गौहत्यारालाई नछोडौं !



गाई नेपालको राष्ट्रिय जनावर, हिन्दू धर्मावलम्बीले आमासमान पुज्ने जन्तु । तर यस जन्तुलाई हेपिएको छ, कानुनलाई समेत बेवास्ता गर्दै नियोजितरूपमा भीरबाट खसालेर मारिएको छ । एउटा दुईवटा होइन, २४ वटा गाईगोरु यसरी मारिएका छन् भने ५० भन्दा बढी घाइते भएका छन् ।

नेपालगन्जको बिर्तास्थित काञ्जी हाउसबाट सुर्खेत हुँदै दैलेख लाने बहानामा सुर्खेतको सुब्बाकुना र कटकुवाको जंगलको भीरबाट गाईगोरु खसालिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । ८ वटा ट्रकमा राखेर २ सय ९१ वटा गाईगोरु नेपालगन्जबाट सुर्खेततर्फ लगेर हत्या गरिनुका पछाडि संगठित दुष्प्रयास प्रस्ट देखिन्छ ।

दैलेखको भैरवी गाउँपालिकास्थित श्रीनाथ मन्दिर व्यवस्थापन समिति लैजान भन्दै नेपालगन्जको कान्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर गाउँपालिका र समितिले गाई र बाच्छा पालनका लागि नझिकाइएको प्रस्ट्याउँदै नेपालगन्जबाट आफ्नै नाममा पठाइएको बारे कुनै जानकारी नभएको भन्दै ती निकायले गौहत्याको निन्दा गरेका छन् ।

गौहत्या आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । गाईगोरु लोड गरेर सुर्खेततर्फ प्रस्थान गरेका ट्रक, ट्रकका चालक र सहचालक अनुसन्धानका सिलसिलामा पक्राउ परेका हुन् । घाइते र जीवित १ सय ४४ गाईगोरु आठवटा ट्रकमार्फत शनिबार नेपालगन्ज फिर्ता पठाइएको छ ।

नगरप्रहरीले साँझ सात बजेपछि आठवटा ट्रकमा गाईगोरु लोड गरेका काञ्जी हाउसका कर्मचारीको भनाइ छ । प्रहरीका अनुसार बिहीबार साँझ सात बजेपछि आठवटा ट्रकमा २ सय ९१ वटा गाईगोरु लगिएका थिए भने शनिबार आठवटा ट्रकमा १ सय ४४ वटा फिर्ता ल्याइएको छ । यो तथ्यांकले के पुष्टि गर्छ भने करिब डेढ सय गाईगोरु ट्रकमा अटाउने स्थान नहुँदा नहुँदै जबरजस्ती कोचेर लगिएको थियो । यसरी लाँदा केही ट्रकमै मरेको प्रहरीको आशंका छ ।

जिल्ला प्रशासन कार्यालयले गत भदौ ८ गते गाईवस्तु दैलेखको श्रीनाथसम्म लैजानका लागि सिफारिसपत्र दिएको थियो । तर, पत्रमा गाई लिने संघ–संस्था वा अन्य कुनै निकायको नाम उल्लेख छैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुख कार्यालयको कामको सिलसिलामा नेपालगन्जबाहिर भएका बेलामा पत्र पठाइएको बताइएको छ ।

शीर्ष पदाधिकारी अनुपस्थित भएको समय र प्रशासन कार्यालयको पत्र लिएको करिब एक सातापछि अनि रातको समयमा गाईगोरु स्थानान्तरण गर्नु गौहत्याको नियोजित ढंगबाट भएको बुझिन्छ । यसैबीच गौहत्याको सर्वत्र निन्दा भइरहेका बेला गृह मन्त्रालयले छानबिन अघि बढाएको छ ।

मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । यसबारेमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन र कानुनी कारबाहीको सिफारिस गर्न मन्त्रालयले समितिलाई जिम्मेवारी तोकेको छ ।

नेपालगन्ज उपमहानगरले गत वर्षको मध्यसाउनमा पाँच ट्रक चौपाया बाँके राष्ट्रिय निकुञ्ज पुर्याउँदा निकुञ्जले स्वीकृत नदिएपछि पुनः फिर्ता ल्याएको थियो । अहिले पनि त्यस्तै पहल अघि बढाइएको हो या के हो छिट्टै वास्तविकता सार्वजनिक हुनुपर्छ, दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्