साहित्य रचनामा क्रियाशील रहने साहित्यकार चाहीँ होइन। बरु लोक सेवा परीक्षाका परीक्षार्थीका लागि उपयोगी पुस्तक भने नियमितरूपमा लेख्ने गरेको छु।

 

सृष्टिको सर्वश्रेष्ठ प्राणीको रूपमा रहेका मानिस आफैमा साहित्यकार हुन्। कतिले त्यो व्यक्त गर्दछन,कतिले व्यक्त गर्दैनन्। कतिले व्यक्त गर्ने अवसर पाउँछन् कतिले त्यस्तो अवसर नै पाउँदैनन्।

अहिलेसम्म कति वटा पुस्तक लेख्नु भएको छ ?

लोक सेवा परीक्षाका विभिन्न परीक्षामा केन्द्रित मेरो एकल र सहलेखनका गरी दर्जन भन्दा बढी पुस्तक प्रकाशित भएका छन्। गत आर्थिक वर्षमा मात्र मेरा ३ वटा एकल र ७ वटा सहलेखन गरी जम्मा १० वटा पुस्तक र चार दर्जनभन्दा बढी फुटकर लेख रचना प्रकाशित भएका छन्।

मेरो एकल लेखन रहेका पुस्तक मास्टर आई.क्यू (शाखा अधिकृत, नासु, खरिदार, अधिकृत क्याडेट, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत सबैलाइ अति उपयोगी) ,शासन प्रणाली (शाखा अधिकृत दोस्रो पत्र), म्याथम्याटिक्स फर बैकिंग इक्जाम, खरिदारका सफलता सुत्र आदि अहिले पनि निकै लोकप्रिय रहेका छन्।

समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?

म अहिले जाजरकोटको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छु, यसअघि म २ वर्ष काठमाडौं जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिएँ र त्यसभन्दाअघि लामो समय सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख एवं कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकोले सधैजसो म व्यस्त कार्यालयमा रहेकोले मलाई समयको जहिले पनि चाप हुनेगरेको छ।

यही भएर सोचे अनुसार लेखनमा समय दिन सकेको छैन। म कार्यालय समयमा पूर्णरूपमा कार्यालयकै काममा लागिरहेको हुन्छु। अरु बेला पनि कार्यालयकै काममा पहिलो प्राथमिकताका साथ समर्पित भएको हुन्छु। सामान्यतया बेलुका २ घण्टा र बिहान १ घण्टा लेखनमा लाग्छु। बिदाको समयमा भने अलि बढी नै समय लेखन तिर दिने गरेको छु।

 

 

प्रतिक्रिया दिनुहोस्