ज्येष्ठ नागरिकका समस्या कसले बुझ्ने ?



ज्येष्ठ नागरिक हाम्रा मार्गदर्शक हुन्। आज हामी जहाँ छौँ, जे छौँ, उनीहरूकै कारणले छौँ। आफ्ना सबै इच्छा र चाहनाहरूलाई तिलाञ्जलि दिई ऊर्जाशील समय परिवारको रेखदेख र मार्गदर्शनमा लगाएका, राष्ट्रमा योगदान दिएका ज्येष्ठ नागरिकहरू हाम्रा जिउँदा पुस्तक हुन्।

उनीहरूलाई जति पढ्न सकियो त्यति नै आफ्नो जीवनमा सफलता प्राप्त गर्न सकिन्छ। तर विडम्बना, आजकल मानिसमा लोभ र लालच फैलिएको छ। धेरैले लोभ, मोह र विलासिताका कारण आफ्ना अभिभावक ज्येष्ठ नागरिहरूलाई माया त के उचित समयसम्म दिन सकेका छैनन्।

कसैले त अपहेलना गरेर जिउँदो लास बनाई आफ्नै घरमा राखेको अवस्था छ भने कतिले त्योसम्म पनि नगरेर विभिन्न आश्रमहरूमा छोड्ने गरेको पाइएको छ। आफ्नो इच्छा र प्रचलिन कानुनविपरीत हाम्रा ज्येष्ठ नागरिकहरू सडकमा बेवारिसे अवस्थामा तथा वृद्धाश्रमहरूमा रूँदै बसेको पाइन्छ।

ज्येष्ठ नागरिकहरू खाना, नाना र छानाको भोको होइन, प्रेम, सम्मान र मायाका भोका हुन्छन्। हामी सबै एकदिन ज्येष्ठ नागरिकको अवस्थामा अनिवार्य पुग्नुपर्ने प्राकृतिक नियम भएकोले आफूलाई आफ्नो परिवारमा असल सदस्यका रूपमा स्थापित गर्न सके र ज्येष्ठ नागरिकहरूलाई सम्मान दिन सके आफ्नो जीवनको उत्तरार्धमा सहस्र धारा आँसु बगाएर काल पर्खिनुपर्ने दिन पक्कै आउँदैन।

सामान्यतया पाको मान्छेलाई सम्मान गर्नुपर्दछ भन्ने नेपाली संस्कारअनुसार आफूभन्दा जेठो वा पाको मान्छेलाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ। नेपालको कानुनमा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा २ मा उल्लेख गरिएअनुसार ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भन्नुपर्दछ।

तसर्थ, हाम्रो घरपरिवारमा रहेका ६० वर्ष उमेर पूरा गरेका अग्रजहरूलाई ज्येष्ठ नागरिक भनी सम्झनुपर्छ। २०६८ सालको जनगणता तथा नेपालीको सरदर आयुमा आएको परिवर्तनअनुसार नेपालको जनसंख्याको करिब ११ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिक भएको अनुमान गरिएको छ।

ज्येष्ठ नागरिकहरू परिवारमा उचित सम्मान पाउन नसकेका उदाहरणहरू त धेरै पाइन्छ। जब घरपारिवारका सदस्यहरू आफ्ना आमाबाबुप्रति वा ज्येष्ठप्रति संवेदनशील हुँदैनन् र उचित सम्मानजनक व्यवहार गर्दैनन्, तब राज्यले आफ्नो दायित्व सम्झेर उचित भरणपोषण र सम्मान नगर्ने परिवारका सदस्यहरूलाई कानुनी दायरामा ल्याउनुका साथै त्यस्ता ज्येष्ठ नागरिकहरूको व्यवस्थापन गर्नुपर्दछ।

ज्येष्ठ नागरिकहरूलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्नुका साथै निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रति श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्न र राज्यद्वारा तोकिएको सेवा एवम् सुविधाको उचित व्यवस्थापन गर्न राज्य संवेदनशील हुनु नै पर्दछ। यससम्बन्धमा राज्यद्वारा केही प्रयास नभएका होइनन् तर पर्याप्त भएनन् कि वा प्रयासहरू कागजी मात्र भए कि ?

ज्येष्ठ नागरिकहरू पूजनीय नागरिक हुन्, जिउँदा किताबहरू हुन्। उनीहरूको योग्यता तथा अनुभवलाई अंगीकार गर्न सके जीवनमा दुःख पाउन पर्दैन। घरपरिवार, समाज र समग्रमा देश विकासमा समेत सहयोग मिल्न जान्छ।

ज्येष्ठ नागरिकहरू त देवतासमान अधिकारका हकदार छन् तर धेरैजसो ज्येष्ठ नागरिकहरूले अन्य अधिकारको त के कुरा न्यूनतम मानवअधिकारसमेतको उपभोग गर्न नपाएको हाम्रासामु छर्लंग नै छ। त्यसैले परिवारका सबै सदस्य उनीहरूप्रति सचेत हुनु अत्यन्तै जरुरी छ।

ज्येष्ठ नागरिकहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुन्छ। तसर्थ सबैले सम्मान गर्नुपर्दछ। राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा पाउने अधिकार हुन्छ। राज्यका तर्फबाट समय–समयमा सोको जानकारी दिनुपर्दछ।

