दिवसमा थपिएको विधिशास्त्र



असोज ३, संविधान दिवस। असार १५ को धान दिवसमा नभए पनि संविधान दिवसमा भने सरकारले सार्वजनिक विदा दिँदै आएको छ। विगतका वर्षभन्दा यसपटकको संविधान दिवस विशेष हुने भएको छ। विगतमा दिवस बिर्सिएर घुमफिर, डेटिङ अनि अनेक कामका सेटिङमा गए पनि फरक पर्दैनथ्यो।

मिसन पुरा भएपछि मात्रै मोबाइल अन गर्दा फरक पर्दैनथ्यो। तर यसपटक सरकारले कडै उर्दी जारी गर्ने भएको छ, दिवस सबैले अनिवार्य मनाउनुपर्ने भएको छ। दिवस मूल समारोह समितिको प्रचारप्रसार उपसिमितिले बुधबार गरेको छलफलमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटा बोले– ‘त्यो दिन तास खेल्नका निम्ति, पिक्निक जान, वियर खान, गलफ्रेन्डसँग घुम्न, ब्वाइफ्रेन्डलाई भेट्नका लागि होइन।’

राष्ट्रसेवक कर्मचारी, सरकारी संघसंस्था, निजी क्षेत्रलगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनको जोडबल छ। दिवसभन्दा आधा महिनाअघिको कास्टिङ नै यस्तो छ भनेसी दिवस नजिककको बास्कोटाको उर्दी झ्न कस्तो होला ? यस्तो उर्दीले घरवालीलाई वाल हानेर वाहरवालीलाई भेट्न मरिहत्ते गर्ने अनि अधवैंशे उमेरमा पनि ब्वाइफ्रेन्ड जोड्न नछोड्नेलाई सोझे प्रभाव पर्नेछ।

राष्ट्रिय दिवसका दिन साँझ दिपावली गर्ने चलन पनि छ। त्यस दिन बिहान सबेरै नुहाइधुवाइ गरी ब्रत बस्ने अनि राजनीतिक पण्डितलाई घरमा बोलाएर पूजापाठ पनि गर्नुपर्ने हो कि ? अन्य धार्मिकग्रन्थसरह संविधान पनि कण्ठस्त पार्नुपर्ने पनि हो कि, यस्तो उर्दी पनि छ भने खबर पाऊँहै पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्