साहित्यकारको गुरु नै हुँदैन ?



लक्ष्मण राजवंशी
साहित्यकार तथा शिक्षाविद्

राजधानीको मुटु मानिने व्यस्त व्यापारिक ठाउँ वटुमा जन्मनुभएका साहित्यकार, शिक्षाविद् तथा राजनीतिज्ञको नाम हो लक्ष्मण राजवंशी। २००९ सालमा जेलबाट एसएलसी परीक्षा दिनुभएका उहाँ सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ। राणाकालको शिक्षा तथा राजनीति र ३१ वटा साहित्यिक कृतिका धनी साहित्यकार राजवंशीसँग विविध विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेप ः

अहिलेसम्म कतिवटा पुस्तक प्रकाशन गरिसक्नुभयो ?

आजका मितिसम्म मेरा जम्माजम्मी ३१ वटा पुस्तक प्रकाशित भइसकेका छन्। त्यसमा १६ वटाचाहिँ नेपाल भाषाका छन्। नेपालीमा ८ वटा र अङ्ग्रेजीमा ६ वटा गरी जम्मा ३१ वटा निस्केका छन्।

भाषिक दृष्टिकोणले यहाँलाई कुन भाषाको साहित्यकार भनी चिन्न सकिन्छ ?

मेरो खास यही भाषाको साहित्यकार हुँ भन्ने त छैन। मैले सबैभन्दा पहिले नेपाली भाषाको कथासंग्रह ‘तिम्रो कपाल मेरो निधार’बाट नै शुरू गरेको थिएँ। पछि कवि सिद्धिचरण श्रेष्ठको समिपमा पुगेको थिएँ। म उहाँलाई काजी दाइ भन्थें। उहाँले मलाई लक्ष्मण भाइ भन्नुहुन्थ्यो।

घर पनि टाढा थिएन केवल बीचमा नयाँ एउटा सडक मात्र थियो। उहाँको छोरी मधुकर हाम्रो छिमेकी बुहारी पर्ने थिइन्। नजिकको सम्बन्ध थियो। आफ्नो कथा कविजीलाई सुनाउने भनेर म एक दिन उहाँको निवासमा गएँ। दाइलाई एउटा कथासङ्ग्रह तयार पारेको छु, सुनाऊँ कि भनेर आएको भनें। उहाँले सुनाउने अनुमति दिनुभयो।

दशवटै कथा सुनाएँ पनि। निकैबेर घोरिनुभयो, तमाखु पिइरहनुभएका उहाँ धूवाँ नआए पनि तान्दै हुनुहुन्थ्यो र भन्नुभयो– ‘तपाईंको कथामा नेवारीपन छ।’ नेपालीमा लेखेको भए पनि वाक्य विन्यास, विषयवस्तु, वातावरण, परिवेश सबै नेवारीमा भएछ।

उहाँले पुनः संशोधन गर्न भन्नुभयो तर अल्छी लाग्यो मैले गरिनँ। उहाँसित दाइ त्यो नेवारीपन पनि भनेको के हो सोध्न सकिनँ। मेरो मनमा त्यो ‘नेवारीपन’ भन्ने शब्द गडी नै रह्यो। जस्ताको तस्तै छापिदिएँ। मेरो एउटा बानी नै छ– लेखेपछि काटछाँट नगर्ने, जस्तो लेख्यो त्यस्तै छाप्ने।

राम्रो पार्नका लागि काटछाँट गर्नुपर्ने, पुनरलेखन गर्नुपर्ने त लेखकको धर्म नै हो, तर यहाँले आफ्नो धर्म पनि निवारण गर्नुभएन नि ?

हो, राम्रो पार्नका लागि पुनरलेखन तथा संशोधन गर्नुपर्छ। तर, लेखकले यो कुरा त पहिले नै सोच्नुपर्ने हो।

म त एकपटक लेखिसकेपछि कुनै पनि संशोधन गर्दिनँ।

यहाँ लेखकको धर्मभन्दा पनि लेखकले लेख्नुपहिले शुरू गर्दाको आवेग विचार र उद्देश्य अन्त्यसम्म एकैनाशको हुन्छ ? त्यो कृति कुन समयको मान्ने ?

यहाँको नेपाल भाषाको लेखन यात्रा कसरी शुरू भयो ?

