लक्ष्यभन्दा अगाडि नै बन्दै पोखरा विमानस्थल: आशालाग्दो परिणाम



मधुसूदन रायमाझी, पोखरा।  राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसकिरहेका बेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भने नयाँ आशा देखाएको छ। देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माणाधीन पोखरा विमानस्थल निर्धारित समयसीमाभन्दा ६ महिना अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ

। रात–दिन नभनी लक्ष्यभन्दा अगाडि नै सम्पन्न गर्ने गरी अहिले धमाधम काम भइरहेको छ। राष्ट्रिय गौरवका आयोजना समयसीमाभन्दा अगावै सम्पन्न हुने सम्भवतः पोखरा विमानस्थल पहिलो आयोजना हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थल निर्धातिर समयभन्दा अगाडि नै सम्पन्न हुने भएको छ। राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण भइरहेको विमानस्थल निर्माणको काम निर्धारित समयभन्दा ६ महिना घि नै सम्पन्न हुने भएको हो।

विमानस्थलको रनवेको काम सम्पन्न भएको। जहाँ आपत्कालीनरूपमा विमान अवतरण गर्न सकिनेछ। सन् २०२१ को जुलाई १० मा सम्पन्न गर्ने उद्देश्यका साथ शुरूआत गरिएको विमानस्थल रनवेको काम सम्पन्न भएर फिनिसिङको काम भइरहेको छ।

३७ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन सरकारको गौरवका आयोजनामध्येको एक हो।चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको आयोजनाको चिनियाँ सरकारको नै सहुलियत ऋणमा विमानस्थल बन्न लागेको हो।

२२ अर्बको रुपियाँ लागतमा निर्माण गर्न लागिएको आयोजनाको पेरिफेरीका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ। ईपीसी मोडेलमा निर्माण भइरहेको विमानस्थल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ।

निर्माणाधीन विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटरको रहेको छ भने ६० मिटरको चौडाइ रहेको छ। धावनमार्गमा ३४ सेन्टिमिटरको ढलान गरिएको छ। धावनमार्ग निर्माण गर्ने काम सम्पन्न भएको छ। आपत्कालीन अवतरणका लागि धावनमार्ग तयार भइसकेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को नियमअनुसार फोरडी मोडलमा निर्माण भएपछि विमानस्थलमा बोइङ र एयरबसले उडान भर्नेछन्। हाल विमानस्थलमा पार्किङ टर्मिनल भवन, सबवे ट्रयाक्सीवेको काम भइरहेको छ।

 

प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयबाट आउने गर्छन्। उनीहरू मन्त्रालयप्रति नै बढी जवाफदेही बन्छन्। स्थानीय तहप्रति नै जवाफदेही हुने गरी कर्मचारी संयन्त्र बनाउनुपर्दछ।

चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्ट २०१७ बाट यो विमानस्थल निर्माण शुरू गरेको थियो। सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माणकार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता रहेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ।

यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो। यसअघि बिटुमिन हालेर नेपालका धावनमार्गहरू निर्माण हुँदै आएको थियो। यो धावनमार्गमा एटीआर–७२, एयरबस–३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सक्ने गरी निर्माण गरिएको छ।

टर्मिनल बिल्डिङबाहेकका फायर बिल्डिङ, ह्याङ्गर, प्रशासन भवनलगायत १५ वटा भवन निर्माणाधीन अवस्थामा छन्। चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपियाँ ऋणमा विमानस्थल बन्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन विकासमा टेवा पुग्नेछ। आयोजनाको निर्माण शुरू भएको डेढ वर्षमै निर्माणको मुख्य कामका रूपमा रहेको रनवे पूरा भएको हो।

विमानस्थलको रनवे नेपालकै नयाँ र नमुनारूपमा निर्माण गरिएको छ। अन्य विमानस्थलमा पिच गर्ने प्रचलन भए पनि पोखरा विमानस्थलमा भने ढलान गरिएको छ। यो रनवेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ। निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्तसमेत सम्झौतमा उल्लेख गरिएको छ।

सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। आयोजनाले भने सन् २०२० को डिसेम्बरभित्रै पोखरा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ।

विमानस्थल निर्माण गर्नका लागि सरकारले ३०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। उक्त जग्गाले नपुगेपछि आयोजनाले ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरेको थियो। अघिग्रहण गरेको जग्गाको अधिकांश मुअब्जा वितरण भइसकेको आयोजनाले बताएको छ।

