सेलिब्रेटीमा हेयर स्टाइल कन्सेस बढेको छ



नील डेभिड

हेयर स्टाइलिस्ट नील डेभिड कटुवालले विभिन्न देशमा गएर हेयर स्टाइलको अध्ययन गरी यो पेसालाई अगाडि बढाउने क्रममा अत्याधुनिक शैलीको युनिसेक्स सलुनलाई अगाडि बढाएपछि अहिले नेपालमा यो क्षेत्रमा क्रान्ति नै आएको छ। झापा, लक्ष्मीपुरका उनको हेयर स्टाइल कला र सलुन काठमाडौं, सिलगुढी हुँदै दिल्लीसम्म फैलिँदै गएको छ। नेपालीलाई हेयर स्टाइल गर्न सिकाएका नीलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः

 

-रश्मी थापा

हेयर स्टाइलिङको क्षेत्रमा कसरी लाग्नुभयो ?

यसको रोचक कहानी छ। खासमा मेरो रुचि फेसन डिजाइनिङमा थियो। त्यसका लागि झापाबाट १२ क्लास पास गरेपछि काठमाडांै आएर आईएलटीएस पढ्न थालें। पास पनि भएँ। क्यानडा, यूके, जर्मन, फ्रान्सलगातयका देशको लागि ट्राई गरें, तर ७ चोटि भिसा रिजेक्ट भएपछि फेसन पढ्न विदेश जान पाइनँ।

त्यही क्रममा यूकेका नागरिक डेभिड भाइनालाई भेटें। उहाँको पासपोर्ट हराएको थियो र मैले खोज्न हेल्प गरेको थिएँ। सहयोग गरेको देखेर प्रभावित हुनुभएछ। फर्कने बेलामा मलाई पैसा पनि दिन खोज्नुभयो, तर मैले लिइनँ। एकदिन उहाँले फोन सम्पर्कमा मेरो पनि कोही छैन, म तिमीलाई छोरा बनाउँछु, कुन देशमा पढ्न चाहन्छौ पढाउँछुु भन्नुभयो। उहाँकै सहयोगमा दिल्ली पुगेर १८ महिनासम्म फेसन डिजाइनिङबारे पढें।

एकपटक सिंगापुर गएका बेला कपाल काट्न सैलुन छिर्दा त्यहाँ केटाले केटी र केटीले केटाको कपाल काटेको देखेर मलाई अचम्म लाग्यो। त्यसै बेला आफ्नो देशमा यही पेसा अपनाएर देशलाई चिनाउँछु भन्ने सोचें। भारतमा जावेद हविवको एकेडेमीमा ६ महिना ट्रेनिङ गरें, त्यसपछि थाइल्यान्ड, लन्डन आदि देशमा हेयर स्टाइल पढेर आई यो काम शुरू गरें।

 

यो पेसा अपनाउँदा घर–परिवारबाट कस्तो प्रतिक्रिया आयो ?

बुबा प्रधानपञ्च हुनुहुन्थ्यो। त्यो बेला क्षेत्री बाहुनलाई कपाल काट्ने काम गर्न अलाउ थिएन। बुबाले त्यो हजामले गर्ने कामका बारे किन पढ्नु, पर्दैैन भन्नुभयो। तर, मैले बुझाएपछि हुन्छ पढ्न त पढ, तर यहाँ त्यो काम गर्नु बेइजत हुन्छ, उतै पढ्नु, उतै काम गर्नु भन्नुभयो। पछि धेरै सपोर्ट गर्नुभयो।

 

 

हेयर स्टाईल कला हो। आफुमा कला नभई सफल भर्इँदैन, त्यसैलाई व्यवसायमा ढाल्ने हो।

 

 

यसको व्यापकता यति धेरै हुन्छ भन्ने सोच्नुभएको थियो ?