लेखें नेपालीमा, हुन गयो नेवारीपन। नेपालीमा लेख्दा नेवारीमा ढल्किन्छ भने नेवारीमा नै लेख्यो भने अवश्य पनि उत्कृष्ट हुन सक्छ कि भन्ने आत्मविश्वास बढ्यो र नेपाल भाषातिर हात हालें। १० वटा कृति लेखिसकेपछि अब लेख्दिनँ, अब सौता हाल्दिनँ भनेर मैले लेख्न छोडेको पनि थिएँ।

 

पछि समालोचक प्रा. प्रेम शान्तिले १२ वटा पुर्याएपछि छोड्नुहोला अहिले लेख्नुहोस् भन्नुभयो र १२ वटा पुर्याएँ, कथा विधामा बिट मारें। प्रोफेसर माणिकलाल श्रेष्ठले कथा विधालाई अगाडि नबढाउने हो भने तपाईंसँग समीक्षक बन्ने गुण पनि छ, समालोचनातिर लाग्नुहोस् तर लेख्नचाहिँ नछोड्नुहोस् भन्नुभयो।

नेपाल भाषामा निबन्ध छैनन्। तपाईं यतातिर लाग्नुहोस् भनेर फणीन्द्ररत्न वज्राचार्यलगायतले घचघच्याउनुभयो। लेख्ने अभ्यास पनि थिएन। चुनौतीका बाबजुद तीन महिनामा एउटा निबन्ध सङ्ग्रह तयार पारेर उहाँहरूको हातमा राखिदिएँ।

यसरी नै मैले चारवटा निबन्ध सङ्ग्रह तयार पारेर दिएँ। तर, मलाई कता–कता यसरी नेपाल भाषामा मात्रै लेख्ने हो भने एकपक्षीय भएर जान्छु भन्ने चिन्ताले सतायो।

नेपाली साहित्यकारहरू म चिन्दिनँ, मलाई उहाँहरूले चिन्ने कुरा पनि आएन। गुमनाम नै हुन्छु कि भन्ने डरले पुनः नेपाली भाषामा लेख्न थालें। मेरा चारवटा निबन्ध सङ्ग्रहमा नेपालका गनिएकै साहित्यकारले भूमिका लेख्नुभएको छ।


‘तिम्रो कपाल मेरो निधार’ मा बढी यौनिकता झल्किन्छ, किन। फ्रायडबाट प्रभावित हुनुभएको हो ?

मैले नेपाली र अङ्ग्रेजीमा बीए पास भइसक्दा पनि पाठ्यपुस्तकबाहेक अरू कुनै साहित्यिक कृति पढेकै छैन। त्यो बेला हिन्दीको उपन्यासहरू खुब आउँथे। त्यो पनि यौनसम्बन्धी पाठकलाई लोभ्याउने तर विद्यार्थीलाई चरित्र खलबल्याउने खालको।

खामबन्दी गरेका यौन उत्तेजना हुने खालका पुस्तक बेचिन्थे। पैसा तिरेर खोल्यो, नबिराइकन रातभरि पढ्थें। ती उपन्यासमा ठोस सन्देशभन्दा पनि यौनिकता बढी थियो। यौन उत्तेजना जगाउने, छाडापन ल्याउने खालका मात्र थिए।

म किशोरावस्थामा पाएसम्म दिनमा दुईटासम्म हिन्दी सिनेमा हेर्ने भएकाले ममा हिन्दी भाषाको स्वाद बसिसकेको थियो। म जेल पर्दा मलाई भेट्न आउने एक जना मित्रले शरदचन्द्र चट्टोपाध्याको उपन्यासका सेरिज नै ल्याएर दिनुभयो। सबै अध्ययन गर्दै गएँ।

यिनीहरूको उपन्यासले मात्र होइन भाषाले मलाई प्रभावित पार्यो। यसले पनि मलाई सहयोग गर्यो।

 

यहाँका कृतिमध्ये उत्कृष्ट कृति कुन होला ?

