नेकपाका नेतामाथि अंकुश



नेकपाभित्र अहिले एकले अर्कालाई आक्षेप लगाउने क्रम बढ्दो अवस्थामा छ । दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेताहरू जुट्नुको सट्टा एकले अर्कालाई सिध्याउने खेलमा लागेपछि पार्टीको सचिवालय बैठकले अब आइन्दा कुनै पनि नेता तथा कार्यकर्ताले पार्टीका कुनै पनि नेतालाई सार्वजनिकरूपमा टिप्पणी गर्न बन्देज लगाएको छ ।

दुई ठूला पार्टीको एकीकरणपछि पार्टीले जुन गति लिनुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । दुई पार्टी एक भए पनि भावनात्मकरूपमा एक हुन नसक्दा भिन्न पार्टीबाट आएकाहरू एकले अर्कालाई स्वीकार गर्न नसक्नुले अहिलेको अवस्था सिर्जना भएको हो । खास गरी नेकपाभित्र प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीचको द्वन्द्वले जगत् हँसाउने काम गरेको छ ।

पार्टीभित्रका आन्तरिक विवादलाई सार्वजनिक गर्ने क्रम दुई नेतामा बढेपछि सोमबार सम्पन्न सचिवालय बैठकले अब पार्टीका आन्तरिक कुरालाई सार्वजनिक गरे कारबाही गर्ने चेतावनी दिनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना हुनु पक्कै राम्रो संकेत होइन ।

यसले पार्टीलाई मजबुत बनाउनुभन्दा पनि कमजोर बनाउने र एक नेताले अर्का नेताको अस्तित्व स्वीकार गर्न कठिनाइ हुने देखिन्छ । पार्टीभित्रको आन्तरिक विवादलाई सार्वजनिक गर्ने परम्परा पछिल्लो समय कम्युनिस्ट पार्टीहरूमा बढेको देखिन्छ ।

झन्डै दुई तिहाइ बहुमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको नेकपाका नेताहरूले मुलुकको विकास र पार्टीलाई अर्को निर्वाचनमा अझै बलियो बनाउनेतर्फ लाग्नुभन्दा पनि आफूले भनेजस्तो पद नपाएको भन्दै रोइलो गर्ने क्रम बढ्दै गएपछि नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा निराशा बढ्दै गएको छ ।

दुई तिहाइनजिकको सरकार भए पनि मुलुकमा अस्थिरता बढ्दो क्रममा रहेको छ । जनतामा नैरास्यता बढ्दै जानुले सरकारको भविष्यको बारेमा समेत टीकाटिप्पणी शुरू हुनु पक्कै सुखद पक्ष होइन ।

नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर मुलुकको सर्वाङ्गीण विकासका लागि एकजुट नभएसम्म पार्टी कमजोर मात्र होइन, आउने अर्को चुनावमा पार्टीको अवस्था कस्तो हुने हो भन्ने शंका पैदा हुन थालेको छ ।

अनुशासित कार्यकर्ता भएको पार्टीका अनुशासनहीन नेताले कार्यकर्तालाई जनतासामु जान पनि हिचकिचाउनुपर्ने अवस्था उत्पन्न गरादिनुलाई विडम्बना नै मान्नुपर्दछ । कार्यकर्ता अहिले पनि विपक्षीसँग जुधेर पार्टीको साख जोगाउन लागिरहने तर शीर्षनेताहरूले भने आफ्ना मान्छेलाई भनेजस्तो पद दिन नसकेपछि एकले अर्कालाई हिलो छ्याप्ने क्रमलाई बढावा दिन थालेपछि पार्टीको सचिवालय बैठकले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आउनु राम्रो संकेत होइन । यतिखेर पार्टीका शीर्षनेताले व्यक्तिगत स्वार्थ त्याग गर्नुको अर्को विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्