नेपाली फौजी संस्कारको नाजायज विरोध



भीमबहादुर पन्थ

विश्वका विकसित मुलुकका फौजी संगठनका आ–आफ्नै संस्कृति, चालचलन, रहनसहन हुन्छन्। यस्ता विभिन्न संस्कारको प्रादुर्भावलाई केलाउँदै जान सम्भव पनि छैन। जे होस्, आ–आफ्ना मुलुकका राजनीतिक, आर्थिक अनि सामाजिक परिवेशअनुरूप फौजी कल्चरको शुरूवात हुने गर्दछ। जसको निरन्तरता चिरकालसम्म रहिरहन्छ। विकसित मुलुक जस्तै– अमेरिका, बेलायत, फ्रान्स आदि राष्ट्रका फौजी संगठन र तिनका संस्कारहरूको अध्ययन, अवलोकन हुन जरुरी छ।

विश्वको लामो इतिहास बोकेका विकसित फौजी कल्चरका राम्रा र उपयोगी संस्कारहरूको हाम्रा फौजी संगठनहरूमा पनि अनुसरण गर्न प्रेरित गर्नु जरुरी छ। हाम्रो जस्तो भर्खरै प्रजातन्त्रको बाह्रखरी पढ्दै गरेको राजनीतिक कल्चरले विकसित भैसकेको प्रजातान्त्रिक मुलुकको सपना देख्नु पनि गलत हुन्छ।

फौजी कल्चर भनेको के हो ? यसको दीर्घकालीन महत्व के छ ? फौजी कल्चरमा अनावश्यक हस्तक्षेप गर्दा वर्तमान फौजी संरचनामा कस्तो प्रभाव पर्छ ? यस्ता विषयमा आँकलन नै नगरी अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै आफूलाई जे मनमा आयो सो व्यक्त गर्ने बेलगामको घोडाजस्तै व्यवहारले अत्यन्त नाजुक अवस्थामा पुगिसकेको फौजको मनोबलमा कस्तो प्रभाव पर्ला, सोचनीय विषय छ।

फौज भनेको दिनानुदिन घर–आँगनमा देखा पर्ने समस्यालाई समाधान गर्ने र सामान्य स्थान विशेषको सुरक्षा दिने उद्देश्यले खडा गरिएको होम गार्डजस्तो होइन। एउटा पक्का फौजी तयारीमा देशले ठूलै लगानी गरेको हुन्छ। देश–विदेशको तालिम, कार्य अनुभव, अन्य मुलुकको फौजीसँगको निकट सम्बन्ध, आपसी सहकार्यले फौजी कल्चरको प्रादुर्भाव भएको हुन्छ।

फौजी कल्चर भनेको के हो ? यसको दीर्घकालीन महत्व के छ ? फौजी कल्चरमा अनावश्यक हस्तक्षेप गर्दा वर्तमान फौजी संरचनामा कस्तो प्रभाव पर्छ ? यस्ता विषयमा आँकलन नै नगरी अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै आफूलाई जे मनमा आयो सो व्यक्त गर्ने बेलगामको घोडाजस्तै व्यवहारले अत्यन्त नाजुक अवस्थामा पुगिसकेको फौजको मनोबलमा कस्तो प्रभाव पर्ला, सोचनीय विषय छ।

कतिपय सवालमा राष्ट्रिय मुद्दा वा इन्ट्रेस्टलाई थाती राख्दै व्यावसायिक सम्बन्धका आधारमा पनि कतिपय विवादास्पद केशहरूको समाधान हुँदै आएको देखिन्छ। गोप्य सूचनाहरू प्राप्त गर्ने, अपराधी पत्ता लगाउन सुराकीको अत्यन्त जोखिमपूर्ण फौजको महत्वपूर्ण कार्य पनि आपसी सम्बन्धका आधारमा हुँदै आएका छन्।

फौजी संगठनको कार्यक्षेत्र विविध किसिमका हुन्छन्। सामान्य अवस्थामा दैनिक गस्ती पट्रोलिङ, अपराध रोकथाम तथा अनुसन्धानात्मक क्रियाकलापमा खटिइरहेको हुन्छ भने कतिपय अवस्थामा अकल्पनीय प्राकृतिक विपत्तिको पनि सामना गर्नुपर्ने भएकाले फौज हरक्षण, हरबखत तयारी अवस्थामा रहन्छ र जस्तोसुकै कठिन घडीमा पनि निडरताका साथ कर्तव्य पालनामा तल्लीन रहन्छ। उदाहरणको रूपमा विदेश जानै पर्दैन, नेपालमा भए/गरेका दैवीप्रकोप उद्धारलाई लिए पुग्छ। यस्तो छुट्टै प्रकृतिको फौजी संगठनमा आफ्नो बेग्लै प्रकृतिको संस्कार हुन्छ, जसको राज्यबाट संरक्षण, संवद्र्धन हुन अनिवार्य हुन्छ।