होइन म यो प्रश्नको उत्तर दिन सक्दिनँ। हुन त सबै लेखकलाई यस्तै हुन्छ होला। आफ्ना सन्तान सबै नै प्यारा लाग्छन्, राम्रा हुन्छन्।

एउटा कुराचाहिँ के भने अरू माया म जान्दिनँ तर नेपाली र नेपाल भाषाका साहित्यमा सडक बालबालिका, समलिंगी, टेस्टट्युब बेबी, सरोकेसी, लिभिङ टुगेदर, बालमनोविज्ञान, दलित, मुसलमान, राउटे, चेपाङ आदिका समस्या र मनोविज्ञान आदिका विषयमा कलम धेरै चलेको छ जस्तो मलाई लाग्दैन।

एउटा/दुईटा कसैले लेखेको भए मात्र मैले त पढ्न पाएको छैन।

 

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

खासै त्यस्तो केही छैन। मैले नेपाली, अङ्ग्रेजी तथा नेवारीमा त लेखी नै सकें। अब अन्य एउटा विदेशी भाषामा पनि आफ्नो कृति अनुवाद होऊन् भन्ने चाहना छ।

चाहे त्यो रसियन, चाइनिज, फ्रेन्च वा जर्मन जेसुकै होस्। नेपाली साहित्य विश्व बजारमा जानुपर्छ, लैजानुपर्छ भन्ने मेरो मान्यता हो।

त्यसैले मैले मेरो कृति यी चारमध्ये कुनै एउटा भाषामा आओस् भनेर अनुवाद गर्नलाई अनुवादक खोज्दै दिएको छु।

 

अहिलेसम्म नेपाली साहित्यकारमध्ये कसको कुनचाहिँ कृतिबाट बढी प्रभावित हुनुभएको छ ?

हुन त म कुनै न कुनैको कृतिबाट प्रभावित भएको छु होला। यसैबाट भन्नेचाहिँ थाहा छैन। बीपीको दोषी चस्मा, कर्नेलको घोडा आदि राम्रा छन्। यी कृतिबाट म प्रभावित भएको भने होइन। अध्ययनचाहिँ गरेको छु।

शंकर लामिछानेका निबन्ध पनि पढेको छु। उहाँको प्रस्तुति कला शब्द चयन अनुपम छ, बेजोडको छ। मलाई राम्रो लाग्छ। लक्ष्मीप्रसाद देवकोटाको भाषा ज्यादै नै क्लिस्ट छ। कसैबाट प्रभावित हुने व्यक्तिको आफ्नो मौलिकता हराउँछ। लेख्दै सिक्दै, लेख्दै सिक्दै जाने हो।

साहित्यकारको आफ्नो पहिचान हुनुपर्छ, फोटोकपी होइन भन्ने मेरो मान्यता हो। साहित्यकारको गुरु स्वयं नै हुनुहुँदैन, आफ्नै अनुभवबाट सिक्ने हो। यसको मतलब मैले कुनै साहित्यकारमाथि अपमान गरेको होइन।

मैले अहिलेसम्म साहित्यको विषयलाई लिएर कसैलाई गुरु थापेको छैन। अरूका साहित्यले पनि मेरो मुटु छोएको छ।

तपाईं त जेल पनि पर्नुभयो। कसरी जेलबाट परीक्षा दिनुभयो ?

मैले एसएलसी २००९ सालमा जेलबाट नै दिएको हुँ। पढेर पास हुन पाइएला भन्ने विचारले भन्दा पनि परीक्षा दिन बाहिर लैजान्छ र बाहिरी संसार देख्न पाइन्छ भनेर परीक्षा दिएको हुँ। म राजनीतिक बन्दी भएकाले जेलभित्र हामीलाई केही खुकुलो थियो।

कोचाकोच भएको ठाउँमा आफैंले खाना बनाएर खानुपथ्र्यो। यसरी नै दिन बिते। २०१७ सालमा फेरि जेलमा परें। त्यति बेला मेरो ठूलो छोरा भर्खरै जन्मिएको थियो। कसैलाई भेट्न दिँदैनथ्यो।

राजबन्दीहरूलाई कति बेला कहाँ कसरी गोली ठोक्ने हो वा झुन्ड्याउने हो भन्ने पीरचिन्ता हुन्थ्यो। छोराको मुहार हेर्ने इच्छा र यस्तो अवस्थामा श्रीमतीको के हालत भयो होला भन्ने चिन्ताले सतायो।

अनि जेलमै बसेर आफैंले आफूलाई प्रश्न गर्ने, आफैं उत्तर दिने गर्थें। वास्तवमा मेरो साहित्यको उद्गमस्थल भनेको जेल नै हो। त्यसबाट मेरो लेखन शैली तिखारिँदै आयो।

 

प्रतिक्रिया दिनुहोस्