राष्ट्रिय गौरवको २३ वटा आयोजनामध्ये पोखरा विमानस्थलको डिजाइन पुनरावलोकन र सुपरभिजनको काम पनि पहिलोपटक नेपाली परामर्शदाता कम्पनी ईआरएमसीको नेतृत्वमा हो। ईआरएमसी÷ए–नट÷स्लेट जेभीले अहिले विमानस्थलको सुपरभिजको काम गरिरहेको छ।

विमानस्थलको सुपरभिजनका लागि हाल नेपाली र विदेशी गरी ४४ जना इन्जिनियरले काम गर्दै आएका छन्। ईआरएमसीका प्रबन्ध निर्देशक उद्धवराज चौलागार्इंले पोखरा विमानस्थल नयाँ मोडलमा निर्माण भएकाले निजगढ विमानस्थलमा पनि यो प्रयोग गर्न सकिने बताउनुभयो।

उहाँले कन्सल्यान्ट, कन्ट्याक्टर र सरकारी तीनवटै निकायको समन्वयमा नै लक्ष्यअनुसारको हुन सकेको बताउनुभयो। उहाँले लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न हुने गरी काम भइरहेको बताउनुभयो। ईआरएमसी/ए–नट/स्लेट जेभीका आयोजना व्यवस्थापक कमल कार्कीले विमानस्थल ६ महिनाअगाडि नै सम्पन्न गर्नका लागि रातदिन नभनी काम गरिरहेको बताउनुभयो।

६ महिनाअघि नै  सम्पन्न गर्न निर्देशन


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि योगेश भट्टराईले पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गर्दै मन्त्री भट्टराईले समयअगावै निर्माण सकेर उदाहरण दिन निर्देशन दिनुभएको छ।

नेपालमा ठूला आयोजनाहरू काम नभएर रोकिरहँदा नेपालमा कामै हुँदैन भन्ने सन्देश गएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताउनुभयो। उहाँले ठूला गौरवका आयोजना नेपालमा पनि समयभन्दा अगाडि नै सम्पन्न हुन्छ भन्ने सन्देश जान लागेको भन्दै खुसी व्यक्त गर्नुभयो।

‘विदेशीले पटक–पटक यस्ता आयोजनामा प्रश्न उठाइराखेका छन्। लगानीकर्ताको उद्देश्य छिटो सकेर छिटो नाफा लिने हुन्छ, यो आयोजना ६ महिनाअगाडि सम्पन्न गर्छौं। यसले सिंगो मुलुकलाई विश्वास दिलाउँछ।’ –मन्त्री भट्टराईले भन्नुभयो।

पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरूलाई डाकेर छलफल गर्नुभयो। विमानस्थल निर्माणका समस्या र चुनौतीका विषयमा बुझेर कसरी समन्वयमा समयभन्दा अगाडि नै निर्माण सक्ने भनेर आफू लागेको मन्त्री भट्टराईले बताउनुभयो।

“लक्ष्यभन्दा अगाडि नै विमानस्थल निर्माण हुन्छ”

विनेश मुनकर्मी
आयोजना प्रमुख,
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ

हामीले गत आर्थिक वर्षमा ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेका थियौं। तर, लक्ष्यभन्दा बढी ४२ प्रतिशत काम सम्पन्न गर्न सफल भयौं। स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीज्यूले यो आयोजनालाई तोकिएको समयभन्दा ६ महिना अगाडि नै सम्पन्न गरौं भन्ने प्रस्ताव गर्नुभएको थियो।

उहाँको योजनालाई कार्यान्वयन गर्नका लागि हामीले त्यही हिसाबले निर्माणको जिम्मेवारी लिएको चाइनिज कम्पनीसँग ६ महिना अगाडि काम सम्पन्न गराउने गरी योजना बनाउने प्रस्ताव अगाडि बढायौं। हाम्रो प्रस्तावमा निर्माण कम्पनी पनि राजी भयो।

सन् २०१९ भित्र ६० प्रतिशत सम्पन्न गराउने, २०२० भित्र बाँकी ४० प्रतिशत काम सम्पन्न गराएर २०२० डिसेम्बरभित्र भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले काम भइरहेको छ। यस आर्थिक वर्षमा हामीले मन्त्रालयसमक्ष करिब ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेका छौं।

हामी लक्ष्यअनुसारको काम गर्न सक्छौं। २०१७ नोभेम्बरबाट काम शुरू भएको हो। काम शुरू भएको २० महिना भयो। यस अवधिमा कटिङ र फिलिङ गर्ने ८५ प्रतिशत काम सम्पन्न भएको छ। अब १५ प्रतिशत कटिङ र फिलिङको काम बाँकी छ। विमानस्थलको रनवे पूर्णरूपमा निर्माण सम्पन्न भएको छ।