राष्ट्रिय महत्वको सुरक्षा निकायको संख्यात्मक ढाँचा र आवश्यकतालाई तत्कालीन परिवेशको आधारमा मात्र हेरिनुहुँदैन, भविष्यमा आउन सक्ने गम्भीर प्रकृतिका दुई मुलुकबीचको सिमानाको रक्षार्थ वा राष्ट्रिय सुरक्षार्थ परिचालित हुन सक्ने अवस्थामा तम्तयार रहने गरी तयारी अवस्थामा राखिनुपर्दछ। राष्ट्रलाई आवश्यकता पर्दा कठिनभन्दा कठिन गम्भीर प्रकृतिका फौजी क्रियाकलापमा परिचालन गरिनुपर्ने दस्ताको संख्याको आधारमा नाफा–घाटाको तुलना गर्नेै मिल्दैन।

युद्धको समाप्तिपछि सैनिकहरूलाई लामो बिदा दिने, मनोरञ्जनको उचित प्रबन्ध गर्ने, पुनर्ताजगी (रिफ्रेसमेन्ट) स्कीम सञ्चालन गर्ने गरेको कहावत् सुन्दै, पत्रपत्रिकामा पढ्दै आएकै छौं। सामान्य प्रकृतिका विषयमा तिललाई पहाड बनाउँदै जाने हो भने नेपालमा बहुदलीय व्यवस्थाको पुनरागमनपश्चात् दिन–प्रतिदिन गिर्दो अवस्थामा रहेको फौजी संगठन र आबद्ध सदस्यहरूको मनोबल कस्तो अवस्थामा पुग्ला, अनुमान गरौं। विगतको फौजी संगठनप्रतिको अपनत्व, सेवाको निरन्तरता उदेक लाग्दो थियो। फौजी संगठनमा प्रवेशपश्चात् नियमानुसारको अवकाशभन्दा अगावै सेवाबाट बिदा लिने प्रचलन नै थिएन भन्दा हुन्छ।

हालका दिनहरूमा लाखौंको लगानीमा तयार भएको सिपाही ५ वर्ष पनि टिक्न गाह्रो छ। यसको मुख्य कारण हालैका दिनहरूमा फौजी संगठनलाई राज्यको हेर्ने दृष्टिकोण, राज्यकोषबाट पालित–पोषित सबै राष्ट्रसेवकलाई समान हैसियतमा राखिनु, सुरक्षा अंगको महत्व र गरिमाप्रतिको कन्जुस्याइँ, थप महत्व र आकर्षक सेवा–सुविधामा प्राथमिकता दिनु त कता हो कता, सरकारको तर्फबाट समान व्यवहार पनि भएको पाइँदैन।

वर्षौंदेखि पक्षपातपूर्ण ३० वर्षे सेवा हद प्रहरीमा मात्र थोपरिएको छ। त्यस्तै संगठन प्रमुखको नियुक्तिमा राजनीतिक प्रभाव र चलखेल, जसले गर्दा नियुक्त संगठन प्रमुख स्वतन्त्ररूपमा संगठनप्रति निर्धक्कसाथ लागिपर्ने वातावरण नै देखिएन। यसका कारण सम्भावित संगठन प्रमुखको नजिक हुने प्रयासमा संगठनका सदस्यहरू पनि गुटबन्दी वा खेमामा विभाजित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भयो।

संगठनको विगतको जुन साख थियो, क्रमिकरूपमा अवमूल्यन हँुदै गयो। संगठनप्रतिको भरोशामा नै आँच आएको हो कि भन्ने महसुस भएको छ। संगठनको साख जोगाउन हम्मे–हम्मे परिरहेको अवस्था विद्यमान छ। सस्तो लोकप्रियता कमाउने होडमा हरेक दिनजसो कुनै न कुनै पत्रपत्रिकामा फौजी संगठनका उच्च ओहदाका अधिकृतहरूको तस्वीर प्रकाशित गर्दै फौजमा भएका र विगतदेखि हुँदै आएका पूर्वविशिष्ट श्रेणी वा प्रथम श्रेणीका अधिकृतहरूले निश्चित अवधिका लागि सुरक्षाको खातिर उपयोग गर्दै आएका एक–दुई जना सुरक्षाकर्मी प्रयोग गरेकोमा दुरूपयोगको नाम दिँदै लेख–रचना, समाचार आउनु घोर आपत्तिजनक छ।

