बाबुको मुख



-टीका खनाल

बाबु हुन् घरका धरोहर ठूला उनको ठूलो काम छ
सन्तानैहरूमा समाजतिर झन् उनको ठूलो नाम छ
खाना खाई–नखाई रात–दिन ती सन्तानकै खातिर
कस्तो हुन्छ कसोरी बढ्छ अब यो उसकै पीडा आखिर

खुसी हुन्छन् ती कसोरी भनी लौ दौडिरहन्छन् कति
खुसी पार्न भनी ती बाबु सबथोक बाँड्छन् भएको जति
गर्छन् सन्ततीकै निमित्त सब काम योद्धा बनेरै तिनी
लड्नै पर्छ भने पनि अघिसरी लड्छन् लडाकु बनी

बाबु सागर हुन् अनन्त गहिरा पानी छ त्यस्मा कति
नाप्ने यन्त्र कहाँ छ नापौं कसरी माया छ तिनमा कति
देख्दैनन् सबले नियाल्न पनि त सामथ्र्य कसको हुने
छाती त्यो तिनको क्षितिज सरिको चारैदिशा फैलिने

पिता जीवनका विशाल मनका कर्तव्यको ली छडी
बाबुको मुख घाम हो शिशिरको तापिरहूँ हर घडी
बाबु हुन् सब थोकका भरी घडा कुबेर जस्तै धनी
जसले चिन्न सकेन चित्त उनको चुर्लुम्म डुब्यो जुनी

प्रतिक्रिया दिनुहोस्