परिवारजनबाट पालनपोषण र हेरचाह प्राप्त गर्ने अधिकार हुन्छ, तसर्थ उचित पालनपोषण र हेरचाह गर्नुपर्दछ। ज्येष्ठ नागरिकप्रति अमर्यादित तथा अमानवीय व्यवहार भए/गरेमा स्थानीय तहमा, नेपाल प्रहरीमा उजुरी दिन सक्ने अधिकार हुन्छ। तसर्थ, उजुरी दिने सहज वातावरण सिर्जना गर्ने र उजुरीउपर यथाशीघ्र उचित सुनुवाइ हुनुपर्दछ।

अंशवण्डा गरिरहन नपर्ने र आफ्नो अंशभागको सम्पत्ति आफूखुशी गर्न सक्ने अधिकार हुने हुँदा कानुनी अधिकारको संरक्षण गरिदिनुपर्छ। यस्तै विशेष योग्यता तथा अनुभवको कुनै सेवा गरेमा पारिश्रमिक पाउने अधिकार हुन्छ। त्यति मात्र नभई ज्येष्ठ नागरिकलाई माग्न लगाउन पाइँदैन।

उनीहरूलाई इच्छा विपरीत संन्यासी, भिक्षु, फकिर नबन्ने अधिकार हुन्छ। तसर्थ, इच्छाविपरीत वा बाध्य पारेर माग्न लगाउनु, वृद्धाश्रम तथा धर्मशालाहरूमा पठाउनु गैरकानुनी कार्य हो।

यसका साथै तोकिएका सार्वजनिक सवारीसाधनमा २ वटा आरक्षित सिट र ५० प्रतिशत भाडा छुट पाउने अधिकार हुन्छ। सके सार्वजनिक सवारीका अन्य सिटमा बस्न दिएर सहयोग गर्नुपर्दछ, नभए पनि आरक्षित सिट ज्येष्ठ नागरिकलाई नै उपलब्ध गराउनुपर्दछ।

सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवासुविधा प्राप्त गर्ने अधिकार हुन्छ। तोकिएको स्थानमा हुने स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने अधिकार हुन्छ।

यस्तै मुद्दा मामिलामा प्राथमिकता पाउने र आवश्यक परेमा निःशुल्क कानुन व्यवसायी प्राप्त गर्ने अधिकार हुन्छ। साथै ज्येष्ठ नागरिकहरूलाई कामकारबाहीमा प्राथमिकता पाउने अधिकार हुन्छ, तसर्थ ज्येष्ठ नागरिकसँग सम्बन्धित काम सम्बन्धित निकायले प्राथमिकता दिई गरिदिनुपर्छ।

ज्येष्ठ नागरिकहरूको जीवन मर्यादित बनोस्, आफ्ना बाल्यकाल तथा यौवनकालमा भए, गरेका सही कार्यहरूको उचित सम्मान होस्, परिवारजनहरूले आफूलाई समय दिऊन, आफ्ना कुरा सुनिदिऊन्, समस्याहरू भए समयमै फुकाइदिऊन्, कम्तीमा पनि परिवारमा एकआपसमा बोलचाल होस्, सुख–दुःखको सोधनी होस्, परिवार अनुशासित र मर्यादित होस् भन्ने चाहना आम ज्येष्ठ नागरिकहरूको हुन्छ।

यसैलाई मध्यनजर गरी नेपालको संविधानमै ज्येष्ठ नागरिकको हकलाई मौलिक हकका रूपमा स्थापित गरी ऐन, नियमावली तथा कार्यविधि तयार गरी ज्येष्ठ नागरिकमुखी वातावरण सिर्जना गर्न खोजेको त देखिन्छ, तैपनि प्रयासहरूले सार्थकता नपाउँदा ज्येष्ठ नागरिकहरू अपहेलित जीवन जिउन बाध्य रहेका छन्।

संयुक्त परिवारबाट एकल परिवारमा बस्न रूचाउनेहरूको बढ्दो संख्या, बढ्दो शहरीकरण र शहरोन्मुख मानसिकता, अवसरको खोजीमा विदेश पलायन हुनेहरूको वृद्धि, सामाजिक सञ्जालहरूमा एक्लै रमाउने परिवारका सदस्यहरू र परिवार तथा समाजमा सामान्य नैतिक शिक्षाको समेत कमीले गर्दा कतिपय ज्येष्ठ नागरिकहरू जिउँदो लाससरि जिउन बाध्य छन् भने अन्यलाई पनि त्यस्तै भयले सताइरहेको छ।

ज्येष्ठ नागरिकहरूलाई प्रचलित कानुनले दिएका अधिकारहरूको रक्षा गर्न राज्य सरकार जुनसुकै मूल्य चुकाउन पनि पछि पर्नुहुँदैन भने आमयुवा तथा वयष्कहरूले म पनि एकदिन अवश्यै ज्येष्ठ नागरिक बन्छु भन्ने मानसिकता राखी आफ्ना ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न सके त्यसको सिको अहिलेका बालबालिकाहरूले गर्नेछन् र केही समयको अन्तरालमा नेपालमा ज्येष्ठ नागरिकहरूको आजको दयनीय अवस्था देख्नुपर्ने छैन। तसर्थ, ‘पितृदेवो भव, मातृदेवो भव’ सदा स्मरण गर्दै व्यवहारमा उतारौँ।

– रामभक्त रेग्मी, भीरकोट नगरपालिका, स्याङ्जा।

प्रतिक्रिया दिनुहोस्