पूर्वसुरक्षाकर्मीहरूलाई सुरक्षाको थ्रेट महसुस नहुने हो भने पूर्वराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, गृहमन्त्रीलाई पनि त सुरक्षाको आवश्यकता नहुनुपर्ने हो। यस्ता अनर्गल प्रचार जो व्यक्ति सो सेवा–सुविधाबाट वञ्चित छ वा उक्त पोस्टमा पुग्ने हैसियत राख्दैन, त्यस्ता अक्षम व्यक्तिहरूको अनावश्यक गुनासो मात्रै हो।

यसलाई अन्यथा लिनुपर्दैन जस्तो लाग्छ। अन्तर्राष्ट्रिय जगत्मा प्रचलन के छ ? अध्ययन, अवलोकन नै नगरी हचुवाका भरमा कलम चलाउनु र त्यस्तै समाचार–लेखहरूलाई प्राथमिकता दिँदै प्रथम पृष्ठमा हाइलाइट गर्नु कहाँसम्मको मानसिकता हो ? मिडिया जगतले पनि आत्मालोचना गर्नुपर्ने बेला भैसकेको छ।

प्रिन्ट मिडिया जगत्लाई पनि कुनै संगठनको मान–मर्यादामा आँच पुग्ने गरी अभिव्यक्ति तथा छापामा प्रस्तुत हुने वर्तमान प्रवृत्तिप्रति स्वयम् प्रेसजगत् सजग हुन जरुरी छ। प्रेस स्वतन्त्रताको खोल ओढ्दै कुनै पनि व्यक्ति तथा संस्थाप्रति अपुष्ट अभिव्यक्ति दिँदै हिँड्न पाउने हक हुँदैन। मानहानि गरेको कसुरमा कानुनी कारबाहीको कठोर परिस्थिति आउन पनि सक्छ। कसैलाई पनि बेलगाम छोड्नुहुँदैन, अन्यथा सञ्चार मन्त्रालयले कडा कदम चाल्न बाध्य हुनुपर्ने दिन नआउला भन्न सकिन्न।

आफूलाई देशको चौथो अंग पनि भन्न पछि नपर्ने, अनि अत्यन्त गैरजिम्मेवार तरिकाबाट मिडियामा प्रस्तुत हुने कहाँसम्मको लाचारी प्रवृत्ति ⁄ आफ्नो पदीय, वर्गीय हैसियतलाई पनि त बिर्सन मिल्दैन होला ⁄ जिम्मेवार मिडिया जगत्ले कसैको व्यक्तिगत तथा संस्थागत मर्यादालाई पनि विशेष प्राथमिकता दिँदै सम्भव भएसम्म प्राप्त लेख–रचनाहरूका विषयमा गहन अध्ययन गरी अन्तर्राष्ट्रिय प्रचलनसमेतलाई ख्याल गर्दै मिडियामा पस्किनु उचित हुन्छ कि ?

आ–आफ्नो स्वतन्त्र विचार होला, तैपनि सहजरूपमा, नियमसंगत, प्रचलनअनुरूप प्राप्त भइरहेको सुविधाबाट वञ्चित हुनुपर्दाको क्षण आफैंले महसुस गर्दा आउन सक्ने अप्ठ्यारो परिस्थिति र अपहेलित हुनुपर्दाको क्षण कसैलाई पनि सह्य हुँदैन।

सबैको मानसिकता एकै प्रकारको नहुन सक्छ, केहीको क्षणिक आवेशमा वा परिस्थितिवश नसोचेको घटनाको जवाफदेही को हुने ? विद्वान् मिडिया जगत् संयमित, दीर्घसोचका साथ प्रस्तुत हुन म स्वयम् लामो समय मिडिया जगत्को सम्पर्कमा रही कार्यगत एकता कायम गर्दै आजसम्म पनि कुनै न कुनै दैनिक अखबारहरूमा आफ्नो ब्रह्मले देखेका विषयवस्तुहरू पस्किरहने कलमजीवी सच्चा मित्र भएको नाताले मनमा लागेको कुरा ओकल्न मन लाग्यो। प्रेस जगत् र फौजी संगठनको मित्रवत् व्यवहार भनाइमा मात्र सीमित नभई चिरकालपर्यन्त सुमधुर रहोस्, यही शुभकामना !
(लेखक पन्त अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्