सोचेको थिइनँ। हेयर स्टाइल पढेर नेपाल आई काठमाडौं मलमा २ सय ५० स्क्वाएरफिटको स्पेस लिएर सन् २००६ मा सलुन खोलें। सबैले नेपाली केटाले विभिन्न देशमा ट्रेनिङ गरेर नेपालमा आएर कपाल काट्ने पेसा गर्छ भनेर मलाई साथ दिनुभयो। शुरूमा एक÷दुई वटा सैलुन खोल्छु र आठ/दश जनालाई रोजगारी दिन्छु भन्ने सोच थियो। तर, अहिले नेपालमै ७० भन्दा बढी शाखा, फ्रेन्चाइज र एकेडेमी तथा भारतमा पनि यसको विस्तार भएको छ।

काठमाडांै, इटहरी, उर्लाबारी र बिर्तामोडमा एकेडेमी सञ्चालनमा छन्, काठमाडांै मल, सिटी सेन्टर र नयाँ बानेश्वरमा पनि एकेडेमी थपिँदै छन्। पहिले हेयरमा मात्र फोकस थिएँ, अहिले एनडीके मेकअप एकेडेमी भनेर नयाँ मेकअप ब्रान्ड ल्याउँदै छौं।

 

नील डेभिडलाई सेलिब्रेटी हेयर स्टाइलिस्ट किन भनिन्छ ?

हामी कपडा सामान्य टेलरमा सिलाएर लाउन पनि सक्छौं। तर, राम्रो र स्तरीयताका लागि बुटिक जान्छौं। उच्च डिजाइनरका लागि इन्डियनको नाम मात्र सुन्थ्यौं। तर, प्रवल गुरुङ जस्ता व्यक्तिहरूले डिजाइन गरेर सेलिब्रेटी तथा पब्लिकलाई लगाउन दिएपछि त्यसको चार्म बढ्यो। त्यसै गरी म पनि यो क्षेत्रमा आएपछि सबैले माया गरिदिनुभयो, शोहरूमा बोलाउनुभयो, मन पराउने जमात बढ्नुभयो र सेलिब्रेटीका रूपमा लिनुभयो।

 

यहाँसम्म आउँदाको उतार–चढावलाई कसरी सम्झिनुहुन्छ ?

जिन्दगीमा उतार–चढाव नभई त कोही पनि सफल हुँदैन। २ सय ५० स्क्वायरफिटमा खोलेको एउटा सैलुनबाट नेपालमा ७० र भारतमा पनि फ्रेन्चाइज खोल्दा बीचको अवधिमा मेरो करिअरमा धेरै उतार–चढाव आए। कति रात त म सुतेको पनि छैन।

नेपालमा मात्र नभई नेपाली ब्रान्ड इन्डियामा पनि बेच्नु भनेको त्यति सजिलो काम होइन। त्यसका लागि धेरै समय र मेहनत लाग्यो। यसमा मैले धेरै संघर्ष र स्याक्रिफाइस गरें। अझ पनि संघर्ष जारी छ।

यसको शाखा र फ्रेन्चाइज किन यति धेरै ?

एक त हाम्रोमा राम्रो क्वालिटी र राम्रो स्टाइलिसहरू हुनुहुन्छ। म यो क्षेत्रमा आउनका लागि यही विषयमा ३ वर्ष लगाएर पढेर आएँ। मैले यसलाई क्षणिक व्यापारको दृष्टिकोणले मात्र हेरिनँ। तर, यहाँ कुनै कुरा वा प्रोजेक्ट हिट भएपछि पैसा लगानी गर्ने र ६ महिना, एक वर्षपछि बन्द गर्नतिर लाग्नुहुन्छ।

म भने क्वालिटी बढाउनतर्फ लाग्छु। अझ कसरी इम्प्रुभ गरौं भनेर दिन–रात सोचिरहेको हुन्छु। टेक्निकल हेड र म्यानेजमेन्ट टिमसँग छलफल गर्छु। एउटा सैलुन चलाउनका लागि एक्लो इफोर्टले हुँदैन। एउटा म्यनेजमेन्ट टिम चाहिँदो रहेछ भन्ने कुरा इन्डिया गएर बुझें। अहिले इन्डियामा अलग–अलग टेक्निकल हेड र म्यानेजमेन्ट टिम छ। यसले गर्दा हाम्रो स्टाइल मन पराइदिएर विभिन्न ठाउँमा माग भएका कारण हाम्रो शाखा र फ्रेन्चाइज बढिरहेको छ।

नेपालका सेलिब्रेटी हेयर स्टाइलप्रति कतिको सजग छन् ?

