भोटेकोशीको तीरबाट



-दीपक खनाल

जिउनुछ आफ्नै पौरखले कसैसित झुक्नु छैन
बग्नुछ तिमीझैं सलल कत्ति पनि रुक्नु छैन
बन्नु छ तिमी जस्तै सजीव, मूर्दा बनी लुक्नु छैन
बढ्नु छ अघि–अघि ‘चम्चे’ भै भुक्नु छैन।

विशाल छ छाती तिम्रो जत्रै, उदारेर हेर
सङ्लो छ दिल तिमी जस्तै, पखालेर हेर
गहिराइ छ प्रेमको तिम्रो जत्तिकै, खोतलेर हेर
गतिशील छ गति तिमी जस्तै बगाएर हेर।

 

फाल्यौं बाहिरी फोहोर त, क्लेषै भित्रको गएन
बदली भन्यौं अरूलाई त, आफ्नै दिमाग बदलिएन
फेरियो व्यवस्था पटक–पटक कु–संस्कार गएन
गयो राजतन्त्र त, आफैंभित्रको शाहीतन्त्र गएन !

 

सिन्को नउठाउने, दोष मात्रै थोपर्ने भयौं
पुँजी नबढाउने भएकै चिथोर्ने–कोपर्ने भयौं
अल्छी सुतुवा मदहोस कामचोर भयौं
दलाल, फटाहा, तस्कर, नाफाखोर भयौं।

 

हरायो कर्म, श्रम, ‘सरमजीवी’ भयौं
गफै गफमा चिउरा भिजाउने भयौं
टोक्ने उडुसै भयौं, साह्रै नै खुनी भयौं
भ्रष्टाचारी, लुटेरा, विलासी, बैगुनी भयौं।

 

समानता, एकता, ममता भट्याउने नारा भयो
सामूहिकता, सहकारिता, मानवता, खै कता गयो ?
रोप्दैनौं साग–धनिया, सियोसमेत पराइकै भर
जपेर मात्रै हरिनाम डोकोमा दूध अड्छ र ?

भयो ध्वंश बारम्बार निर्माण भएन
फेरियो सरकार निरन्तर, प्रथै फेरिएन
आए पात्र नयाँ नयाँ फेरिएन प्रवृत्ति
ठूलालाई चैन सानालाई ऐन, सधैं उही रीति।

करेन्ट नदिने पानीको के नै मूल्य छ र ?
बीजबिनाको वीर्यवान लाखौं भएनि अर्थ छ र ?
नागरिक थोरै–थोरै, राजा धेरै–धेरै भयौं
नगर्ने मेहनत, परिश्रम मागेरै खाने भयौं

 

आएन पूर्णिमा झुप्रा–झुपडीमा आए पनि जुनै तन्त्र
ठूलाठालुकै ‘निजी कम्पनी’ भो संघीय गणतन्त्र
तर,
ख्याल राखे रगतका ‘भोटेकोशी’हरू पिसाब हैनन्
बगाउनेछन् कर्णाली, कोशी, गण्डकी एक भै, हिसाब छोड्ने छैनन्।

तैपनि
आशावादी हुँ आशा गर्दछु निराश त छँदै छैन
ठेस लाग्दा ईश्वर पुकार्ने ढोंगी पनि म हैन
बलियो जग हो अर्थतन्त्रको, गाउँ–गाउँ बढाऔं पर्यटन
देशै समृद्ध भए पो सुन्दर बन्छ, सबै मानिसको जीवन।

प्रतिक्रिया दिनुहोस्