गाउँमुखी सरकार



मानिसहरू कस्तो नबुझी कुरा गर्छन् भने, धरहरालाई सुन्दै झोक चल्छ। उनीहरू ‘सरकार राजधानीमुखी भयो, काठमाडौं उपत्यकाभन्दा बाहिरलाई वास्तै गर्दैन’ भन्छन्।

यस्ता कुरा गर्नेलाई झ्याप्प समाउँदै पश्चिममा नागढुंगा र पूर्वमा सल्लाघारी लगेर उभ्याउन मन लाग्छ।ट्राफिक प्रहरीले यी दुवै गौंडामा बसेर बाहिरबाट राजधानी आउनेलाई भेला पारेर पढाइरहेको ठाउँमा लगेर उभ्याऊँजस्तो लाग्छ।

 

के देहायबमोजिमको पाठ धरहरालगायत काठमाडौंबासीले पढ्न नपाउने ?

 

– बाटो जेब्राक्रसिङबाट काट्ने।

 

– हरियो बत्ती बल्दा अघि बढ्ने, रातो बल्दा रोकिने।

 

– आफ्नो लेनमा गाडी चलाउने।

 

– नटुटाई तानिएका सेता धर्का उल्लंघन गरेर गाडी दायाँ–बायाँनलाने।

 

– दायाँबाट मात्र ओभरटेक गर्ने।

 

 

यस्ता ट्राफिक नियमको लामो सूची कसलाई पढाइयो त भन्दा काठमाडौं उपत्यकाभन्दा बाहिरका नागरिकलाई।कहिलेबाट पढाउन थालियो त भन्दा बिहीबारबाट। किन पढाउन थालियो त भन्दा बाहिरबाट राजधानी भित्रिने नागरिकलाई बढी माया गरेर।

काठमाडौं उपत्यकाका हरेक नागरिक यस्ता नियममा विज्ञ छन्, उचित किसिमले प्रयोग गरिरहेका छन् भन्ने विश्वासका साथ बाहिरबाट आउनेलाई पनि उत्तिकै योग्य बनाउन ट्राफिक प्रहरीले यो प्रशिक्षण शुरू गरेको हो भन्ने कुरामा के तपाईं विश्वास गर्नुहुन्छ?

 

धरहरा तपाईंको थाप्लोमा हात राखेर भन्न सक्छ, काठमाडौं उपत्यकाका स्थायी र अस्थायी सबै नागरिकलाई यस प्रकारका नियमको कि जानकारी नै छैन, कि त ज्ञान भएर पनि उनीहरू यसको पालना गर्दैनन्।

यस्तो सत्य एकातिर छ, अर्कातिर ट्राफिक प्रहरी काठमाडौंका नागरिकलाई केही पढाउँदैन, खालि बाहिरकालाई पढाउँछ भने ऊ बढी कसलाई माया गर्दोरहेछ त?  राजधानीबासीले यो अन्याय सहनुचाहिँहुन्न है ! पक्षपातको पनि हद हुन्छ नि !

प्रतिक्रिया दिनुहोस्