पहिलेको तुलनामा अहिले धेरै सजग हुनुहुन्छ। अहिले नेपाली फिल्मको संख्या पनि बढी छ, नेपाली फिल्मको क्वालिटीमा पनि वृद्धि भएको छ। राम्रो–राम्रो मेकअप आर्टिस्ट र हेयर स्टाइलिस आइसक्नुभएको छ। सेलिब्रेटीमा हेयर कन्सेस पनि बढेको छ। समयसँगै धेरै परिवर्तन भएको छ।मैले शुरूदेखि आजसम्म कसैलाई पनि कम्पिटिटरका रूपमा हेरिनँ। म अरूसँग कम्पिटिसन गर्नका लागि आएको होइन। म आजको दिनका नील डेभिडभन्दा भोलिको दिनका नील डेभिडलाई बेटर बनाउँछु भनेर कम्पिटिसन गर्छु। सायद मेरो कम्पिटिटर म नै हो।

 

जुन लक्ष्य लिएर आउनुभएको थियो त्यो पूरा भएजस्तो लाग्छ ?

अवश्य पनि सफल भएको मान्नुपर्छ। मेरो सैलुन आज १५ वर्षमा दिल्लीसम्म फैलिएको छ। यो काममा म एक्लै लागेको थिएँ। त्यो बेला मलाई ब्रान्ड के हो फ्रेन्चाइज के हो राम्रोसँग थाहा पनि थिएन। आज यहाँबाट ५ हजारभन्दा बढी जनशक्ति उत्पादन भएका छन् भने धेरैले रोजगार पाएका छन्।

साथै यहीमार्फत म सामाजिक सेवामा पनि सक्रिय छु। माइती नेपालका दिदीबहिनीहरूलाई ट्रेनिङ गराएर रोजगारी दिने र गरिब अनाथ तथा श्रवण शक्ति नभएका बच्चाहरूको पढाइमा पनि सपोर्ट गरिरहेको छु।

 

नेपाल र भारतको शाखामध्ये कताको व्यापार राम्रो छ ?

नेपालमा मार्केट सानो छ। यहाँको मार्केटअनुसार हामीले एकदम राम्रो गरिरहेका छौं। २८/३० वटा फ्रेन्चाइज ब्रान्ड छ। अहिले हामीले अझ गुणस्तरका साथ अगाडि बढाउने भनेर फ्रेन्चाइज रोकेका छौं। इन्डियामा त अवश्य पनि राम्रो हुने भइहाल्यो।

 

यो कला हो कि व्यापार ?

हेयर स्टाइल कला हो। आफूमा कला नभई सफल भइँदैन, त्यसैलाई व्यवसायमा ढाल्ने हो। पहिला कला र त्यसपछि व्यवसाय हो।

 

यो क्षेत्रमा लाग्न चाहनेलाई के भन्नुहुन्छ ?

राम्रो छ, तर हामी नेपाली अधैर्य भइसक्यौं। एकैछिनका लागि मात्र सोचेर जे पनि गरीदिन्छौं। आफूलाई ज्ञान नभएको क्षेत्रमा नजानी–नबुझी लागिदिने गर्छौं।

मैले काठमाडौं मलमा पहिलो सैलुन खोल्दाखेरी १ वर्ष त आफ्नो गोजीबाटै पैसा तिरें। तर धैर्यता राखें, धेरैले तिमीलाई एक दिन राम्रो हुन्छ भन्नुहुन्थ्यो, भयो पनि।

झापाको लक्ष्मीपुरबाट यात्रा शुरू गरेको थिएँ, अहिले दिल्ली, अलहवादलगायतका शहरमा २८ सय स्क्वायर फिटका सैलुन पनि खुलेका छन्।

अबको योजना के छ ?

काठमाडौंकै ३/४ वटा प्रोजेक्टमा व्यस्त छु। यसका साथै २२ तारिखमा दिल्लीमा हुन लागिरहेको माई स्ट्रगल टकमा भाग लिन गइरहेको छु। जहाँ संघर्ष गरेर उचाइमा पुग्ने युवावुयतीलाई आफ्नो स्टोरी शेयर गरेर मोटिभेसन दिनका लागि बोलाइन्छ।

यसपटक मिस्टर सेरीले मलाई स्पिकरका रूपमा बोलाउनुभएको छ। जहाँ म आफ्नो देशको प्रतिनिधित्व गरेर जानेछु र नेपालका साथै आफ्नो स्टोरी भन्नेछु।

 

प्रतिक्रिया दिनुहोस्