सरकार ! रोजगारीको ग्यारेन्टी गर



मुलुकमा बेरोजागीको दर बढेपछि सरकारले मुलुकमै रोजगारीको ग्यारेन्टी गर्न विभिन्न उद्योग व्यवसाय खोल्नुपर्नेमा बेरोजगार युवालाई विदेश पठाउने वातावरण सिर्जना गर्नेतर्फ सरकार उन्मुख हुनु राम्रो होइन। मुलुकमा कलकारखाना खोल्न लाग्नुपर्ने सरकार युवाहरूलाई विदेश पठाउन सम्झौता गर्नु लज्जाको विषय हो।

लाखौं युवा बेरोजगार भएर कामको खोजीमा रहनु र सरकार कुनै पनि स्वरोजगार कार्यक्रम सार्वजनिक गर्न असफल हुँदै जानु पक्कै राम्रो होइन। दुई विशाल मुलुकको बीचमा रहेको र विश्वमा नै गरिब राष्ट्रको उपमा पाएको देशलाई यो उपमाबाट मुक्त बनाउन सरकार लाग्नुपर्दछ।

आर्थिक समृद्धिको कुरा गरेर नथाक्ने अहिलेको सरकारको काम कारबाही हेर्ने हो भने दयाको अवस्था रहेको छ। प्रधानमन्त्री केपी ओलीको आर्थिक समृद्धिको नारा बोलीमा मात्रै सीमित हुनुले पनि बेरोजगारको संख्या बढ्दो क्रममा रहेको छ।

मुलुकलाई चाहिने युवाशक्ति बाहिर पठाएर हामीले कस्तो राष्ट्र निर्माण गर्न खोजिरहेका छौं ? यसमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बेला आएको छ। दुई तिहाइको सरकारले समेत काम गर्न नसक्नु र रोजगारीका लागि उद्योग कलकारखाना स्थापनाका साथै विदेशी लगानीलाई नेपाल ल्याउन पहल गर्न नसक्नु मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य हो।

त्यसैले सरकारले रोजगारी दिलाउने कुरा नारामा मात्र सीमित राख्नुहुँदैन। चुनावी घोषणपत्रमा यस्ता विकासका कुराहरू थुप्रै समेटिएका त छन् तर व्यवहारमा भने लागू हुन अझै कति समय पर्खिनुपर्ने हो ?

– विष्णु महर्जन, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्