टयाक्सीवे सम्पन्न भएको छ। जहाज पार्किङको काम भइरहेको छ। ठूला–साना गरेर आठवटा कल्र्भट थिए ती कल्र्भटको काम सम्पन्न भएको छ। १ सय ५ किलोमिटरको साइट डेन निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ। विमानस्थलभित्र १४ वटा भवन निर्माण हुँदै छ। ह्याङ्गर टर्मिनल भवनसहित।

नौ वटा भवनको आरसीसी ढलान गर्ने काम सम्पन्न भइसकेको छ। ६ वटा भवनमा प्लास्टरको काम मात्र बाँकी छ। यस आर्थिक वर्षको ६/७ महिनाभित्र करिब–करिब सबै भवन निर्माण सम्पन्न गर्ने सोच बनाइरहेका छौं। मुख्य सडकबाट विमानस्थलसम्म आउने सडकको डिजाइन फाइनल भएको छ। त्यो सडक पनि ढलान नै हुन्छ।

केही जग्गा अझै अधिग्रहण गर्नुपर्छ भनेर फाइल मन्त्रालयमा पठाएका छौं। दीर्घकालीन सोचअनुसार यो योजना अगाडि सारिएको हो। तत्कालका लागि १ सय रोपनी र आयल निगमको डिपोका लागि ३० रोपनी जग्गा सन् १०१९ भित्र नै अधिग्रहण गर्नुपर्ने आवश्यकता छ। अन्य जग्गा पछि अधिग्रहण गर्दा पनि हुन्छ।

दीर्घकालीनरूपमा हेलिप्याड पनि विमानस्थल परिसरभित्र नै राख्नुपर्ने हुन्छ। केही ह्याङ्गर चाहिन सक्छ। ट्याक्सीवे दुवैतर्फ भयो भने दुवैतर्फबाट जहाज पठाउन सक्छौं। त्यसका लागि जग्गा बढी चाहिन्छ। अहिले ११ वटा जाहज अट्न सक्छ। तीनवटा इन्टरनेसनल र आठवटा डोमेस्टिक विमान अटाउन सक्छ।

भविष्यमा जहाजको संख्या बढ्न सक्छ। पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ विमानको चाप बढ्न सक्छ। विदेशबाट सीधै फ्लाइट पनि हुन सक्छ। ट्राफिक चाप बढेको अवस्थामा विस्तार गर्ने सकिने अवस्था छ। दीर्घकालीन सोच र योजनाअनुसार नै काम अगाडि बढेको छ।

नयाँ जग्गा अधिग्रहण गर्दा मुअब्जा राम्र्रो होस् भन्ने स्थानीयको चाहना छ। यो विमानस्थल निर्माण गर्नका लागि स्थानीयको ठूलो साथ र सहयोग छ। विमानस्थल निर्माण भएपछि यहाँका स्थानीयबासी निकै खुसी छन्। हामीसँग सम्बन्धित भएर आउने सानातिना समस्या तत्काल नै समाधान गरेका छौं।

विमानस्थल वरिपरि करिब सात किलोमिटर सडक निर्माण हुन्छ। खहरे खोलाको पक्की नहर बनाउने काम हाम्रो आन्तरिक स्रोतबाट भएको छ।स्थानीयबाट अवरोध छैन। स्थानीयको पनि सहयोग छ। सामाजिक निर्माणको काम आएको छ। स्थानीय सरकारबाट पनि सहयोग छ। केही स्थानीयले थाहा नपाएर, कोही रेट नबुझेर मुअब्जा लिन आउनुभएको छैन। अब मुअब्जा लिनुहोस्।

दशैंअगाडि नै ५० प्रतिशत काम सकिन्छ। अधिग्रहणमा पेरिफेरी सडक निर्माण गर्नका लागि ८५ प्रतिशत मुआब्जा वितरण गरिसकेका छौं। अहिले ३० जनाको निवेदन नै आएको छैन। मुअब्जा लिनुपर्ने तर विदेशमा बसेकाहरूलाई पनि कसरी खबर गर्ने भनेर लागेका छौं।

हामीले अनुरोध गरिरहेका छौं। जग्गा प्राप्ति ऐनअन्तर्गत नै काम अगाडि बढाएका छौं। निर्धारित समयभन्दा ६ महिना अगाडि नै सम्पन्न हुने आधार तयार भएको छ। विमानस्थल निर्माणअन्तर्गत हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। यो खुसीको कुरा हो।

प्रतिक्रिया दिनुहोस्